नेपाल, भारतलगायत दक्षिण एसियाली घरेलु कामदारलाई हङकङमा तलब कम दिनु र दुर्व्यवहार गर्नु ‘सामान्य अभ्यास’ भएकोप्रति सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्।
एसियाली घरेलु कामदार युनियन महासंघ (एफएडीडब्लूयू) हङकङले आइतबार एक पत्रकार सम्मेलन गर्दै नेपाल र भारतका घरेलु कामदारलाई कम तलब दिइनु ‘सामान्य अभ्यास’ देखिएको भन्दै यसो नगर्न चेतावनी दिएको हो।
महासंघले बितेका दुई वर्षमा दक्षिण एसियाली घरेलु कामदारलाई कम तलब र दुर्व्यवहारसम्बन्धी आठ घटना ह्यान्डल गरेको बतायो। यी घटनामा कसैलाई पनि न्यूनतम स्वीकार्य ज्याला नदिइएको तथा साप्ताहिक बिदामा पूर्ण आराम नदिएको महासंघले जनाएको छ। हाल घरेलु कामदारको प्रतिमहिना न्यूनतम तलब ४,९९० हङकङ डलर छ।
घरेलु कामदारसम्बन्धी संस्थाहरूको छाता संगठन महासंघले सरकारलाई कामदारहरूको अधिकारको रक्षा गर्न थप काम गर्न आग्रह गरेको छ।
एउटा घटनाको उदाहरण दिँदै महासंघले भन्यो, ‘एउटा यस्तो चरम घटना छ, जसमा रोजगारदाताले कामदारलाई बिल्कुलै तलब दिएनन् र ४ महिनासम्म कुनै आराम पनि गर्न दिएनन्। कामदारलाई शारीरिक रूपमा आक्रमणसमेत गरियो। अन्ततः उनी त्यहाँबाट भागे।’
दक्षिण एसियाली घरेलु कामदारलाई हङकङ ल्याएर पहिलोपटक काम गर्ने कामदारलाई कम तलब दिइनु सामान्य कुरा बनेको नेपाली घरेलु कामदार संघ (यूएनडीडब्लू)का अध्यक्ष तथा महासंघका कोषाध्यक्ष चुनी थापा बताउँछन्।
‘पहिलोपटक काम गर्ने दक्षिण एसियाली घरेलु कामदारलाई कम तलब दिइनु सामान्यजस्तै भएको छ,’ थापा भन्छन्, ‘रोजगारदाताले सोच्छन् कि उनीहरूले कामदारलाई हङकङ ल्याएर कम तलब दिन सक्छन्। कामदारलाई हङकङमा न्यूनतम ज्याला सुरक्षा थाहा छैन, उनीहरूले रोजगारदाताले भनेको कुरा मात्र पालना गर्छन्।’
रोजगारदाताहरू कामदारले आफ्नो अधिकारको बारेमा थाहा नपाऊन् भन्ने चाहना राख्ने गरेको थापा बताउँछन्।
थापाका अनुसार एक कामदारलाई बिदाको दिनमा अरूसँग कुरा गर्न प्रतिबन्ध लगाइएको थियो। यतिसम्म कि रोजगारदाताले हरेक दिन उनको फोन जाँच गर्थे। ती कामदारले नेपाली घरेलु कामदार संघमा उजुरी दिएपछि ती रोजगारदाताले कामदारका साथीहरूलाई प्रमाण वा साक्षी बयानमा उपस्थित नहुन धम्की दिएका थिए।
कामदारप्रति पटक पटक दुर्व्यवहार गरे पनि कुनै कारवाही नहुँदा रोजगारदातामा हिम्मत बढ्ने गरेको संघकी उपाध्यक्ष सारा पुन बताउँछिन्।
‘हाम्रो सम्पर्कमा आएका रोजगारदाताले घरेलु कामदारलाई पहिलो पटक मात्र दुर्व्यवहार गरिरहेका छैनन्,’ पुन भन्छिन्, ‘उनीहरूलाई कानुन थाहा छ तर पनि यसलाई तोड्छन्। किनभने कुनै परिणाम हुँदैन, त्यसैले उनीहरू साहसी बन्छन्।’
नेपाली घरेलु कामदार संघद्वारा गरिएको २०१६ को सर्वेक्षणअनुसार लगभग आधा नेपालीभाषी घरेलु कामदारलाई न्यूनतम ज्यालाभन्दा कम तलब दिइएको थियो।
महासंघले ह्यान्डल गरेका मुद्दामध्ये अधिकांशमा दक्षिण एसियाली घरेलु कामदारलाई कम तलब दिइएको पाइएको एफएडीडब्लूयू बताउँछ।

मंगलबार श्रम विभागले हङकङ फ्रि प्रेस (एचकेएफपी)लाई दिएको इमेल प्रतिक्रियामा सन् २०२२ र २०२३ मा कम तलब, भुक्तानी नगरिएको वा ज्याला कटौतीसँग सम्बन्धित घरेलु कामदारसँग सम्बन्धित २२९ उजुरी परेका छन्। कामदारको राष्ट्रियताअनुसार छुट्याएर राख्ने चलन भने नभएको विभागले जनाएको छ।
‘यही अवधिमा कम तलब, भुक्तानी नगरिएको वा ज्याला कटौतीसँग सम्बन्धित ११ सुनुवाइमा आठ रोजगारदातालाई दोषी ठहराइएको थियो,’ विभागले भनेको छ, ‘यी घटनामा संलग्न कामदार फिलिपिन्स, इन्डोनेसिया, भारत, बंगलादेश र केन्याका थिए।’
अध्यागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२३ मा हङकङमा ३ लाख ५६ हजारभन्दा बढी घरेलु कामदार थिए, जसमा प्रायः फिलिपिन्स र इन्डोनेसियाका महिला छन्। उनीहरूलाई सहरका घरपरिवारमा खाना पकाउने, सरसफाइ गर्ने, बालबालिका तथा वृद्धवृद्धाको हेरचाह गर्ने काममा लगाइएको थियो।
घरेलु कामदारहरू हङकङका अन्य कर्मचारीभन्दा फरक श्रम नीतिको अधीनमा हुन्छन्। उनीहरूलाई हप्तामा एक दिन मात्र बिदा दिइन्छ। काम गर्ने निश्चित कार्यघणटा तोकिएको हुँदैन। उनीहरू आफ्नो रोजगारदाताको घरमा बस्नुपर्छ। यसलाई ‘लिभ-इन’ नियमले चिनिन्छ।
घरेलु कामदारलाई एउटा रोजगारदातासँगको काम छोडेर अर्को खोज्नका लागि पनि केही कठिनाइ छन्। जस्तै, सम्झौता पूरा नगर्नेहरूलाई आफ्नो देश फर्कनुअघि नयाँ रोजगारदाता खोज्न १४ दिनको समय दिइएको छ।
श्रम अधिकारका पक्षधरहरूले लामो समयदेखि यस नीतिको विरोध गर्दै आएका छन्। यति छोटो समयले दुर्व्यवहार गर्ने मालिकलाई छोड्नबाट घरेलु कामदारलाई निरुत्साहित गर्ने उनीहरूको तर्क छ।
सरकारले भने घरेलु कामदारलाई उनीहरूको भिसाभन्दा बढी समयसम्म बस्न र अवैध रूपमा काम गर्नबाट रोक्नको लागि यो नियम आवश्यक रहेको बताएको छ। (हङकङ फ्रि प्रेसबाट अनूदित)
Shares

प्रतिक्रिया