विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७२औँ वर्ष पुगेको अवसरमा यहाँको नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए), हङकङको संयुक्त आयोजनामा पदयात्रा (हाइकिङ) गरिएको छ।
काउलुनस्थित वाङताई सिन गुम्बाको प्राङ्गणबाट सुरु गरिएको पदयात्रा लायन रक हुँदै लोक फुमा पुगेर बिसर्जन भएको थियो।
नेपालको पहिचानयुक्त ब्यानर, चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झन्डा र आयोजक संस्थाका लोगो भएको टिसर्ट लगाएर गरिएको उक्त यात्रामा करिब सवा सय हङकङेली नेपालीका साथै विदेशीमूलका नागरिकको पनि सहभागिता रहेको थियो।

२९ मे १९९३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले प्रथम पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सर्वोच्च शिखरमा मानव पाइला राख्न सफल भएको उक्त ऐतिहासिक क्षणको स्मरण गर्दै गैरआवासीय नेपाली संघ, हङकङले प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ। सोही अनुरुप यस वर्ष पदयात्रा गरिएको हो।
नेपाल सरकारले पनि यस दिनलाई ‘सगरमाथा दिवस’का रूपमा मनाउँदै आएको छ।
नेपाललाई पर्यटनमुखी बनाउने उद्देश्यसहित नेपाल र नेपालीबारे अन्तर्राष्ट्रिय रूपमा सचेतना फैलाउनको निम्ति पदयात्रा गरिएको आयोजकमध्येको एनआरएनए हङकङले जनाएको छ।
एनआरएनए, हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावासका कार्यवाहक दूत सतिश गुरुङ प्रमुख अतिथि रहेका थिए। ढकाल र गुरुङले कार्यक्रमको अौचित्यबारे प्रस्ट्याएका थिए।

कार्यक्रमका विशेष अतिथिहरूमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का महिला सचिव राधिका (टिका) गुरुङ, हङकङ सरकारको समान अवसर आयोग (ईओसी) की सदस्य तथा याउचि मङ जिल्ला परिषद् अरुणा गुरुङ, नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, नेपाली आदिवासी महासंघका अध्यक्ष एम.बि. थापा मगर, नेपाल चेम्बर अफ कमर्सका महासचिव वरदान गुरुङ, तमु ट्यो ह्युलका अध्यक्ष ईश्वरबहादुर गुरुङ, तामाङ घेदुङ संघकी अध्यक्ष अनिता तामाङ, एकीकृत नेपाली समाज (हिन्स)का अध्यक्ष अधिराज राईलगायत थिए।
त्यस्तै, विभिन्न संघ/संस्थाका प्रमुख, पदाधिकारी तथा सुपरिचित व्यक्तित्वहरूको पनि कार्यक्रममा सहभागिता थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव डिल्लीराम विश्वकर्माले गरेका थिए।
Shares

प्रतिक्रिया