क्रिसमस र नयाँ वर्ष नजिकिएसँगै हङकङ भित्रिने र बाहिरिने पर्यटकको चहलपहल बढ्न थालेको छ। मुख्यभूमि चीन र अन्य ठाउँका पर्यटक हङकङतिर आकर्षित भइरहेका छन् भने हङकङबाट बाहिरिनेको संख्या पनि उत्तिकै छ।
चीनको शान्दोङ प्रान्तकी वाङजिन आइतबार दिउँसो प्रेमीसँग पाँच दिनको छुट्टी मनाउन हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन्।
‘मेरो यस सहरसँग केही राम्रा सम्झना छन्। त्यसैले मैले मेरो प्रेमीलाई यहाँ ल्याउने निर्णय गरेँ। हङकङमा उनको यो पहिलो पाइला हुनेछ,’ स्वरोजगार वाङ भन्छिन्, ‘पाँच दिनको यस अवधिमा हामी भिक्टोरिया हार्बर वरिपरि घुम्ने, स्टारफेरी चढ्ने लगायतका पर्यटकीय क्षेत्रमा रमाउनेछौँ।’
चिमसा चोईमा रहेको आफ्नो होटलमा जान बस चढ्नुअघि उनले आगमन हलको बीचमा रहेको चम्किलो क्रिसमस रूखको तस्बिर खिचिन् र हङकङको विमानस्थललाई सुविधाजनक र सुन्दर भनेर वर्णन गरिन्।

हङकङको छिमेकी सहर शेन्जेनमा मार्केटिङ क्षेत्रमा काम गर्ने इभा नान सी बिदाको समयमा हङकङको वातावरणमा आफूलाई डुबाउनको लागि उच्च गतिको रेलबाट सहर आइपुगिन्।
मुख्यभूमिमा क्रिसमसको वातावरण त्यति राम्रो नदेखेकी उनीसँग विदेश जाने समय भएन। त्यसैले उनलाई हङकङ उचित विकल्प लाग्यो।
‘मेरा धेरै विदेशी ग्राहकले विदेशमा क्रिसमस कसरी मनाउने भनेर कुरा गरेका छन्। म आफैँ त्यो अनुभव गर्न चाहन्छु,’ २० वर्षीया नानले भनिन्, तर मसँग विदेश जान समय नभएकोले हङकङ एकदमै राम्रो विकल्प हो।’
उसो त उनीसँग बजेट पनि कम छ। त्यसैले उनको प्राथमिकतामा छिमेक नै रह्यो। उनलाई बन्दरगाह नजिकैको विशाल क्रिसमस रूखको अगाडि तस्बिर खिच्नु निकै रोमाञ्चक लाग्यो।
अध्यागमन विभागले डिसेम्बर २१ देखि जनवरी १ को अवधिमा हङकङको समुद्री, जमिन र हवाई चेक पोइन्टबाट १ करोड ३० लाखभन्दा बढी यात्रुको आवागमन हुने अनुमान गरेको छ।
विभागको पछिल्लो तथ्याङ्कअनुसार आइतबार राति ९ बजेसम्म पश्चिम काउलुन हाई-स्पीड रेल टर्मिनसको चेकपोइन्टले ११,९५७ जनाको नेट बहिर्गमन रेकर्ड गरेको छ। विमानस्थलमा २२,१७१ जनाको नेट बहिर्गमन भएको थियो।
२७ वर्षीय जर्मन पर्यटक टोबियास हाउबनर परिवारका पाँच जना सदस्यसहित हाई-स्पीड रेलमा ग्वाङ्झाउबाट हङकङको लागि प्रस्थान गरेका थिए।
उनीहरूले स्थानीय खानाको स्वाद लिन तीन दिन हङकङ र मकाउमा बस्ने योजना बनाएका थिए।
दुई हप्ताको पारिवारिक यात्रामा उनीहरूको अन्तिम गन्तव्य फिलिपिन्सको सिबु हो, जहाँ उनीहरूले प्रतिव्यक्ति दुई हजार अमेरिकी डलरको बजेटमा क्रिसमस र नयाँ वर्ष मनाउनेछन्।
कुराकानीका क्रममा हाउबनरले जर्मनीभन्दा हङकङ निकै तातो रहेको बताए। (एससीएमपीबाट अनूदित)
Shares

प्रतिक्रिया