हङकङको एक रेस्टुरेन्टमा डिनर गर्ने क्रममा दुई जना ग्राहक घाइते भएका छन्।
बुधबार साँझ कजवे बेको क्याफे म्याच बक्समा उक्त दुर्घटना भएको हो। साँझ ७ बजेतिर प्याटरसन स्ट्रिटमा रहेको उक्त रेस्टुरेन्टमा आठ जनाको समूह खानाको लागि गएको थियो।
उनीहरूले खानामा सिजलिङ पोर्क नकल अर्डर गरे जुन सामान्यतया फ्लाम्बे प्रविधि प्रयोग गरेर प्रस्तुत गरिन्छ।
तर, वेटरले प्लेटमा कुकिङ वाइन खन्याउने क्रममा आगो सोचेभन्दा ठूलो भयो। परिणामस्वरुप ४६ र १७ वर्षीया महिला घाइते भए। सुरुमा तातो सिजलिङ प्लेटमा वाइन खन्याइँदा कमजोर ज्वाला आएपछि वेटरले पुन: दोस्रो पटक खन्याउँदा आएको ठूलो ज्वालाले घाइते बनाएको हो।
चान थरकी ४६ वर्षीया महिलाको हात, पाखुरा, छाती र अनुहार जल्यो भने क्वान थरकी १७ वर्षीया किशोरीको घाँटी र अनुहार जल्न पुगेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घाइते दुवै जनालाई रट्टोनजी अस्पताल लगिएको छ, जहाँ चानको अवस्था गम्भीर छ।
घटना बाहिरिएपछि मिडियाको सोधपुछको जवाफमा रेस्टुरेन्ट प्रबन्धकले उक्त परिकार हालसालै मात्र प्रस्तुत नगरिएको र विगतमा यस्ता घटना नभएको प्रतिक्रिया दिएका छन्।
Shares

प्रतिक्रिया