हङकङमा ६ वर्षपछि चिकनगुनिया ज्वरो देखिएको छ। यसअघि सन् २०१९ मा देखिएको यो रोग अहिले फेरि देखिएको हो।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले चीनको ग्वान्दोङ प्रान्तमा प्रकोपकै रूप लिएको छ।
हङकङमा देखिएको पछिल्लो केस पनि यहीँबाट फर्केका एक बालकमा देखिएको हो। १२ वर्षीय उनलाई चिकनगुनिया संक्रमण भएको शनिबार पुष्टि भएको थियो।
आइतबार सरकारी अधकारीहरूले जानकारी गराएअनुसार, अहिले भने उनलाई क्वाइचुङस्थित मार्गरेट अस्पताल स्थानान्तरण गरिएको छ। उनको स्वास्थ्यस्थिति स्थिर छ।
चिकनगुनिया ज्वरो लामखुट्टेको टोकाइबाट फैलिन्छ। यो रोग लाग्दा सामान्यतया ज्वरो आउने र जोर्नी दुख्ने समस्या हुन्छ जुन लामो समयसम्म रहन सक्छ।

संक्रमित बालकले आफ्नी आमासँग १७ देखि ३० जुलाईसम्म चीनको सुन्डे जिल्लास्थित फोसानको यात्रा गरेका थिए।
उनलाई बिहीबारबाट ज्वरो आएको थियो। ज्वरो आउने जोर्नी दुख्ने भएपछि शुक्रबार एक निजी डाक्टरको परामर्शपछि उनी क्वानतोङस्थित युनाइटेड क्रिश्चियन अस्पताल भर्ना भएका थिए।
शनिबार बिहान रगतको नमूना परीक्षणमा चिकनगुनिया पोजिटिभ रिपोर्ट आएको थियो।
छिमेकी सहर ग्वान्दोङमा प्रकोपकै रूप लिएको रोग हङकङमा पनि देखापरेपछि अधिकारीहरूले लामखुट्टे नष्टको अभियानलाई तीव्र पारेका छन्।
आवास प्राधिकरण र खाद्य तथा वातावरणीय स्वच्छता विभागले आइतबार दिउँसो क्वुनतोङको अनट्याट स्टेट र युनाइटेड क्रिश्चियन अस्पताल वरपर लामखुट्टे नाशक अभियान चलाएका थिए।
जसमा लामखुट्टेको सम्भावित प्रजनन स्थलहरूमा लार्भिसिडल तेल छर्कने, ढल निकासको प्वाल वरपर जमेको पानी र घाँस सफा गर्ने, यस्ता स्थलमा कीटाणुरहित औषधि छर्कने लगायत छन्।
यसका साथै, बासिन्दाहरूलाई गमलाको पानी सफा गर्न, लामखुट्टे बस्न सक्ने अन्य सम्भावित स्थल पनि सफा राख्न उनीहरूले अपिल गरेका छन्।
हङकङ पेस्ट म्यानेजमेन्ट एकेडेमिक सोसाइटीका अध्यक्ष ज्याक्सन चान लामखुट्टे नियन्त्रणको मुख्य उपाय भनेको वर्षापछि जम्मा भएको पानी हटाउनु र नियमित रूपमा कीटनाशक औषधि प्रयोग गर्नु रहेको बताउँछन्। (एजेन्सी)
Shares

प्रतिक्रिया