विश्व आदिवासी जनजातिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको छेक पारेर नेपाली आदिवासी जनजाति महासंघ हङकङले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष पुरुष र वर्ष महिला २०२५ बाट क्रमशः हेजेन राई र माया गुरुङ सम्मानित भएका छन्।
आइतबार याउमा तेईस्थित हेनरीजी लेओङ कम्युनिटी सेन्टरमा एक कार्यक्रममार्फत राई र गुरुङ सम्मानित भएका हुन्। सम्मानितद्वयलाई आदिवासी समुदायको भाषा, लिपि, संस्कार, संस्कृति, परम्परा, पहिचान आदि क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको महासंघले बताएको छ।

राई र गुरुङले लामो समयदेखि हङकङलाई कर्मथलो बनाउँदै आएका छन्। हङकङेली नेपाली समाजमा बौद्धिक र शालिन व्यक्तित्वको रूपमा परिचित राईले विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन्। उनले ती संस्थाहरूमा विशेष सल्लाहकारका रूपमा अभिभावकत्वको भूमिका निर्वाह गर्दै आएका छन्। विशिष्ट समाजसेवीको छवि बनाएका राई सफल व्यवसायी पनि हुन्।
वर्ष महिला घोषित भएकी माया गुरुङ हाल बेलायत भ्रमणमा छन्। तमुधि युकेको निमन्त्रणामा उनी विशेष अतिथिको रूपमा बेलायत पुगेकी हुन्।
‘हङकङमा वर्ष महिला घोषित भएर धुमधाम, तपाईँ चाहिँ सम्मान ग्रहण गर्ने बेला युरोपतिर मस्त घुमघाम! सम्मानित भएको कुरा थाहा पाउनु भो होला, कस्तो महसुस भइरहेको छ?’
नेपालखबरको प्रश्नमा गुरुङले भनिन्, ‘अवार्ड त पछि थापे पनि भो। यद्यपि यो अवार्ड मलाई विशेष लागेको छ। मैले यो भन्दा अगाडि पनि धेरै सम्मान पाइसकेको छु तर यो चाहिँ विशेष आफ्नोपन लागेको छ।’
यो सम्मानले थप जिम्मेवारीबोध गराएको उनी बताउँछिन्। माया हङकङकी स्थापित व्यवसायी हुन् भने गुरुङ फिल्म एसोसिएसन (जिफान) हङकङको अध्यक्ष हुन्।

विश्व आदिवासी दिवस अगस्ट ९ मा परे पनि विविध कारणले हङकङमा अगस्ट ३१ मै कार्यक्रम गरिएको थियो। कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा नेपाल सरकारको आदिवासी जनजाति आयोगका सदस्य शरन राई, राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुती’ ले सम्बोधन गरेका थिए।
कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक पहिरन, भेषभूषा, जातीय सांस्कृतिक नाच, साङ्गितिक प्रस्तुति भएका थिए।
कार्यक्रम याउचि मङ जिल्ला पार्षद् अरुणा गुरुङ, हङकङका लागि नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखक, विभिन्न संघसंस्थाका प्रतिनिधि, जातीय संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
आयोजकका अनुसार भोलि मङ्गलबार अपरान्ह ५ बजेबाट सोही स्थानको तेस्रो तलामा आयोगका सदस्य राई र आहुतीको उपस्थितिमा पहिचानबारे अन्तरक्रिया हुनेछ।




Shares

प्रतिक्रिया