हङकङ-लन्डन उडानमा एक यात्रुले मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि उडान २ घण्टा ढिलो हुन पुगेको छ।
क्याथे एयरवेजको सीएक्स२५५ उडानमा अनियन्त्रित व्यवहार गर्ने ती यात्रुलाई नियन्त्रणमा लिन एयरवेजका कर्मचारीले प्रहरी नै गुहार्नुपरेको थियो।
एयरवेजले शनिबार जानकारी गराएअनुसार सेप्टेम्बर ४ को राति सवा ११ बजे हङकङबाट लन्डन प्रस्थान तालिका रहेको विमानमा ३८ वर्षीय ब्रिटिस पुरुषले बबाल गरेका हुन्।
'यात्रुको व्यवहार सुरक्षा निर्देशिका विपरीत देखिएपछि क्याप्टेनले उनलाई ओराल्ने निर्णय गरे र विमानस्थलका कर्मचारी र प्रहरीले उनलाई विमानबाट बाहिर निकाले,' क्याथेका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
अन्तत: विमान सेप्टेम्बर ५ मा बिहान १२:४६ बजे प्रस्थान गरी स्थानीय समय अनुसार बिहान ७:३० बजे लन्डनस्थित हिथ्रो विमानस्थलमा सुरक्षित अवतरण गरेको प्रवक्ताले बताएका छन्।
विमान ढिलो भएपछि प्रभावित यात्रुसमक्ष असुविधाका लागि क्याथेले माफी मागेको छ।
उडान ट्र्याकिङ डेटाले देखाएअनुसार विमान शुक्रबार बिहान १.०५ बजे हङकङबाट प्रस्थान गरी स्थानीय समय अनुसार बिहान ७.२७ बजे लन्डनको हिथ्रो विमानस्थलमा पुगेको थियो।
Shares

प्रतिक्रिया