एनआरएनए व्यापारीहरूको संस्था हो भन्ने भाष्य नै गलत छ : हङकङ अध्यक्ष अनु राई

एनआरएनए व्यापारीहरूको संस्था हो भन्ने भाष्य नै गलत छ : हङकङ अध्यक्ष अनु राई

विपेन्द्र घिमिरे
साउन १६, २०८२ शुक्रबार १५:५९, काठमाडौँ

अनु राई, गैरआवसीय नेपाली संघ, हङकङको यही सोमबार सम्पन्न १०औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष। यसो त राईको एनआरएनए हङकङको यात्रा पहिलो भने होइन, उनले महिला संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी यसअघि नै सम्हालिसकेकी छन्।

महिला फोरमको संयोजक हुँदा उनले गरेका कतिपय सामाजिक कामले अहिले पनि निरन्तरता पाइरहेका छन्। उनले यी पदका कार्यभार दुई-दुई कार्यकाल कुशलतापूर्वक सम्पन्न गरिसकेकी छन्। यिनै अनुभवी समाजसेवीलाई अहिले हङकङका नेपालीले अध्यक्ष जस्तो गरिमामय पदमा पुर्‍याएका छन्।

अध्यक्ष राईको विगतमा सामाजिक कार्य सम्पादन, वर्तमान व्यस्तता र भविष्यका योजना कस्ता छन् त? उनले कसरी एनआरएनए हङकङलाई दौडाउन चाहन्छिन्? यिनै विषयमा केन्द्रित रहेर नेपालखबरले काठमाडौँबाट राईसँग फोनवार्ता गरेको छ। प्रस्तुत छ, कुराकानीको सङ्क्षेप–

सर्वसम्मत निर्वाचित हुनुभयो है?
हजुर।

कसरी सम्भव भयो त?
मैले विगतदेखि संस्थामा गरेको योगदानको कदर हो भन्ठान्छु। इमान्दारितापूर्वक कर्म गरेको फल होला सायद। अग्रज र साथीहरूले गर्नुभएको मूल्यांकनप्रति आभारी छु। यति भन्दै गर्दा, पूर्वअध्यक्ष टीका गुरुङ दिदी र निवर्तमान अध्यक्ष गोकर्णप्रसाद ढकाललाई विशेष धन्यवाद दिनै पर्छ।

अलिकति विगतदेखि नै सुरु गरौँ है, हङकङ कहिले आउनुभयो?
हङकङ त म पहिलो पटक सन् २००२ तिरै आएको हो। यहीँ बसोबास गर्नेगरी चाहिँ २००९ मा आएको हो। २ देखि ९ सम्मको बीचमा आउने-जाने भने भइरहन्थ्यो।
 
स्थायी बसोबास सुरु गर्नुपूर्व आउने-जाने गर्थेँ भन्नुभयो। के कामले आउने-जाने गर्नुहुन्थ्यो?
मेरो सबै परिवार यतै हुनुहुन्थ्यो। त्यसैले आउजाउ भइरहन्थ्यो। पछि चाहिँ कति परिवारसँग छुट्टिएर बस्नु भन्ने भयो र यतै बस्नेगरी आएँ।

सबै परिवार हङकङ हुँदा तपाईँ चाहिँ किन नेपालमै बस्नुभएको थियो त?
शिक्षण पेसामा थिएँ, जुन मेरो रुचिको विषय पनि थियो। त्यसैले हिँडिहाल्न सकिनँ। तर, समय बित्दै जाँदा सबै कुरा आफ्नो चाहनाले मात्र नचल्ने रहेछ। परिवार दुईतिर भएर बस्नु सान्दर्भिक देखिएन। परिवारको चाहना पनि यही देखियो र आउने निर्णय गरेँ।

नेपालमा मर्यादित पेसामा हुनुहुँदो रहेछ, हङकङ आएपछि कसरी अनुकूल हुनुभयो त?
सुरुमा त अलमलमै परेँ नि! कहाँबाट के सुरु गरौँ भन्ने भयो। यस्तै अलमलका बीच एउटा फुड कम्पनीमा काम पाएँ। र, अहिले पनि उक्त कम्पनीको सेल्स डिपार्टमेन्टमा कार्यरत छु।

भनेपछि व्यस्त हुनुहुन्छ?
व्यस्त नै भन्नुपर्‍यो।

सामाजिक काम र जागिरलाई कसरी व्यवस्थापन गर्नुभएको छ त?
पहिलो कुरा त, हङकङमा बस्ने हामी सबै नेपाली केही न केही काम गरिरहेकै हुन्छौँ। परदेशको ठाउँ त्यसमाथि २४सै घण्टा व्यस्त रहने हङकङ जस्तो सहरमा काम नगरी बस्नु आर्थिक र सामाजिक हिसाबले पनि त्यति उचित देखिँदैन। जो-जो समाजसेवामा लाग्नुभएको छ, उहाँहरूको पनि केही न केही कामधन्दा भएकै हुन्छ।

कोही जागिरे होलान्, कसैको व्यापार व्यवसाय होला। यस्तै मैले पनि आफ्नो काम र सामाजिक कामलाई व्यवस्थापन गर्दै अगाडि बढिरहेको छु। दुवै कामलाई मिलाउन सकेको छु भनौँ न। यसैले व्यस्तता पनि छ।

नेपालमा छँदा शिक्षक हुनुहुन्थ्यो। शिक्षण पेसामा भएपछि पठनपाठनतिरै बढी केन्द्रित हुनु नै भयो होला। हङकङ आएर सामाजिक क्षेत्रमा चाहिँ कसरी होमिनुभयो त?
म हङकङ आएको समयमा यहाँ नेपालीको महिलासम्बन्धी कुनै पनि संस्था थिएनन्। यसैबीच मेरो टिका गुरुङ (राधिका)सँग भेट भयो। उहाँ एनआरएनए हङकङको पहिलो महिला अध्यक्ष पनि हो। उहाँसँग यही विषयमा छलफल भयो अनि हामीले ८०/९० जना महिला भेला पार्‍यौँ र नेपाली महिला संघ हङकङ गठन गर्‍यौँ। यहीँबाट मेरो सामाजिक क्षेत्रमा प्रवेश भयो।

कहिले गठन गर्नुभयो यो?
सन् २०१३ मा गठन भयो, २०१४ मा विधिवत् दर्ता गरेर काम सुरु गर्‍यौँ।

कस्तो संस्था हो यो?
मैले माथि नै पनि भनिसकेँ, त्यतिबेला यहाँ महिलासम्बन्धी कुनै संघसंस्था थिएनन्। अनि हामीले महिलासम्बन्धी काम गर्ने संस्था खोल्नुपर्छ भनेर यो पहल गरेका थियौँ। त्यसैले नाम पनि महिला संघ नै राखेका छौँ।

के कस्ता काम गर्नुभयो त?
हामीले सुरुमा पाठेघर, स्तन क्यान्सरसम्बन्धी वर्कसप चलायौँ। एयरहोस्टेजसम्बन्धी वर्कसप गर्‍यौँ। अटिज्म बच्चाहरूको क्षेत्रमा काम गर्‍यौँ। महिला र सौन्दर्यका क्षेत्रमा काम गर्‍यौँ। हङकङका नेपालीलाई आफ्ना बालबच्चा कता पढाउने भन्ने अन्योल देखिन्छ, त्यसमा काउन्सिलिङको काम गर्‍यौँ।

अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुरु गर्‍यौँ। नेपालमा विभिन्न क्षेत्रमा ख्याती कमाएका महिलालाई यो दिवसमा हङकङ बोलाएर सम्मान गर्ने काम गर्‍यौँ। जुन अद्यापि जारी छ। लिली थापा, इन्दिरा रानामगर, मन्जु गुरुङ, टिका दाहाल, चरीमाया तामाङ, सरस्वती गुरुङ लगायत वर्ष महिला सम्मानबाट सम्मानित भइसक्नुभएको छ।

त्यस्तै, एनआरएनए हङकङले छैटौँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गरेको बेला हामीले पनि पहिलो एसिया प्रशान्त क्षेत्रीय महिला सम्मेलन गरेका थियौँ। त्यतिबेला संसारभरका महिलाले भाग लिएका थिए।

यसैगरी, नुवाकोटमा महिलाहरूको पाठेघर जाँच, आँखा जाँच, बालबच्चाहरूको स्वास्थ्य जाँचका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ। जहाँ ८ सय बढी मानिसले नि:शुल्क स्वास्थ्य जाँच र औषधिको सुविधा लिएका थिए। त्यतिबेला बालबालिकालाई हेल्थ किड्सहरू बाँडिएको थियो।

एनआरएनएमा प्रवेश चाहिँ कसरी भयो?
एनआरएनए प्रवेशको पृष्ठभूमिमा पनि महिला संघ नै जोडिएर आउँछ। महिला संघमा म महासचिव हुँदा टिका गुरुङ अध्यक्ष हुनुहुन्थ्यो। उहाँ एनआरएनएको अध्यक्षमा लड्ने निश्चित भएपछि उहाँले नै सँगै काम गर्नुपर्छ भनेपछि म पनि एनआरएनएमा जोडिएँ। टिका गुरुङ दुई कार्यकाल एनआरएनएको अध्यक्ष हुनुभयो, यी दुवै कार्यकालमा म महिला संयोजक थिएँ। यसपछि उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि भएँ।

भनेपछि, तपाईँलाई एनआरएनए सञ्चालनसम्बन्धी अनुभव छ?
हजुर, त्यसै भन्नुपर्‍यो।

अहिले त तपाईँ आफैँ नेतृत्व तहमा पुग्नुभएको छ, भावी योजना के छन् त?
हङकङमा हाम्रो समुदाय वीर गोर्खाको विरासत बोकेको समुदाय हो। हामी अहिले हङकङमा त्यस्तै ३० हजारको हाराहारीमा नेपाली छौँ, यीमध्ये अधिकांश ब्रिटिस गोर्खाकै सन्तान छौँ। हामीलाई अझै पनि वीर गोर्खाको सन्तान भनेर चिनिन्छ यहाँ। त्यो हामीले बिर्सन भएन।

त्यसैले, मेरो पहिलो उद्देश्य नै शान्त, शालीन र गौरवमय इतिहास बोकेका ब्रिटिस गोर्खाको योगदानलाई जिवित राख्नु रहेको छ।

हुनत: म भर्खरै निर्वाचित भएर आएको छु। कार्यसमितिलाई पूर्णता दिन बाँकी नै छ। ब्रिटिस गोर्खाको कुरा गरिरहँदा फेरि म यो भुल्ने छैन कि कार्यसमितिमा समावेशिताको आधार छुटाउने छैन। अहिले जे-जति छौँ त्यसमा समावेशिता नै छ भन्ने लाग्छ र अब पूर्णता दिने क्रममा पनि यसले निरन्तरता पाउनेछ।

मेरो दोस्रो प्राथमिकतामा भाषा, संस्कृति पर्नेछ। यसको संवर्धनविना कुनै पनि समुदायको उन्नति सम्भव छैन भन्ने कुरामा सचेत छु।

मैले कतिपय बच्चाहरू नेपालीमा कुरा गर्नै नसक्ने देखेको छु। यसरी त हाम्रो संस्कार, संस्कृति मासिइहाल्छ नि!

हङकङमा रहनुहुने कतिपय अभिभावकका बालबच्चा नेपालमै पढिरहेको देखिन्छ, तपाईँको आशय बालबच्चालाई नेपालमै पढाउँदा ठिक हुन्छ भन्ने हो?
होइन, बिल्कुल होइन। म त भन्छु हङकङमा जन्मेका बालबच्चालाई हङकङमै पढाऊँ। र, मैले भाषा-संस्कृतिको संवर्धनको कुरा यहाँनेर पनि गरेको हो। बच्चाहरूले स्कुल गएर स्कुलको पाठ्यक्रमअनुसार पढिहाल्छन्। यसका अलावा हामीले आफ्नो तवरले आफ्नो समुदायको भाषा संस्कृति पनि सिकाउनु जरुरी छ। 

अर्को कुरा, यहाँ स्कुल छनोट एकदम गाह्रो छ। पाएपछि पनि नेपालबाट आएका बच्चालाई उनीहरूको स्ट्यान्डर्डभन्दा तल्लो कक्षामा भर्ना गर्नुपर्ने परिस्थिति देखिन सक्छ, यस्तो हुँदा कतिपय अभिभावकले यति कक्षासम्म पुगिसकेको सन्तान फेरि तल किन पढाउनु भन्ने ठानेर फेरि नेपालमै फिर्ता पठाउने गर्नुभएको पनि देखिन्छ।

यस्तो समस्याको समाधानका लागि हामीले एक्सपर्ट झिकाएर परामर्श पनि दिने गरेका छौँ।

यति नै हुन् तपाईँका भावी योजना?
नेतृत्व सम्हालेको भर्खर हप्ता दिन मात्रै त पुगेको छ। पहिले कार्यसमितिलाई पूर्णता दिऊँ, अनि योजना बन्दै जालान्।

तपाईँ अध्यक्षमा निर्वाचित हुँदै गर्दा अर्को समानान्तर समिति पनि बन्यो नि?
सर्वप्रथम त म के भन्छु भने यो समानान्तर समिति नै होइन। एनआरएनए हङकङ एउटै छ र एउटै नै रहिरहन्छ।

समिति बनेको त साँचो हो नि?
संस्था खोल्न त सबैले पाउँछ नै। हङकङमा नेपालीका अनगिन्ती संस्था छन्। सबैले आ-आफ्नो क्षेत्रबाट समुदायलाई, देशलाई सहयोग गरेकै छन्। नेपाल र नेपालीको लागि राम्रो काम गर्न सबैलाई छुट छ। उहाँहरूले पनि नयाँ संस्था खोलेर समुदाय र देशको सेवा गर्नुहुन्छ भने उहाँहरूलाई शुभकामना नै दिनु पर्छ।

होइन, उहाँहरूले त एनआरएनए नै भनिरहनुभएको छ नि?
अब हेर्नुस्, घर झगडा पर्‍यो भन्दैमा घरै टुक्र्याउने भन्ने कुरा हुँदैन। एउटै घरका सदस्यबीच कहिलेकाहीँ मनमुटाव हुनसक्छ, त्यो मनमुटावलाई मिलाएर, सबैलाई समेटेर लैजानु पर्छ। तपाईँले पनि विश्वभरकै परिस्थिति देख्नुभएकै छ, आईसीसीको असर हङकङमा पनि परेको मात्र हो, अरू केही होइन।

घरझगडा त देखियो नि होइन? मिलाउन तपाईँको पहल के हुन्छ?
मिलाएर लैजान अध्यक्षको नाताले मेरो हरप्रयास रहनेछ। उहाँहरूलाई एनआरएनएको ढोका सधैँ खुला छ।

सुनिन्छ, एनआरएनएको अध्यक्ष बन्न आर्थिक रूपमा निकै बलियो हुनुपर्छ, तपाईँको अनुभव के रह्यो?
यो आरोप छ। एनआरएनए भनेको व्यापारीहरूको संस्था हो भन्ने भाष्य निर्माण गरिएको छ। म त भन्छु यो गलत हो। मेरै उदाहरण हेरौँ, म एउटा साधारण मानिस हो। एउटा फुड कम्पनीमा काम गर्ने श्रमिक हो। श्रम गरेरै खाने मान्छे हुँ।

मेरै उदाहरणले पनि भन्छ– श्रम गरेर खाने साधारण मानिस पनि एनआरएनएको अध्यक्ष बन्न सक्छ। त्यसैले उक्त भाष्य गलत हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .