हङकङका नेपाली बक्सरलाई चीनमा सानदार सफलता

हङकङका नेपाली बक्सरलाई चीनमा सानदार सफलता

बायाँबाट क्रमश: म्यानेजर जेसन लाउ, मिलन र निवेश घले


मगेन्द्र राई
पुस १४, २०८१ आइतबार १२:१९, हङकङ

बक्सिङ जगतमा उदियमान खेलाडी हङकङवासी नेपाली बक्सर मिलन घलेले आफ्नो व्यावसायिक भिडन्तमा शानदार जित निकालेका छन्।

नेपाली माइक टाइसनको परिचय बनाउँदै गरेका ‘नक आउट आर्टिस्ट’ घलेले शनिबार साँझ चीनको क्विडोङ सहरमा सम्पन्न भएको भिडन्तमा अनुभवी प्रतिद्वन्द्वी चीनका शुआइ वुलाई पराजित गरेका हुन्।

खेलपछि तीन निर्णायकले घलेलाई विजेता घोषणा गरेका थिए। उनले यो भन्दा अगाडिका तीन भिडन्तमा तीनवटै नकआउट जित निकालेका थिए। यो चौथो जित (४-०, ४ नक आउट)सँगै उनी अपराजित रहेका छन्।

यो भन्दा अगाडिका सबै भिडन्तमा नकआउट जित निकालिरहेको अवस्थामा यो पटक नक आउट भएन नि? भनी नेपालखबरले सोधेको प्रश्नमा घलेले भने, ‘यो पटक चीन जस्तो बक्सिङ खेलको समृद्ध इतिहास भएको अनुभवी प्रतिद्वन्द्वीविरुद्ध लड्न फरक रणनीति बनाएका थियौँ।

प्रतिद्वन्द्वीको लगातार आक्रामक मुक्कालाई निस्तेज पार्नु ठुलो चुनौती थियो। मैले त्यसको प्रत्याक्रमण गर्दै शक्तिशाली मुक्का प्रहार गर्नु थियो। तेस्रो राउन्डमा मेरो बडी सट प्रहारले निकै दबाब सिर्जना गर्‍यो।

नकआउट गर्न सक्ने सम्भावना पनि थियो। तर, त्यो जोखिमपूर्ण थियो। धैर्य र बुद्धिमतापूर्वक रिङ जेनेरलसिपको आधारमा जित निकाल्ने रणनीति अनुरुप अगाडि बढ्दा आशातीत नतिजा निस्कियो।’

कर्नरमा आफ्नै बक्सर भाइ पनि थिए। भिडन्तमा त्यसले कस्तो प्रभाव पार्‍योङ? भनी सोधिएको अर्को प्रश्नमा घले भन्छन्, ‘मेरो भाइ पनि व्यावसायिक बक्सर हो। ऊसँग मेरोभन्दा बढी अनुभव छ। त्यसमाथि हामीबीच सबै आनिबानी थाहा छ। निर्धक्कसँग आफ्ना कुरा सेयर गर्न सक्छौँ। जसले गर्दा थप आत्मबल बढ्छ अनि भिडन्तमा त्यसले सकारात्मक प्रभाव पार्छ। जित निकाल्न सहयोग पुर्‍याउँछ।’

मिलनका भाइ निवेश घले पनि व्यावसायिक बक्सर तथा प्रशिक्षक हुन्।

गतवर्ष हङकङमा भएको प्रतिस्पर्धामा ३० वर्षीय मिलनले प्रतिद्वन्द्वीलाई पहिलो राउन्डमै नकआउट गरेका थिए।

१४७ पाउन्ड वेल्टर वेट डिभिजनको उक्त भिडन्त ६ राउन्डको रहेको थियो। उनका प्रतिद्वन्द्वीसँग १२ व्यावसायिक भिडन्तको अनुभव थियो।

घले केही महिनापछि अर्को भिडन्त गर्दैछन्। वर्ल्डक्लास फाइटर बनेर नेपालको नाम चम्काउने चाहना रहेको उनले बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .