अमेरिकी बहुर्राष्ट्रिय प्रविधि कम्पनीले मेटाले हङकङको जोय टाइमलाइन एचके लिमिटेडविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
मेटाले बिहीबार आफ्नो वेबसाइटमा प्रकाशित एक पोस्टमा जनाएअनुसार हङकङको उक्त कम्पनीलाई मेटाको प्लेटफर्ममा क्रसएआई एपहरूको विज्ञापन गर्न रोक्नबाट उक्त मुद्दा दायर गरिएको हो।
मेटाको दाबीअनुसार, हङकङको उक्त कम्पनीको एपले मानिसहरूको सहमतिविनै उनीहरूको नग्न वा यौनजन्य तस्बिर सिर्जना गर्न एआईको प्रयोगलाई अनुमति दिन्छ। यसले विज्ञापन गर्दा सामाजिक सञ्जाल कम्पनीको नियमलाई बारम्बार उल्लंघन गरेको छ।
यो मुद्दा ‘नग्न’ एपहरूमाथि कारबाही गर्ने प्रयासको अंश भएको पनि मेटाले जनाएको छ। यस एपले प्रयोगकर्ताहरूलाई उसको सहमतिबिना नै उसको वा कसैको अनुहारको तस्बिरबाट नग्न वा यौनजन्य तस्बिरहरू सिर्जना गर्न अनुमति दिन्छ।
मेटाले एप निर्माता जोय टाइमलाइन एचके लिमिटेडले विज्ञापनहरू किन्न फेसबुक वा इन्स्टाग्राममा कम्तीमा १७० व्यावसायिक खाताको नेटवर्क सिर्जना गरेर नियम उल्लंघन गरेको आरोप पनि लगाएको छ।
एप निर्मातासँग ५५ भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको र यसले १३५ भन्दा बढी फेसबुक पृष्ठ व्यवस्थापन गरिरहेको एवं त्यहीँबाट विज्ञापनहरू प्रदर्शित गरिएको पनि मेटाले उल्लेख गरेको छ।
विज्ञापनले मुख्यतया अमेरिका, क्यानडा, अस्ट्रेलिया, जर्मनी र युकेका प्रयोगकर्तालाई लक्षित गरेको पनि उसको आरोप छ।
त्यस्ता विज्ञापनमा कृत्रिम बुद्धिमत्ता (एआई)द्वारा उत्पन्न गरिएका यौनजन्य वा नग्न तस्बिरहरू समावेश रहेका र ‘एक मिनेटको लागि नाङ्गो पार्न फोटो अपलोड गर्नुहोस्’, ‘केटीहरूको कुनै पनि लुगा मेटाउनुहोस्’ जस्ता क्याप्सन राखिएको मेटाको दाबी छ। (एजेन्सी)
Shares

प्रतिक्रिया