हङकङमा सम्पन्न दुई दौड प्रतियोगितामा नेपाली सहभागीको प्रदर्शन सन्तोषजनक रहेको छ।
‘फ्याट म्याक’ टाइटल ट्रेल र एक्सन एसिया इभेन्ट दौड गरी दुई वटा ट्रेल दौड प्रतियोगितामा सहभागी हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसन (एचकेनुट्रा) का आधा दर्जन धावकले उपाधि हात पारेका छन्।
फ्याट म्याक टाइटल ट्रेल दौड अन्तरगत ३५ किलोमिटरतर्फ भेषराज भट्टराई (रमेश) ले निर्धारित दूरी ०३:५९:२० मिनेटमा पार गर्दै समग्रमा चौथो र उमेर समूह (४६-५६) मा पहिलो स्थानमा हासिल गरेका थिए।
त्यसैगरी, कुवेरमनि लिम्बुले ०४:१४:३४ मिनेटमा पार गरी समग्र छैटौँ र उमेर समूहमा दोस्रो स्थान हासिल गरेका थिए।

एचकेनुट्राका अध्यक्ष वेदराज सेलिङ लिम्बु निर्धारित दूरी ०४:१५:०२ मिनेटमा पार गरी समग्रमा सातौँ र उमेर समूहमा प्रथम भएका थिए।
महिलातर्फ ३५ किलोमिटरको निर्धारित दूरी धाविका दिलु लिम्बुले ०४:२३:२३ मिनेटमा पारी गरी दोस्रो बनिन्। उनी उमेर समूहमा पनि दोस्रो नै भएकी थिइन्।

१४ किलोमिटर तर्फ चाहिँ सन्तोष तामाङ समग्र र उमेर समूह दुवैमा चौथो भएका छन्। उनले निर्धारित दूरी ०१:४४:०९ मिनेट पारेका गरेका थिए।
यसैगरी, राजकुमार राई उमेर समूहमा ५औँ भए।
प्रतियोगिता आइतबार बिहान ९:०० बजे सुरु भएको थियो।

शिङमुन ड्याम (रिजरभर) बाट सुरु भएको दौड गोर्खा पल्टन ताकको मेकेलेहोस ट्रेल सेक्सन ७ अन्तरगत लो वाइ, निडल हिल, ग्रासी हिल, लिडमिन पास, ताइमो सान सेरोफेरो हुँदै पुनः शिङमुनभित्रका बटरफ्लाई कन्ट्री पार्कबाट शिङमुन ड्याममा गई अन्त्य भएको थियो।
यो रुट काउलुन क्षेत्रभित्रका उत्कृष्ट पर्वतीय दृश्य अवलोकनसँगै काउलुन, चुनवान, शाम छेङ, ताइपो, शा तिन, ताइमेइ तुकका रमाइलो दृश्य नियाल्न सकिने पहाडी ट्रेल हो।
हङकङको मेकेलेहोस ट्रेल संसारकै धावकहरूका लागि प्रख्यात मानिन्छ।

आइतबार नै ताइलाम कन्ट्री पार्क (ताइतङ) मा पनि दौड प्रतियोगिता भएको थियो। एक्सन एसिया इभेन्ट आयोजक रहेको यो दौड १९ किलोमिटरको रहेको थियो।
जसमा उमेर समूहबाट तुलबहादुर गुरुङ प्रथम र टीका गुरुङ तेस्रो भएका थिए।
धावकद्वय पनि हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसनबाट सहभागी भएका हुन्।
Shares

प्रतिक्रिया