हङकङमा गैरस्थानीय दक्ष जनशक्तिका लागि जागिरमा प्रवेश गर्ने उमेर सीमा बढ्ने भएको छ। यसअघि ३५ रहेको यो सीमा ५ वर्ष बढाएर ४० वर्ष पुर्याइएको श्रम प्रमुखले बताएका छन्।
व्यापक परामर्शपछि गरिएको यो परिवर्तनले प्राविधिक क्षेत्रमा सहरको जनशक्ति अभावलाई सम्बोधन गर्ने उनले बताए।
शुक्रबार एक रेडियो कार्यक्रममा बोल्दै सचिव सुनले नयाँ योजनालाई अन्तिम रूप दिने काम भइरहेको र चाँडै जारी गरिने बताएका हुन्।
‘४० वर्षको उमेर तोक्नु अझ उत्तम हो। हामी आशा गर्छौँ कि यदि उनीहरू ४० वर्षको उमेरमा आए भने तिनीहरूले ६५ वर्षसम्म काम गर्न सक्छन्, जसको अर्थ हङकङको अर्थतन्त्रमा कम्तीमा २५ वर्षको योगदान हो,’ सचिव सुनको कथन छ।
उनका अनुसार, लिफ्ट मर्मतसम्भार, इलेक्ट्रिसियन, हेरचाह गृहमा काम गर्ने नर्स जस्ता प्राविधिक जनशक्तिलाई आकर्षित गर्न उक्त प्रावधान ल्याउन लागिएको हो।
अक्टोबरमा प्रमुख कार्यकारी जोन लीको नीति सम्बोधनमा आगामी पाँच वर्षमा १ लाख ८० हजार कामदारको अभाव हुने अनुमान गरिएको थियो।
उक्त सम्बोधनमा लीले दक्ष र अनुभवी प्रतिभा भर्ना व्यवस्थाका विभिन्न पक्षमा सुधार गर्ने वाचा गरेका थिए।
अब आउने नयाँ व्यवस्थाले हङकङमा श्रम बजारको उमेर दायरा १८ देखि ४० वर्ष कायम गर्नेछ।
Shares

प्रतिक्रिया