नेपालको राजनीतिक घटनाक्रमलाई लिएर हङकङका नेपालीले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले नेपालमा रहेका आफ्ना परिवारका सदस्यहरुको सुरक्षा र देशको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका हुन्।
धेरैजसोले युवाले गरेको सडक प्रदर्शनलाई लिएर प्रशंसा गरे पनि जीवन जोखिममा पार्ने गरी भएको हिंसात्मक घटनाको विरोध गरे। केहीले भने नेपालमा अप्ठ्यारोमा परेकाका लागि सहयोग गर्ने इच्छा पनि व्यक्त गरेका छन्।
कतिपय प्रदर्शनका क्रममा मृत्यु भएकाका लागि आवश्यक आर्थिक सहयोग जुटाउने तयारीमा समेत रहेका छन्।
‘हामी त अहिले भविष्यलाई लिएर ठूलो चिन्ताग्रस्त र दुविधामा छौँ’, हङकङमा पीएचडी गरिरहेका नेपाली विद्यार्थी सञ्जय राईले भने।
उनले भ्रष्टाचारलाई लिएर युवाहरु आक्रोशित भएको र त्यसबाटै नेपालमा मंगलबार प्रदर्शन चर्किएको उल्लेख गरे।
‘नेपालमा मेरा पनि आफन्तहरु छन् र उनीहरुलाई लिएर चिन्तित छु’, उनले भने, ‘उनीहरु ठीक छन् भन्नका लागि हामी निरन्तर सम्पर्क गरिरहेका छौँ।’
राई १० वर्षको उमेरमा हङकङ आइपुगेका हुन्। उनी यहाँ परिवार र भाइसँगै बस्छन्। उनको परिवारले काठमाडौं बाहिर रहेका आफन्तहरुलाई निरन्तर मेसेज गरिरहेको उनको भनाइ छ। उनीहरुलाई घरभित्रै बसिराख्न भनेको राई बताउँछन्।
नेपालमा सोमबार र मंगलबार प्रदर्शन चर्किएको थियो भने झण्डै दुई दर्जन युवाको प्रहरी दमनबाट मृत्यु भएको थियो। यसमा सयौँ घाइते हुनपुगेका थिए।
प्रदर्शन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाटै राजीनामा दिइसकेका छन्।
सन् २०२१ को जनगणनाअतनुसार हङकङ २९ हजार ७ सय नेपाली बसोबास गर्छन्। जुन हङकङको जातीय अल्पसंख्यक जनसंख्याको ४.८ प्रतिशत हो।
तीमध्येकी एक अरुणा गुरुङले पनि नेपालको अवस्था र परिवारको चिन्ताले सुत्न नसकेको बताइन्।
उनले कतिपय परिवारका सदस्य संसद् भवनकै नजिक बसेको र भवनमा प्रदर्शनकारीले आगो लगाइदिएकोले आफ्नो घरका झ्याल ढोका नै धूवाँबाट बच्न बन्द गर्नुपरेको बताइन्। घरमा बिजुली समेत नभएको उनको भनाइ छ।
‘उनीहरुले दनदनी जलिरहेको भवन देखिरहेका छन्, श्वास फेर्न पनि एकदमै गाह्रो भइरहेको छ’, उनले भनिन्।
गुरुङ याउचि मङ जिल्ला परिषद् सदस्य समेत हुन्। आफ्नो समुदायका धेरै हङकङवासीले नेपालको घटनाक्रमलाई लिएर चिन्ता गरेको उनको भनाइ छ।
‘मानसिक रुपमा हामी पनि प्रभावित भएका छौँ। म एकदमै चिन्तित छु, गएराति त सुत्नै सकिनँ। मलाई के गरौँ, कसो गरौँ भइरहेको छ’, उनले भनिन्।
काठमाडौं र पोखरा जस्ता सुन्दर सहरमा विध्वंस मच्चिएकोमा उनी बेखुस छिन्।
त्यस्तै गुरुङ नै थरकी एक स्नातक अध्ययनरत विद्यार्थीले आफ्ना आफन्तहरु नै प्रदर्शनमा सहभागी भएको थाहा पाएको उल्लेख गरे।
‘नेपालमा भ्रष्टाचारविरोधी भावना बढिरहेको छ। युवा बेरोजगारी दर पनि उच्च छ’, उनले भने, ‘त्यसकारण सधैँजसो युवाहरुमा असन्तुष्टि बढ्ने गरेको छ।’
गुरुङ हङकङमा जन्मिएका हुन्। उनले बेलायत र नेपालमा अध्ययन गरेका छन्। उनका परिवार र ठूली दिदी पनि हङकङमै बस्छन्। एससीएमपीबाट भावानुदित
Shares

प्रतिक्रिया