हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसनले हङकङमा बसोबास गरिरहेका नेपाली समुदायको बालबच्चाको स्वास्थ्य हेरचाहअन्तरगत शारीरिक व्यायामसम्बन्धी कार्यक्रमको सुरुआत गरेको छ।
पाक्षिक रूपमा महिनाको दोस्रो र अन्तिम आइतबार गर्ने लक्ष्य राखी सुरुआत गरिएको कार्यक्रम हिजो याउमा तेईस्थित किङ्स पार्क स्पोर्टस् मैदानमा झन्डै २ दर्जन बालबालिका र तिनका अभिभावकबीच सम्पन्न भयो।
नेपाली अन्तर्राष्ट्रिय अल्ट्रा धावक अर्जुन कुलुङ राईको संयोजकत्वमा भएको उक्त कार्यक्रममा बच्चाहरूको स्वास्थ्य दैनिकीबारे अभिभावकलाई जानकारी गराइएको थियो।
‘हङकङको व्यस्त जीवनशैलीका कारण कतिपय बालबालिका अभिभावकबाट टाढा हुन बाध्य छन्,’ एसोसिएसनका अध्यक्ष वेदराज लिम्बुले नेपालखबरसँग भने, ‘हामीले यो कार्यक्रमको सुरुआत गर्नुको मुख्य उद्देश्य छुट्टीको दिन बालबच्चालाई कसरी गाइड गर्ने भनेर अभिभावकलाई सिकाउनु हो।’
अध्यक्ष लिम्बुका अनुसार दुई आइतबारमध्ये एउटामा खेल मैदानमा व्यायाम गराइनेछ भने अर्को आइतबार पहाडी मार्गमा पदयात्रा गराइनेछ।
यस कार्यक्रममा बालबालिकाको साथ आउन नसक्नेका लागि घरसम्मै बालबच्चा लिन र छोड्न जाने गरी व्यवस्था मिलाइएको पनि उनले बताए। आम मानिस स्वस्थ रही स्वस्थ जीवन जिउन पाउनुपर्छ भन्ने मान्यताका साथ कार्यक्रमको सुरुआत गरिएकोले यस कार्यमा सबैले साथ दिन उनले आग्रह गरे।
Shares

प्रतिक्रिया