परराष्ट्रमन्त्री आरजु राणासमक्ष हङकङका नेपालीले शनिबार भेटी रोजगार भिसा पुन: खुलाउन पहल गरिदन माग गरेका छन्। चीन सरकारको निमन्त्रणामा हङकङ आएकी परराष्ट्रमन्त्री राणालाई यहाँका नेपाली अगुवाले भेटी विभिन्न मागसहितको ज्ञापन पत्र समेत बुझाएका छन्।
परराष्ट्रमन्त्री राणा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर समारोहमा सहभागी हुन हङकङ आएकी हुन्।
यही मेसोमा हङकङस्थित नेपाली जनसम्पर्क समितिले गरेको ‘भेटघाट तथा परिचयात्मक कार्यक्रम’मा समुदायका अगुवाले नेपालीका विविध समस्याका बारेमा अवगत गराएका हुन्।
मन्त्री राणा बसेकै वानचाईस्थित पाँचतारे होटल ‘ग्रान्ड हयात’मा भेटघाट कार्यक्रम भएको हो। जहाँ विभिन्न मागसहितको ज्ञापन पत्र बुझाइएको हो।
जनसम्पर्क समितिका सभापति शैलेन्द्र सिंह बोगटीद्वारा हस्ताक्षरित उक्त पत्रमा नेपालमा हुने निर्वाचनमा उम्मेदवारीको हक, हङकङबाटै भोट दिन पाउने अधिकार, अनलाइन भोटिङ व्यवस्था, बन्द गरिएको रोजगार भिसा पुन: खुलाउनका लागि पहल, नेपाली महावाणिज्य दूतावासबाट हुने काम/कारबाही चुस्त दुरुस्त र झन्झटमुक्त हुनुपर्ने जस्ता मागहरू उल्लेख गरिएको छ।
भारत, इन्डोनेसिया ,फिलिपिन्स, मलेसिया, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायत विश्वका धेरै देशलाई रोजगार भिसा दिइएको तर झन्डै २९ हजारको जनसङ्ख्या रहेको नेपालीलाई भने त्यसबाट विमुख गराइएको भन्दै त्यसको लागि पहल गरिदिन जनसम्पर्कले आग्रह गरेको हो।
हङकङ सन् २००६ पछि नेपालीलाई आईडी वाहक बाहेक अन्यलाई रोजगार भिसा बन्द गरिएको छ।
यसैगरी जनसम्पर्क समितिका सल्लाहकार कोमल गुरुङ (स्याङ्जाली कान्छा) ले हङकङमा शरणार्थी भई बसेका नेपालीले डिपोट हुन चाहेको अवस्थामा आवश्यक सरकारी कागजपत्रका समस्याबारे जानकारी गराएका थिए।

उपाध्यक्ष ओम गुरुङले ‘नेपाली महावाणिज्य दूतावासमा एकपटक पेस गरेर प्रमाणित भइसकेका कागजपत्र त्यही कामका लागि अर्कोपटक जाँदा पुन: मागिनु झन्झटिलो भएकोले त्यसमा सुधार गर्नुपर्नेमा माग गरेका थिए।
त्यस्तै, जनसम्पर्कका अर्का सल्लाहकार बमबहादुर विश्वकर्माले नेपाली कांग्रेसभित्र समावेशिताको नाममा गलत व्यक्ति र प्रवृत्ति छनोट हुँदा पार्टीमा योगदान गरेका समुदाय र व्यक्ति ओझेलमा परेको गुनासो राखेका थिए।
परराष्ट्रमन्त्री राणासमक्ष प्रस्तुत भएका मागहरूमाथि जोड दिँदै जनसम्पर्क समितिका सल्लाहकार कुलप्रसाद गुरुङ, विनय शाह, हर्कनारायण तुलाचन, वसन्त श्रीनेत, देव गुरुङ, मिन गुरुङ आदिले सम्बोधनका पहल गर्न आग्रह गरेका थिए।
जनसम्पर्कका सभापति शैलेन्द्र सिंह बोगटीको नेतृत्व र उपाध्यक्ष ताहिर खानको विशेष पहलमा भएको भेटघाटमा मन्त्री राणाका स्वकीय सचिव कमल रावत, हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखक, वाणिज्यदूत सतिश गुरुङलगायत उपस्थित थिए।
हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक राना, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, जनसम्पर्क समितिका सल्लाहकार सन्तोष गुरुङ, किसन देवान, आशा राई, नरेन्द्र गुरुङ, उदय गुरुङ, गुरुङ (तमु) समाज, संखुवासभाका अध्यक्ष श्याम गुरुङ, नेपाल चेम्बर अफ कमर्स हङकङका सदस्य विक्की थापालगायतले पनि कार्यक्रममा आ-आफ्नो धारणा राखेका थिए।
सबैका कुरा सुनिसकेपछि मन्त्री राणाले प्रस्तुत मागहरूलाई आफूले सरकारसमक्ष पुर्याउने वचन दिएकी थिइन्।
यसै क्रममा उनले गैरआवासीय नेपालीको नेपालमा राजनीतिक नेतृत्व, मताधिकार र अनलाइन भोटिङ निकै जटिल विषय भएको बताइन्। तैपनि यस विषमा आफ्नो सकारात्मक पहल रहने उनको भनाइ थियो।
मन्त्री राणा गएराति स्वदेश फर्किसकेकी छन्।
Shares

प्रतिक्रिया