मलेसियाको सिलिङ्गोर गोम्बाकमा भएको एसिया ट्रेल मास्टर अल्ट्रा ट्रेल दौड प्रतियोगितामा हङकङकी दिलु लिम्बू महिलातर्फ प्रथम भएकी छन्। प्रतियोगितामा हङकङकै दिनानाथ बगालेले भेटेरान उपाधि प्राप्त गरेका छन्।
२० जुनमा सम्पन्न उक्त दौडमा भाग लिन हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसियसनका आधा दर्जन धावकधाविका मलेसिया पुगेका थिए।
२९ देशका ५७२ जना सहभागी भएको प्रतियोगितालाई १००, ५०, १५ र ५ किलोमिटरमा विभाजित गरिएको थियो। जसअन्तर्गत दिलु लिम्बु १०० किलोमिटरतर्फ प्रथम भएकी हुन्।
प्रतियोगिता मलेसियाको सेलाङ्गोर राज्यको पूर्वी-मध्य भागमा अवस्थित एक प्रशासनिक जिल्ला गोम्बाकमा भएको थियो।

१०० किलोमिटरतर्फ हङकङबाट दिनानाथ बगाले, दिलु लिम्बू, वेदराज सेलिङ लिम्बू र रविनकुमार लिम्बू सहभागी भएका थिए।
त्यस्तै, ५० किलोमिटरतर्फ भेषराज भट्टराई (रमेश) र सन्तोष तामाङ सहभागी थिए।
एसिया ट्रेल मास्टर (एटीएम)को यो सिजन १० हो। एटीम दौड एसियाका भियतनाम, फिलिपिन्स, इन्डिया, म्यानमार, हङकङ, मलेसिया, इन्डोनेसिया, लाहोस, नेपाल, थाइल्यान्ड, जापान, सिङ्गापुर, कोरिया, लगायतका देशमा हुँदै आएको छ। एटीएमले कम्तीमा १५ इभेन्ट गर्ने लक्ष्य लिएको छ।

हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसियसन (एचकेनुट्रा) का धावकधाविकाले मार्च २९ मा हङकङमा सम्पन्न लान्ताउ ७० किलोमिटरको अल्ट्रा दौडमा एसिया ट्रेल मास्टरको बरियतामा प्रवेश पाएका थिए।
दौडमा नेपालीको सफलतासँगै एचकेनुट्राका उपाध्यक्ष भेषराज भट्टराईले छोटो समयमा ठूलो उपलब्धि भएको बताए। देश चिनाउन खेलकुद मुख्य माध्यम रहेको र आफ्नो संस्था यही लयमा हिँड्नेमा आफू विश्वस्त रहेको उनको धारणा छ।
Shares

प्रतिक्रिया