हङकङमा ३१ वर्षअघि आजकै दिन उद्‌घाटन भएको थियो ‘बिग बुद्ध’

हङकङमा ३१ वर्षअघि आजकै दिन उद्‌घाटन भएको थियो ‘बिग बुद्ध’

३१ वर्षअघि लान्ताउ टापुमा निर्मित बिग बुद्धको उद्घाटन समारोहका सहभागी (एससीएमपी)


नेपालखबर
पुस १४, २०८१ आइतबार १८:२१, हङकङ

हङकङमा ३१ वर्षअघि आजकै दिन अर्थात् २९ डिसेम्बर १९९३ मा ‘बिग बुद्ध’ को विशाल मूर्तिको उद्‌घाटन गरिएको थियो।

१९६९ मै पहिलो यस परियोजनाको अवधारणबारे घोषणा गरिएको भए पनि उद्‌घाटन चाहिँ १९९३ मा गरिएको हो भने पो लिन भिक्षुहरूले १९७३ मा यो परियोजनाको सपना देखेका थिए।

विश्वकै सबैभन्दा ठूलो आउटडोर कांस्य मूर्तिले चिनिने यो मूर्तिको लागत त्यतिबेला ६८ लाख डलर रहेको थियो।

साउथ चाइना मर्निङ पोस्टमा पहिलो पटक ३० डिसेम्बर १९९३ मा प्रकाशित लेख–

हङकङले हिजो धर्मको एटलसमा आफ्नो स्थान प्राप्त गर्‍यो। जहाँ १३ देशका भिक्षुहरूले लान्ताउको पो लिन मोनस्ट्रीमा स्थापित बुद्धको विशाल मूर्ति अनावरण गरे।

दुई घण्टाको समारोह हेर्न हजारौँको भीड लागेको थियो।

जब उद्‌घाटनको औपचारिक घण्टी बज्यो स्थानीय र विदेशी गरी १३ जना प्रख्यात भिक्षुले बौद्ध धर्मको पवित्र अवशेषहरूमध्ये एक- २,५०० वर्ष पहिले दाहसंस्कारबाट बाँकी रहेको बुद्धको शरीरको टुक्रा वेदीमा राखे।

कार्यक्रममा हङकङ बौद्ध संघका अध्यक्ष कक वोङले जप र प्रार्थनाको नेतृत्व गरेका थिए। साथै, पहाडको चुचुरोमा पुग्ने १० हजारमध्येमा गभर्नर क्रिस प्याटन, सिन्ह्वाको हङकङ शाखाका निर्देशक झोउ नान, चीनको बौद्ध संघका अध्यक्ष झाओ पुचु र क्यान्टो-पप स्टार एलन ताम विङ पनि थिए।

उद्‌घाटनपछि सबै उमेरका विश्वासी २६० सिँढी चढेर बुद्धको मूर्तिमा पुगे। यो मूर्तिको नाम बेइजिङ मन्दिरको नाममा तियान तान राखिएको छ।

विश्वको सबैभन्दा ठूलो आउटडोर कांस्य मूर्ति मानिने यो मूर्तिको लागत ६८ लाख डलर रहेको बताइएको छ।

पो लिन भिक्षुहरूले १९७३ मा यो परियोजनाको सपना देखेका थिए। २०२ कांस्य टुक्राबाट बनेको २५० टनको यस मूर्तिको एसेम्बल गर्न तीन वर्ष लाग्यो र १९८९ मा पूरा भयो। यो उत्तरतर्फ चीनतिर फर्किएको छ।

मूर्तिको लागि हङकङ र चीनका दाताहरूले पैसा दिएका थिए। जसमध्ये धेरै रकम दान गर्ने दाताहरूको नाम बुद्धको पाउमा अवस्थित काँसले बनेको कमलको पातमा कुँदिएको छ।

‘म बौद्ध होइन तर मूर्तिलाई समर्थन गर्न चाहन्थेँ,’ २० लाख डलर दान गरी नाम शिलामा नाम कुँदाएका पपस्टार तामले भने।

धेरैले उद्घाटन समारोहको राम्रो दृश्य हेर्नको लागि रातभर पर्खिरहेका थिए।

भाषणका क्रममा गभर्नर प्याटनले हङकङमा नयाँ स्थलचिह्न स्थापना  भएको बताए। निर्देशक झोउले हङकङमा डिजाइन गरिएको र मुख्यभूमिमा निर्मित मूर्ति उनीहरूको निकट सहयोगको फल र ‘चिनियाँ राष्ट्रको एकताको प्रतीक’ भएको बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .