हङकङ साहित्यिक साझा शृङ्खलाको १३औँ वार्षिकोत्सवबाट जुनु राना संयोजक र रोशन यक्सो सहसंयोजकमा सर्वसम्मत चयन भएका छन्। हङकङ साहित्यिक साझा शृङ्खलाको नेतृत्व अवधि एक वर्षको रहने परम्परा रहेको छ।
जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टको सभाकक्षमा भएको समारोहमा शृङ्खलाका संयोजक रमन गुरुङको अध्यक्षता, सल्लाहकार टिवी याक्खाको उद्घोषण र याउचि मङ जिल्ला पार्षद् अरुणा गुरुङको प्रमुख आतिथ्य रहेको थियो।
त्यस्तै, नेपाली महासङ्घ हङकङकी अध्यक्ष रिता गुरुङ, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष गोकर्ण ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राई, द नेप्लिज एसोसिएसनका अध्यक्ष प्रदीप थापा, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला सचिव राधिका गुरुङ, हङकङ सरकार राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक राना, हङकङ साहित्यिक साझा शृङ्खलाका संरक्षकहरू दाजु गुरुङ, राजकुमार राई, टंक सम्बाहाम्फे विशेष अतिथिमा आमन्त्रित थिए।
त्यस्तै, विशेष अतिथिकै रूपमा तमु ट्हो ह्युलका अध्यक्ष ईश्वर गुरुङ, तमु समाजका अध्यक्ष नरेन्द्र गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष मनबहादुर गुरुङ, तामाङ घेदुङ संघकी अध्यक्ष अनिता पाख्रिन, हङकङ एकीकृत नेपाली समाज (हिन्स)का अध्यक्ष अधिराज राई, शिक्षा तथा सञ्चारकर्मी डा. चुरा थापा, स्वास्थ्य तथा सञ्चारकर्मी डा. टिका राना, शिक्षक तथा साहित्यकार लोकप्रसाद दाहाल, शिक्षा तथा सञ्चारकर्मी देवराज राई, हङकङ साहित्यिक साझा शृङ्खलाका सल्लाहकारहरू चन्द्र मादेन ‘आन्छन’, दिपा एवाई राई, बज्रकुमार थुलुङ राई, मेख आलेलगायतका व्यक्तित्वहरू आमन्त्रित थिए।
नेपाली राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रममा शृङ्खलाका सल्लाहकार सुनिता गिरीले स्वागत मन्तव्य राखेकी थिइन्।
सन् २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको साहित्यिक शृङ्खलाको १४४औँ संस्करणसहित मनाइएको वार्षिकोत्सवमा करिब साढे तीन दर्जन हङकङेली नेपाली साहित्यकारहरूले विभिन्न साहित्यिक विधामा लेखेका पुस्तक ‘शृङ्खला-७’ लोकार्पण गरिएको थियो।
पुस्तकमाथि शृङ्खलाका संरक्षक तथा साहित्यकार दाजु गुरुङले समीक्षात्मक मन्तव्य राखेका थिए।
५५ हजार ५ सय ५५ रुपैयाँ र ताम्रपत्र रहेको ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार २०२५’ नेपालका कवि तथा पूर्वप्राज्ञ शशी लुमुम्बूलाई प्रदान गर्ने घोषणा पनि समारोहमा गरिएको थियो।
सन् २०२४ मा स्थापित यो पुरस्कार पहिलो पटक लुमुम्बूलाई प्रदान गर्न लागिएको हो।

यसैगरी, हङकङमा रहेर नेपाली भाषा, साहित्य तथा पत्रकारिताको माध्यमबाट नेपाली समुदायलाई विशेष योगदान पुर्याउँदै आएका चार व्यक्तित्वलाई पनि ताम्रापत्रसहित पुरस्कृत गरिएको थियो।
विभिन्न शीर्षकका पुरस्कारमध्ये ‘किसन राई स्मृति प्रतिभा पुरस्कार २०२५’ साहित्यकार तथा बगैँचा डटकमका सम्पादक टोपबहादुर याक्खालाई प्रदान गरिएको थियो।
त्यस्तै, हङकङको सरकारी विद्यालयमा नेपाली भाषा अध्यापन गराउँदै आएकी शिक्षिका शारदा गुरुङलाई ‘लालबहादुर गुरुङ स्मृति प्रतिभा पुरस्कार २०२५’ र श्रृंखलाका पूर्वसंयोजक तथा सल्लाहकार स्व. लालबहादुर गुरुङलाई मरणोपरान्त ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार २०२५’ समर्पण गरिएको थियो।
उक्त शृङ्खलाका संरक्षक तथा चर्चित उपन्यास ‘किवाहाङ’का लेखक राजकुमार राईलाई ‘स्रष्टा र सिर्जना पुरस्कार २०२५’ ले सम्मान गरिएको थियो।
हङकङ डलर १ हजार १ सय ११ र ताम्रपत्र रहेका पुरस्कारहरू सभाध्यक्ष रमन गुरुङ र प्रमुख अतिथि अरुणा गुरुङको हातबाट प्रदान गरिएको थियो।
त्यसैगरी, हङकङबाट नवीनतम साहित्यिक कृति प्रकाशन गरेका साहित्यकार दाजु गुरुङकृत उपन्यास ‘निरजोया’, रमण गुरुङको कविता संग्रह ‘आकार हामीले हिँडेर आएको बाटोको’, जुनु रानाको कविता संग्रह ‘रातो नदी’, विशु समको गीत संग्रह ‘परदेशी भूमि’, चन्द्र मादेन ‘आन्छन्’को कथा संग्रह ‘आन्छन्का कथाहरू’ र बालिका बान्तावाको उपन्यास ‘प्याउली’का लागि कदरपत्र प्रदान गरिएको थियो।
नेपाली वाङ्मयको श्रीवृद्धि र साहित्यिक साझा शृङ्खलाको गतिविधि अगाडि बढाउन सहयोग गरेबापत द नेप्लिज एसोसिएसनका अध्यक्ष प्रदिप थापा, गैरआवासीय नेपाली संघकी उपाध्यक्ष अनु राई, हङकङ एकीकृत नेपाली समाज (हिन्स), हङकङ साहित्यिक साझा शृङ्खलाका संरक्षक दाजु गुरुङ, मेरो भोइस युनिभर्स सिजन-२ मा नेपालमा प्रस्तुति दिएर फर्किएकी गायिका बिन्नी लामा राई र बालकवि सुनिस्का याक्खालाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
साहित्यकार सुनिता गिरी, पूर्णिमा जी शाह, जुनु राना, बालिका बान्तावा, अरुणा शर्मा, सुन्दर गुरुङ आदिले आ-आफ्ना सिर्जना वाचन गरेको समारोहमा अतिथिको आसनमा रहेका कमल पौडेल, राजकुमार राई, टंक साम्बाहाम्फे, चन्द्र मादेन ‘आन्छन्’, डा.चुरा थापा, प्रदिप थापा, रिता गुरुङ र अरुणा गुरुङले शुभकामना मन्तव्यको क्रममा पुरस्कृत सर्जकहरूलाई बधाई दिँदै शृङ्खलाको योगदानप्रति प्रशंसा गरेका थिए।
Shares

प्रतिक्रिया