अन्जला, जो बनिन् सगरमाथा चढ्ने हङकङको पहिलो नेपाली

अन्जला, जो बनिन् सगरमाथा चढ्ने हङकङको पहिलो नेपाली

अन्जलाले तेस्रो पटकको प्रयासमा सगरमाथा शिखर चुमेकी हुन्


मगेन्द्र राई
जेठ १४, २०८२ बुधबार १५:३३, हङकङ

उनी त्यस्तै ४/५ वर्षकी हुँदिहुन्, खोटाङ मावली गएको बेला बार्दलीबाट सेतो टाकुरो देखिन्थ्यो।

बिहान उदाउँदो घामको झुल्को पर्दा त्यो टाकुरो सिन्दुर हाल्न लागेको बेहुली जस्तै सजिन्थ्यो। यो साँच्चिकै सुन्दर लाग्थ्यो उनलाई। यसरी घामको पहिलो झुल्को टाकुरा पोखिएपछि गाउँघरका मानिस दिन राम्रो हुने लख काट्थे। यसरी बेहुलीझैँ सजिने त्यो टाकुरा सगरमाथा थियो।

धनकुटाको छिन्ताङमा जन्मिएर सुनसरीको बराह क्षेत्रमा हुर्किएकी चन्द्रकला (अन्जला) राईलाई सगरमाथा सम्बन्धी यस्तै धुमिल सम्झना छ। पासाङ ल्हामु शेर्पाले सगरमाथाको चुचुरोबाट फर्कँदै गर्दै ज्यान गुमाएको कथा पनि उनले सानै छँदा पढेकी थिइन्। त्यतिबेला उनलाई पासाङ कसरी मरिन्? म त जिउँदै फर्कन्छु भन्ने लाग्थ्यो। यो उनको बालापनको काल्पनिक कुरा थियो।

सन् २०१० तिर हङकङ टेकिन्। उमेर बढ्दै जाँदा बालापनको कल्पनाझैँ सगरमाथा चढ्ने सोच आएन। जब कोभिड कहरले मान्छेहरू भकाभक मर्न थाले तब जिन्दगी केही होइन रहेछ जस्तो लाग्न थाल्यो। अनि सोचिन्– त्यत्तिकै मर्नुभन्दा बरु केही गरेर मरौँ।

‘आखिर मर्नु नै छ भने, बरु सगरमाथामा मर्छु भन्ने लाग्यो,’ अन्जला भन्छिन्, ‘त्यसपछि सगरमाथा चढ्ने निर्णय गरेँ।’

तेस्रो पटकको प्रयासपश्चात अन्जलाले ११ दिनअघि (१८ मे) सगरमाथाको सफल आरोहण गरिसकेकी छन्। उनले त्यो आइतबारको बिहान ४:१० बजे सगरमाथाको शिखर चुमेकी हुन्।

सगरमाथा चढ्ने सोच बनेपछि सबैभन्दा पहिले गर्नुपर्ने काम थियो– आर्थिक जोहो। उनले आफ्नै कमाइले केही जग्गा जोडेकी थिइन्। ‘कोरोनाका कारण मरियो भने त्यो जग्गाजमिनको के काम?’ उनलाई यस्तै लाग्यो र त्यो बेचेर योजना कार्यान्वयनतर्फ लाग्ने निर्णयमा पुगिन्।

‘विराटनगरमा आफैँले किनेको जग्गा थियो। त्यो बेचेँ अनि सगरमाथा समिटको तयारीमा लागेँ,’ अन्जला सुनाउँछिन्। यो सन् २०२१ को कुरा थियो।

सगरमाथा चढ्ने क्रममा उनले बहराइनका राजकुमार शेख नासेर अल खालिफालाई पनि भेटिन्। त्यो क्षण निकै स्मरणीय भएको उनी बताउँछिन्।

बहराइनका राजकुमार शेख अल खालिफासँग अन्जला

सगरमाथा चढ्ने पहिलो प्रयासअन्तर्गत उनी आधार शिविर पार गरेर क्याम्प वान हुँदै क्याम्प टुसम्म पुगिसकेकी थिइन्। तर, त्यतिबेलै उनलाई कोभिड संक्रमण भयो। अनि, उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइयो। त्यतिखेर सगरमाथा चुम्ने उनको रहर त्यत्तिकै तुहियो। यसपछि हङकङ फर्किइन्। ‘चढ्नै नपाई ४५ लाख रुपैयाँ चट,’ उनी खल्लो पोख्छिन्।

यसरी गन्तव्यमा नपुगी यात्रा टुङ्याउनुपर्दा उनी हतोत्साही भइनन् बरु घाइते बघिनी जस्तै भइन्। हङकङ फर्केपछि सगरमाथा चढ्ने खर्च जोहो गरिन्। र, २०२४ मा फेरि सगरमाथा आरोहणको तयारीमा जुटिन्।

‘एकपटक असफल भइसकेपछि मन हतोत्साही भएन?’ नेपालखबरको प्रश्नमा अन्जलाको जवाफ छ, ‘किन डराउनु? म किरातीको सन्तान हुँ, असफता नै सफलताको कुन्जी हो। प्रत्येक गल्तीले हामीलाई केही न केही सिकाउँछ, अनुभवबाट खारिँदै लक्ष्य निर्धारण गर्नु पर्छ।’

दोस्रो पटकको प्रयासमा उनी क्याम्प ४ सम्म पुगिन्। यो झन्डै ८ हजार मिटरको उचाइमा छ। जसलाई ‘डेथ जोन’ भनिन्छ।

क्याम्प ४ मा अत्यन्तै जाडो हुन्छ भने अक्सिजनको मात्रा पनि कम हुन्छ। अन्जलालाई टन्सिलले समात्यो।

‘सिलिन्डरको अक्सिजन घाँटी हुँदै फोक्सोतिर जानुपर्नेमा मेरो त कानबाट पो निस्कन थाल्यो! त्यस्तो स्थितिमा पनि जोड गर्नु भनेको त सिधै कालको मुखमा पर्नु हो,’ उनी सुनाउँछिन्, ‘त्यसैले ७/८ सय मिटर नजिक पुगेर पनि ज्यान रहे फेरि आउँला भन्ने सोच्दै फर्कन बाध्य भएँ।’ दोस्रो प्रयासमा ५० लाख रुपैयाँ सकिएको उनले बताइन्। अनि फेरि हङकङ फर्किइन्।

‘थर्ड टाइम लक्की’
दुई पटकको असफलताले अन्जलालाई किञ्चित् विचलित पारेन। उनी आगो, पानी र हिमालसँग खेलबाड गर्न नहुनेमा सचेत थिइन्। साथसाथै, लक्ष्यप्राप्तिमा पुग्नमा पनि दृढ थिइन्।

आरोहणका क्रममा बाटोभरि लास देखिन्थे। हिँड्दै गर्दा अगाडि-पछाडिका आरोही ढल्थे र प्राण त्याग्थे। तिनै लासमाथि टेक्दै अगाडि बढ्नुपर्थ्यो। इष्टदेवलाई सम्झिँदै अगाडि बढ्नुको विकल्प उनी देख्थिनन्। मानसिक र शारीरिक रूपमा कमजोर हुनेबित्तिकै मृत्युले हमला गरिहाल्थ्यो।

अङ्ग्रेजी उक्ति ‘थर्ड टाइम लक्की’ भनेझैँ यस पटक भने अन्जलाले शिखर चुमेरै छोडिन्। १८ मे बिहान ४:१० मा विश्वको सर्वोच्च शिखरमा पाइला टेकिन्। यो पटक ६५ लाख रुपैयाँ जति खर्च भएको उनी सुनाउँछिन्।

‘यो उमेरमा त कमाउने जमाउने बेला होइन र? केहीछिनको आनन्दको लागि ज्यानकै बाजी राखेर करोडौँ खर्च गर्दा पछुतो लाग्दैन?’ प्रश्न खस्न नपाउँदै अन्जला भन्छिन्, ‘किन पछुतो मान्नु? बरु गर्व लागेको छ। संसारका लाखौँ मानिस सर्वोच्च शिखर चुम्ने चाहना राख्छन्, तर के ती सबै सफल हुन्छन् त? कतिले ज्यानै गुमाउँछन्। सगरमाथामा अझै दुई सयभन्दा बढी लास त्यत्तिकै लडिरहेका छन्।’

उनी यतिमै रोकिन्नन्। भन्छिन्, ‘यो पैसा भएर मात्र पनि हुँदैन। शारीरिक रूपमा तन्दुरुस्त हुँदैमा पुग्दैन, आँटले मात्रै पनि काम गर्दैन, चढ्नुअघि शरीरलाई वातानुकूलित बनाएर हिमाल चढ्न ज्यानलाई मानसिक र शारीरिक रूपमा पूर्ण तयार पार्नु पर्छ। उचित मौसमको पर्खाईमा रहनु पर्छ, जुन महिनौँसम्म पनि लाग्न सक्छ।’

यही क्रममा हिमाल चढ्न चाहनेलाई उनी टिप्स पनि दिन्छिन्, ‘राम्रो मौसमलाई ‘विन्डो’ भनिँदो रहेछ। ‘विन्डो’को पर्खाईमा बस्नुपर्ने रहेछ। अनि ‘टु ओक्लक रुल’ पनि हुँदो रहेछ। यो भनेको ढिलोमा अपरान्ह २ बजेअघि नै शिखरमा पुग्नुपर्दो रहेछ। त्यो भन्दा पछाडि पुगे हावा चल्ने अनि झर्दा रात परेर अँध्यारो र जाडोले ज्यान जाने रहेछ। पासाङ ल्हामु शेर्पाले पनि झर्ने क्रममै ज्यान गुमाएको रहेछ। यी सबै चुनौती पार गरेर शिखर चुम्दा कसलाई गर्व लाग्दैन? जहाँसम्म पैसाको कुरा छ, त्यो हातको मैला हो, शरीर स्वस्थ रहे फेरि कमाउन सकिहालिन्छ।’

अन्जला, बहराइनका राजकुमार शेख अल खालिफा लगायत टोलीसँग

‘पैसा खर्च गर्‍यो भने त शेर्पा गाइडहरूले बोकेरै टुप्पोमा पुर्‍याउँछन् भन्छन् नि?’ अर्को प्रश्न तेर्स्याउँदा भने उनी अलिक आक्रोशित देखिइन्, ‘यी सबै वाहियात कुरा हुन्। त्यहाँ जान नसक्ने आँट हैसियत नभएकाहरूले ईर्ष्यापूर्वक भनेको हुन सक्छ। एक सानो गल्तीले निमेषभरमै ज्यान जान सक्छ, खुकुरीको धारमा हिँड्नु जस्तै जोखिम हो सगरमाथा आरोहण।’

‘त्यत्रो खर्च र जोखिम मोलेर शिखरमा पुग्दा कस्तो अनुभव हुँदो रहेछ? के देखिँदो रहेछ?’ अर्को प्रश्न तेर्सियो। उत्तरमा अन्जला भन्छिन्, ‘त्यहाँ पुग्दा त अर्धचेतन जस्तो हुँदो रहेछ। सपना हो कि विपना, मन एकोहोरो जस्तो हुँदो रहेछ। अनि, आकाश पनि तल देखिँदो रहेछ। क्षितिजमा घाम झुल्किएको दृश्य अद्भुत थियो। आधा घण्टा जति बसेर फोटो भिडिओहरू खिच्यौँ, फर्कँदा समेत सपना कि विपना जस्तो लागिरहेको थियो।’

यो सफल आरोहणसँगै अन्जला सगरमाथाको शिखर चुम्ने हङकङको  पहिलो नेपाली बनेकी छन्। साथै, बराहक्षेत्रको पहिलो व्यक्तिका रूपमा पनि इतिहास रचेकी छन्।

अन्जलाले शिखर चुमेकै दिन ६ घण्टापछि हङकङवासी राज गुरुङले पनि सगरमाथाको सफल आरोहण गरेका छन्।

सगरमाथाको शिखरमा पुग्नुको उद्देश्य झन्डा गाड्नु वा फर्फराउनु मात्र होइन, चुनौतीको सामना गर्दै स्वर्गीय अनुभव लिनु पनि हो। साथै, सगरमाथा चढ्नु भनेको संसार देख्नका लागि मात्र होइन, संसारले आफूलाई देख्नको निम्ति पनि हो। यो साहसिक कामका लागि हिम्मतिली नेपालकी छोरी चन्द्रकला (अन्जला) राईलाई हार्दिक बधाई!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .