मंगलबार बिहान हङकङको हङहोममा घातक दुर्घटना भएको छ। यहाँस्थित सडकमा तीव्र गतिको ट्रकले अचानक नियन्त्रण गुमाउन पुगी फुटपाथमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भए। ट्रक ठोकिएको स्थल बस स्टप पनि हो। जसका कारण दुर्घटनापछि बस कुरिरहेका धेरै यात्रुको भागाभाग भएको भिडिओमा देख्न सकिन्छ। दुर्घटनापछि चालक भने फरार छन्।
बिहान साढे ६ बजेतिर भएको उक्त दुर्घटनामा ५० वर्षकी महिलाले ज्यान गुमाएकी हुन्। गम्भीर घाइते उनलाई याउमा तेईस्थित क्विन एलिजाबेथ अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरियो। त्यस्तै, घाइते हुनेमा अर्की ३३ वर्षकी महिला छन्। हात र खुट्टामा चोट लागेकी उनलाई पनि अस्पताल लगिएको थियो।
अनलाइनमा प्रसारित फुटेजअनुसार चाथम रोड उत्तरबाट चिमसा चोईतर्फ गइरहेको ट्रकले ओरालो लाग्ने क्रममा नियन्त्रण गुमाएको देखिन्छ।
बीच सडकमा गुडिरहेको ट्रक छेउको अवरोधबाट पार हुँदै धेरै लेन पार गरेर बस स्टपमा ठोकिन पुग्छ। यसपछि वरपर मानिसहरूको भागभाग देख्न सकिन्छ।
फरार चालकको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्।
भिडिओ-
Shares

प्रतिक्रिया