हङकङमा स्काफोल्डिङ दुर्घटनाका खबर बारम्बार आइरहन्छन्। पछिल्लो पटक मात्रै एकै दिन एउटै घटनामा ११ जना घाइते भए। सोमबार काइताकस्थित निर्माणस्थलमा स्काफोल्डिङ भत्किँदा ११ कामदार घाइते भएका थिए।
त्यस्तै, यही सालको दसैँको टीकाको भोलिपल्ट स्काफोल्डिङ निर्माण गर्ने क्रममा खसेर नेपालको धरानका खेम राईले ज्यान गुमाए।
निर्माण क्षेत्रमा स्काफोल्डिङ दुर्घटनाका समाचार धेरै नै आउने गर्छन्। सोमबार भएको दुर्घटनापछि चाहिँ स्काफोल्डिङमा प्रयोग हुने बाँसलाई प्रतिस्थापन गर्नुपर्ने र यथास्थितिमै रहनुपर्ने भन्ने बहस चलेको छ।
बाँसबाट बन्ने स्काफोल्डिङले दुर्घटना बढाएको हुँदा अब यो धातुबाट बनाइनुपर्ने एकथरिको तर्क रहेको छ। तर, अर्काथरिले भने बाँसबाट धातुमा प्रवेशमा गर्दैमा दुर्घटना नरोकिने तर्क गरेका छन्।
धातुको प्रयोगमा जाँदैमा निर्माण दुर्घटनाहरू रोक्न नसकिने उद्योगी समूहले बताएका छन्। बरु शताब्दी पुरानो बाँसको शिल्पलाई प्रतिस्थापन गर्दा ४ हजार रोजगारी खतरामा पर्ने उनीहरूको तर्क छ।
सोमबारको घटनामा ११ जना घाइते भएपछि औद्योगिक दुर्घटना पीडित समूहले बाँसलाई धातुले प्रतिस्थापन गर्न आह्वान गरेपछि शुक्रबार ‘बाम्बो स्काफोल्डिङ इन्डस्ट्री’का प्रतिनिधिले उक्त तर्क गरेका हुन्।
उद्योग प्रतिनिधिहरूले निर्माण प्रक्रियाभरि सुरक्षा जाँचलाई बलियो बनाउनु र कामदारहरूको ज्ञान बढाउनु नै प्रभावकारी समाधान हुने राय अगाडि सारे।
‘हामीले देखेका छौँ कि धेरैजसो स्काफोल्डिङ दुर्घटनाको कारण निर्माणको क्रममा अनुपयुक्त व्यवस्था हो,’ हङकङ तथा काउलुन बाँस स्काफोल्डिङ कामदार संघ (तुङ-किङ) का अध्यक्ष हो पिङले भने, ‘यो बाँसको संरचनात्मक समस्या भन्दा पनि निर्माणस्थलमा सुरक्षा नियमको समस्याबाट उत्पन्न हुन्छ।’ (एससीएमपी)
Shares

प्रतिक्रिया