हङकङमा ताइपोस्थित ब्राइड पुल मिरर झरना अन्तरगत हाइकिङ पदमार्गको सरसफाइ गरिएको छ।
हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसन (एचकेनुट्रा) को मासिक हाइकिङ तथा पदमार्ग सरसफाइ अभियानको सिलसिलामा आइतबार लुक केङदेखि ब्राइड्स पुल झरना र मिरर पुल झरनासम्म पदयात्रासँगै सरसफाइ गरिएको हो।
लुक केङ रोड हुँदै शाताउ कक फङ हाङ भिलेजबाट सुरु गरिएको उक्त सरसफाइ तथा पदयात्रा वु काउ ताङ, काउ ताम जो, स्योउङ्हा मिउ तिन, सामा चुङ, लाइ चि वो हुँदै प्लोभर कोभ कन्ट्री पार्कमा अवस्थित ताइमे तुक ब्राइड्स पुल नेचर ट्रेल अन्तर्गत ब्राइड्स पुल झरना र मिरर पुल झरनामा पुगेर अन्त्य भएको थियो।

१० किलोमिटरको यो पदयात्रा तथा सरसफाइ यस पटक पन्ध्रौँ रहेको हाइकिङ संयोजक डोम रानाले जानकारी दिए।
लुककेङ पदमार्ग उत्तरी जिल्लाको स्टार्लिङ इनलेटको दक्षिणमा पर्दछ। लुककेङ क्षेत्र ग्रामीण इलाकामा पर्दछ जसले पदयात्री, साइकलयात्री र प्रकृतिप्रेमीहरूलाई लोभ्याउने गरेको छ।
यो पदमार्गबाट पदयात्रा गर्दा झरना अवलोकन, बाँदरको चहलपहल, चुराचुरुङ्गीको चिरीबिरी जस्ता प्राकृतिक वातावरणमा रमाउन सकिन्छ।
पदमार्गमा फङहाङ गाउँ पनि पर्दछ। हङकङको उत्तरपूर्वी नयाँ क्षेत्रमा अवस्थित यो गाउँ स्टार्लिङ इनलेटको दक्षिणपश्चिम र शाताउ कक सहरको विपरीत दिशामा अवस्थित छ।
एचकेनुट्राले आइतबार गरेको हाइकिङको पन्ध्रौँ संस्करणमा धेरै हङकङवासी नेपाली बालाबच्चासहित सहभागी भएका थिए। बालबच्चासहितको यस्तो सहभागिताले भावी पुस्तामा हाइकिङको महत्त्वबारे बुझाउन सहज हुने बताउँछन् हाइकिङको नेतृत्व गरेका राजकुमार राई।

‘बालबालिकालाई समेत हाइकिङमा सहभागी गराउँदा उनीहरूको वृत्तिविकासमा पनि सहयोग नै पुग्दछ,’ राई थप भन्छन, ‘यसै पनि बालबालिकामा नयाँ कुरा सिक्ने र जान्ने उत्सुकता हुन्छ। यस्ता नयाँ ठाउँ र परिवेशमा पुग्दा उनीहरूले धेरै नयाँ कुरा देख्न र सिक्न पाउँछन्।’
उनी अगाडि थप्छन्, ‘हाइकिङले स्वास्थ्यलाई राम्रो त गर्छ नै हाइकिङमा सहभागी बालबालिकाले गाउँघरमा फलेका फलफूल र सागसब्जी देखेर निकै उत्सुक बनिरहेका देखिन्थे। यसले उनीहरूको सिकाइलाई मद्दत नै गर्छ।’
सरसफाइका क्रममा संकलित फोहोरलाई ताइपोको ताइमे तुकस्थित फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो। त्यस्तै, कतिपय फोहोर भने पदमार्गका विभिन्न स्थानमा राखिएका डस्बिनमा खन्याइएको एचकेनुट्राका उपाध्यक्ष दिलकुमारी लिम्बू (दिलु)ले जानकारी दिइन्।
Shares

प्रतिक्रिया