यात्रुहरूले सन् २०२५ को अन्त्यसम्ममा जुहाई र मकाउसँग जोड्ने पुलको हङकङ चेकपोइन्टबाट सहरको सबैभन्दा ठूलो इन्डोर मनोरञ्जन केन्द्रसम्म चालकविहीन सवारी साधनबाट यात्रा गर्न पाउने भएका छन्।
विमानस्थल प्राधिकरणका अनुसार सेवा सुरु भएपछि चेकपोइन्टबाट ११ स्काइज कम्प्लेक्ससम्मको यात्रामा केवल ३ मिनेट लाग्नेछ।
साथै यो सेवालाई सन् २०२८ सम्ममा तुङचुङसम्म विस्तार गरिने पनि प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक स्टिन यिउ सिउले ४० किलोमिटर प्रतिघण्टा (२५ माइल प्रतिघण्टा) को अधिकतम गतिमा यात्रा गर्ने १६ सिट क्षमताको स्वायत्त सवारी साधनले हङकङ-जुहाई-मकाउ पुलको स्थानीय चेकपोइन्टबाट केवल तीन मिनेटमा ११ स्काईज कम्प्लेक्ससम्म पुग्न सकिने बताए।
टर्मिनल २ मा अवस्थित ११ स्काईज कम्प्लेक्स हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको स्काइसिटीको हिस्सा हो।
‘यस सेवाको प्रारम्भिक चरण २०२५ को अन्त्यसम्ममा परीक्षण सञ्चालन सुरु गर्ने तालिका छ,’ यिउले भने, ‘जसमा सुरुमा २६ वटा स्वचालित सवारी साधन तैनाथ गर्ने योजना छ। हामीसँग पहिले नै हाम्रो प्रोटोटाइप तयार छ।’
चालकविहीन यातायात प्रणाली एयरपोर्टसिटी लिंकमा सञ्चालन हुनेछ। जुन १ खर्ब हङकङ डलर (१२.९ अर्ब अमेरिकी डलर) को एयरपोर्ट सिटी परियोजनाअन्तर्गत रहेको पैदल मार्ग र सवारी साधनको एकीकृत पुल हो। यो २०२६ देखि २०३१ को बीचमा चरणबद्ध रूपमा पूरा हुनेछ।
‘प्रारम्भिक चरणमा एक दिशामा प्रतिघण्टा पाँच सय जनाले यात्रा गर्न सक्ने लक्ष्य राखेका छौँ,’ यिउ थप्छन्, ‘यो संख्या एक हजार पुर्याउने योजना छ। जसको परिणामस्वरूप दुवै दिशामा कुल दुई हजार (प्रति घण्टा यात्रु) हुनेछन्।’ (एससीएमपी)
Shares

प्रतिक्रिया