हङकङमा कान्छो तर विश्वासिलो र भरपर्दो छवि बनाइरहेको ‘पब्लिक इन्भेस्मेन्ट ग्रुप लिमिटेड’ ले दोस्रो साधारण सभा मार्फत सेयरधनीहरू लाई नाफा वितरण गरेको छ।
गत आइतबार जोर्डन, नाथन रोडस्थित चारतारे नाथन होटलमा आयोजित दोस्रो साधारणसभामा इन्भेस्टमेन्ट ग्रुपले आफ्ना सेयर सदस्यहरूलाई १२ प्रतिशत लाभांश वितरण गरेको हो। कार्यक्रममा नेपाल फाइनान्सका सीईओ धिरज कुमार राईको प्रमुख आतिथ्य रहेको थियो।
गतवर्ष प्रथम साधारणसभामा समेत १२ प्रतिशत मुनाफा वितरण गरेको थियो।
‘कम्पनीहरूलाई ब्रेक ईभन प्वाइन्ट मिट गर्न मात्र निकै वर्ष लाग्छ, त्यसमाथि कोभिड कहरले व्यापार व्यवसाय डामाडोल भएको अवस्थामा तपाईंहरूरुले यति चाँडै नाफामा जानू भो नि?’ भनी नेपालखबरले ग्रुपका अध्यक्ष लुपिन्द्र साम्पाङलाई सोधेको थियो।

जवाफमा उनले भने ‘यो सबै मेहनत, इमान्दारीता र जोखिम मोलाईको प्रतिफल हामीले माहुरी जस्तै मेहनत गर्यौं, ईमान्दारीताको साथ अगाडि बढिरहेका छौँ।’
उनलाई फेरि सोधियो– ‘हङकङमा थुप्रै वित्तीय संस्थाहरू सक्रिय छन्, प्रतिस्पर्धा कतिको छ? ग्रुपले प्रदान गर्ने सेवाहरू के कस्ता छन? ग्राहकहरू कुन समुदायका छन?’
जवाफमा अध्यक्षले भने ‘प्रतिस्पर्धाको त कुरै नगरौँ, यहाँ नेपालीहरूद्वारा सञ्चालित दर्जनौं वित्तिय संस्थाहरू छन्, हाम्रो ९० प्रतिशत ग्राहकहरू नेपालीहरूनै छन् भने १० प्रतिशत विदेशी छन्। हामी विभिन्न किसिमका कर्जाहरू, मोर्गेज, ब्यापार, सेयर, स्टक, प्रोपर्टी आदिमा लगानी गर्छौं, साथै आकर्षक ब्याज दिएर निक्षेप पनि संकलन गर्छौं।’

‘हङकङमा बिना धितो कर्जा दिईन्छ, ऋण फिर्ता नगर्नेहरुलाई ‘ह्यारस र टर्चर’ गर्न नपाईने कानुन छ, यो अवस्थामा लगानी डुब्ने जोखिम हुँदैन? भनी सोधेको अर्को प्रश्नमा उनले भने ‘जमाना स्मार्टनेसको हो, हामी एकै बास्केटमा सबै अन्डा राख्दैनौँ, हाम्रो लगानीमा डाईभर्सिटी छ, ईक्युटी एसेट राम्रो छ, हामी नाफामा छौँ, भविष्यमा लगानी बढाउँदै अनलाइन प्लाटफर्म, ई–कमर्श जस्ता क्षेत्रहरूसम्म पुग्ने हाम्रो दुरदर्शी लक्ष्य रहेको छ।’
हङकङमा बसोबास गरिरहेका नेपालीहरूको सीप र पुँजीलाई एकीकृत गरी सामूहिक व्यापार र व्यवसायमा अग्रसर गर्दै गराउँदै हङकङमा नेपालीहरुको आर्थिक स्थिती उकास्न सन् २०२० मा हङकङको कानुन मुताबिक उक्त वित्तिय संस्था स्थापना गरिएको हो।
हाल संस्थाले विभिन्न किसिमका कर्जा प्रवाह र निक्षेप संकलन गर्दै आएको छ। करिब ५० जना सेयर होल्डर रहेको उक्त संस्थाको चुक्ता पुँजी ५० लाख हङकङ डलर रहेको छ। यसको कार्यालय जोर्डनको फेरि स्ट्रीट स्थित बोस कमर्सियल बिल्डिङको ११औँ तल्लामा रहेको छ।

Shares

प्रतिक्रिया