हङकङको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार प्रकाशित गरेको एक प्रतिवेदनमा विवाह गर्नेको संख्या घटेको र सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको देखिएको छ।
पछिल्लो प्रतिवेदन ‘हङकङमा महिला र पुरुष’ले अघिल्लो वर्षको तुलनामा २०२४ मा विवाहको संख्या ७.४ प्रतिशतले घटेको र सम्बन्ध विच्छेद, विधवा भएका वा छुट्टिएका व्यक्तिको संख्या ५.२ प्रतिशतले बढेको देखाएको हो।
प्रतिवेदनअनुसार अघिल्लो वर्षभन्दा नवजात शिशुको संख्या भने बढेको छ। तर, १४ वर्षसम्मका बालबालिकाको संख्या भने घटेको छ। जसमा नवजात शिशुको संख्या १०.५ प्रतिशतले बढ्दा १४ वर्ष उमेर समूहसम्मको संख्या ४.७ प्रतिशतले घटेको हो।
पछिल्लो तथ्याङ्क अनुसार, २०२४ को अन्त्यमा हङकङको जनसंख्या ७५ लाख थियो। जसमा ४१ लाख महिला र ३४ लाख पुरुष थिए। विवाहितको संख्या ३९ लाख थियो।
दर्ता भएका विवाहको संख्या २०२३ मा ४७,७२३ थियो भने २०२४ मा ४४,१९६ मा झरेको छ। यो ७.४ प्रतिशतले कम हो।
हङकङ विश्वविद्यालय, जनसंख्या स्वास्थ्यका अध्यक्ष प्राध्यापक प्रोफेसर पल यिपलाई उद्धृत गर्दै यो प्रवृत्ति परिवर्तनशील सामाजिक मान्यता र महत्त्वपूर्ण वित्तीय दबाबले प्रेरित भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
Shares

प्रतिक्रिया