आइतबार हङकङको पूर्वी न्यु टेरिटोरिजमा हाइकिङ गएकी महिलाको मृत्यु भएको छ। चुनौतीपूर्ण मार्गमा नेभिगेट गर्ने प्रयास गर्दा भिरालो पहाडबाट लडेर ६१ वर्षीया पदयात्रीको मृत्यु भएको हो।
अधिकारीहरूले आइतबार दिउँसो १:२० बजे माओन शान कन्ट्री पार्कमा महिला बेपत्ता भएको रिपोर्ट प्राप्त गरेको थियो। यसपछि सरकारी उडान सेवाको हेलिकप्टरमार्फत खोजी सुरु गरिएको थियो।
ती महिला २० जना पदयात्रीको समूहमा हाइकिङ गएकी थिइन्। उनीहरू वुकाइशा एमटीआर स्टेसनबाट पदयात्राका लागि निस्केका थिए भने माओन शान र ङाउङाक शानलाई जोड्ने स्काइलाइन मार्ग वा नेइतिन लेज मार्ग भनेर चिनिने मार्ग पार गरिरहेका थिए। जसलाई कठिन मार्गको रूपमा लिइन्छ।

प्रहरी स्रोतका अनुसार, घटनाक्रम हेर्दा बुढ्यौलीले छोएकी महिलालाई शारीरिक अवस्थाले पनि साथ नदिएको देखिन्छ। उनले भिरालो जमिनमा नेभिगेट गर्न मद्दत गर्ने डोरीमा आफ्नो पकड गुमाइन् र लडिन्।
घण्टौँसम्म उक्त क्षेत्रमा खोजी गरेपछि अग्नि नियन्त्रकहरूले भिरालोबाट ४० मिटर (१३१ फिट) तल एउटा रूखमा अचेत महिलालाई फेला पारेका थिए। अनि, साँझ ६:५० बजे सुरक्षित स्थानमा पुर्याए।
उनलाई चाइवानको पामेला युड नेदरसोल पूर्वी अस्पतालमा हेलिकप्टरद्वारा लगिएको थियो, जहाँ उनको मृत्यु पुष्टि भयो।
उच्चस्तरको कठिन मार्गको रूपमा लिइने नेइतिन लेज मार्ग उबडखाबड र चुनौतीपूर्ण भूभागको लागि परिचित छ। यस मार्गको धेरै खण्डमा पदयात्रीले दुवै हात र खुट्टा प्रयोग गर्न आवश्यक हुन्छ। (एससीएमपी)
Shares

प्रतिक्रिया