हङकङ : महावाणिज्यदूत लेखक र प्रमुख कार्यकारी लीबीच भेट, लीले गरे नेपालीको प्रशंसा

हङकङ : महावाणिज्यदूत लेखक र प्रमुख कार्यकारी लीबीच भेट, लीले गरे नेपालीको प्रशंसा

नेपालखबर
साउन २१, २०८२ बुधबार १८:२७, हङकङ

हङकङका लागि नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखक र हङकङका प्रमुख कार्यकारी जोन लीबीच आज लीको कार्यालयमा शिष्टाचार भेट भएको छ।

भेटघाट कार्यक्रममा नेपाल–चीनबीचको मित्रता र सहयोगको लामो इतिहास स्मरण गर्दै २०२५ मा दुई राष्ट्रबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउनेबारे कुराकानी भएको दूतावासले जनाएको छ।

हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र हो।

महावाणिज्यदूतावासका अनुसार उक्त भेटमा ट्रान्जिट भिसा, श्रम कूटनीति, नेपाल-हङकङबीचको कनेक्टिभिटी, व्यापार र पर्यटन लगायतका विषयमा छलफल भएको थियो।

वाणिज्यदूत सतीश गुरुङसहित उपस्थित भेटमा गत मेमा नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवासहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको हङकङ भ्रमणबारेमा पनि चर्चा भएको थियो।

छलफलका क्रममा प्रमुख कार्यकारी लीले चीनसँग नेपालको घनिष्ठ व्यावसायिक सम्बन्ध रहेको बताउँदै पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य भएको बताएका थिए।

साथै,  हङकङमा नेपाली समाजको सकारात्मक छविको पनि लीले प्रशंसा गरे।

प्रमुख कार्यकारी लीले महावाणिज्यदूत लेखकलाई हङकङमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। लेखक गएको चैतमा हङकङका लागि महावाणिज्यदूतमा नियुक्त भएका हुन्।

नेपाल सरकारका सहसचिव लेखक परराष्ट्र मन्त्रालयमा कार्यरत थिए। संघीय मामिला मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र भन्सार विभागअन्तर्गत कृष्णनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा काम गरिसकेका लेखक जापानको वासेदा विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सहायता तथा आर्थिक विकासमा विद्यावारिधि हुन्।

महावाणिज्यदूत लेखकसँग विश्व बैँकलगायत अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा सरकारका तर्फबाट प्रतिनिधित्व जनाएको अनुभव छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .