मूल्य अकासिएपछि हङकङका सुन पसलमा बढ्यो भीड

मूल्य अकासिएपछि हङकङका सुन पसलमा बढ्यो भीड

अप्रिल २०२४ मा मङककको एक सुन पसलमा ग्राहक (एससीएमपी)


नेपालखबर
फागुन २, २०८१ शुक्रबार ११:२१, हङकङ

यस हप्ता बहुमूल्य धातु सुनले कीर्तिमानी उच्च मूल्य कायम गरेपछि हङकङका सुन पसल भीड बढेको छ।

धेरैजसो हङकङवासीहरू सुन बेच्न र कोही किन्नका लागि गहना पसलमा धाएका हुन्।

सुनले उच्च मूल्य रेकर्ड राख्दै गर्दा नाफा कमाउने उद्देश्यका साथ धेरैले बेच्न चाहेका छन् भने कोही अझै बढ्ने आँकलनसहित किनेर राख्ने मनसायमा देखिएका छन्।

किन्नेको भीडमा बझ बढी त मुख्यभूमिका आगन्तुक छन्। उनीहरू विवाहको लागि सुन जोहो गर्न पसलमा पुगेका हुन्।

हङकङमा सातवटा खुद्रा पसल भएको फुकताई ज्वेलरी ग्रुप ग्राहकहरूको भीड सामना गर्नेहरूमध्ये एक हो। जहाँ सुन किन्नेभन्दा बेच्ने बढी आएका छन्।

‘गतवर्ष मेदेखि धेरै ग्राहक आफ्नो सुनका गहनालाई नगद गर्न आएका छन्,’ कम्पनीकी उत्पादन प्रबन्धक अनिता ली भन्छिन्, ‘तर, यसै समयमा किन्ने ग्राहक पनि उल्लेख्य नै आएका छन्। किन्नेमा विशेषगरी मुख्यभूमिका आगन्तुकहरू छन् जो विवाह गर्दैछन्।’

उनको भनाइलाई मान्ने हो भने विवाह गर्ने तरखरमा रहेका उनीहरू सुन अझै बढ्नेमा चिन्तित छन् र सुनका गहना किन्न हतार गरिरहेका छन्।

‘धेरै मानिसले मूल्य थप बढ्ने आशामा सुनका बार र सिक्काहरू किनिरहेका छन्,’ लीले थपिन्।

सुनको मूल्य बढ्दा गहना बेच्नेको दर बढ्नु स्वाभाविक रहेको धारणा राख्छन् हङकङ गोल्ड एक्सचेन्जका उपाध्यक्ष रोबर्ट ली वाई।

उनी अनुभव सुनाउँछन्, ‘जब सुनको मूल्य बढ्छ, ग्राहकहरूले आफूसँग रहेका गहना नगद गर्ने गर्छन्।’

स्थानीय सुनचाँदी बजारका जानकार वाई भन्छन्- मानिसहरूले केही वर्ष पहिले सुन किनेको भए अहिले राम्रो आम्दानी गर्न सक्थे।

यस वर्ष विश्व बजारमा सुनको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ। मंगलबार प्रतिऔँस (२८.३ ग्राम) २,९४२.७० अमेरिकी डलर पुगेको छ। यो कीर्तिमानी वृद्धि गतवर्षको २६ प्रतिशत वृद्धिभन्दा माथि छ जुन १४ वर्षमा सबैभन्दा ठूलो वार्षिक वृद्धि हो।

हङकङमा सुनको मूल्य मंगलबार प्रतिटेल (३७.९ ग्राम) २७,०४० हङकङ डलर छ। जुन गतवर्षको सुरुआतको तुलनामा ३५ प्रतिशत बढी हो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .