हङकङमा गत शुक्रबार सम्पन्न ‘द नर्थफेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२४’ दौड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अर्जुन कुलुङ राईले दोस्रो स्थान हासिल गरेका छन्। उनले १०० किलोमिटरको निर्धारित दूरी ११ घण्टा ४८ मिनेट २७ सेकेन्डमा पूरा गरी दोस्रो स्थान सुरक्षित गरेका हुन्। अर्जुन फिलिपिन्सका विजेता जोन रे ओनिफाभन्दा केबल ८ मिनटले पछि परेका थिए।
उनी गतवर्ष यही दौडमा बाटो बिराएर आशातीत नतिजाबाट वञ्चित बनेका थिए। विजेता ओनिफा ११ घण्टा ४० मिनेट २३ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएका छन् भने युक्रेनका ओलेक्सी मेल्निक १२ घण्टा ४२ मिनेट ४८ सेकेन्डमा पार गरी तेस्रो भए।

प्रतियोगिता गत शुक्रबार रातको १० बजे फोङमा ओ, ताइपिस्थित लाम चुन विसिङ स्क्वायरबाट सुरु भई सोही स्थानमा आएर पूरा भएको थियो। रेस कोर्समा कुल ९ वटा चेक पोइन्ट रहेका थिए।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार हङकङ डलर नगद र ८ हजार हङकङ डलर बराबरको गिफ्ट भौचर तथा अन्य उपहार पाए भने दोस्रो हुनेले १० हजार हङकङ डलर नगद र ५ हजारको गिफ्ट भौचर तथा अन्य उपहार पाए। त्यस्तै, तेस्रो हुनेले ५ हजार हङकङ डलर नगद, ३ हजार हङकङ डलर बराबरको गिफ्ट भौचर र अन्य उपहार प्राप्त गरे।
हङकङका २ नेपाली पहिलो पटक टप टेनमा
प्रतिष्ठाको हिसाबले निकै उच्च मानिएको यस प्रतियोगितामा हङकङवासी दिनानाथ बगाले र यामनाथ लिम्बुले क्रमशः ७औँ र १०औँ स्थान ओगट्न सफल भएका छन्। दिनाले निर्धारित दूरी १४ घण्टा ६ मिनेट ५२ सेकेन्डमा छिचोले भने यामनाथले १४ घण्टा २२ मिनेट १० सेकेन्डमा छिचोले। पूर्वटपटेन फिनिसर नेपालखबरका सन्तोष तामाङले भने शरीरले साथ नदिएपछि बीचमै दौड त्यागेका थिए।
हङकङमा सम्पन्न १०० किलोमिटरमाथिका प्रतियोगितामा दिनाको यो उत्कृष्ट नतिजा हो। उनी यही वर्ष इन्डोनेसियामा भएको १६२ किलोमिटरको प्रतियोगितामा दोस्रो तथा मलेसियामा सम्पन्न एसियन ट्रेल मास्टर समूहगततर्फ पहिलो बनेका थिए।
हङकङमा धेरै वटा प्रतियोगितामा भाग लिनुभो, ती सबैलाई सम्झँदा यो प्रतियोगितालाई कसरी लिनुहुन्छ? भनी नेपालखबरले सोधेको प्रश्नमा दिनाले भने, ‘दर्जनौँ देश पुगेर दौडिएँ। अन्य देशमा यो भन्दा राम्रो नजिता ल्याएको छु तर हङकङमा भने यही नै मेरो उत्कृष्ट नतिजा हो। उमेरको हिसबले पनि झन्डै आधा शताब्दी पुग्न लागेको बेला आएको यो नतिजाले नेपाली युवा जमात मबाट अभिप्रेरित बन्नेछ भन्ने ठानेको छु। यसो भएमा मेरो मेहनत खेर नगएको सम्झनेछु।’

दिनाले यो वर्ष कोरिया, हङकङ, मलेसिया र इन्डोनेसिया गरी झन्डै एक दर्जन प्रतियोगितामा भाग लिइसकेका छन्। उनी आउँदो जनवरीमा हङकङमा हुने ग्रान्ड स्लाम अल्ट्रा रनमा सहभागी हुँदैछन्।
अर्जुन, दिना र याम हङकङ नेप्लिज अल्ट्रा ट्रेल एसोसिएसनको तर्फबाट सहभागी भएका थिए भने सन्तोष तामाङले नेपालखबर हङकङको तर्फबाट सहभागिता जनाएका थिए। अर्जुनलाई एसोसिएसनले नेपालबाट सम्पूर्ण खर्च बेहोरेर ल्याएको थियो। केही समय अगाडि स्थापना भएको उक्त संस्थाले हरेक वर्ष नेपालबाट धावक/धाविका ल्याएर प्रतियोगितामा सहभागी गराउने योजना रहेको सस्थाका अध्यक्ष वेदराज लिम्बुले नेपालखबरलाई बताए।

‘विदेशीले नेपाली धावक/धाविकालाई मौका दिइरहेको कुरालाई नकार्न सकिन्नँ, तर उनीहरूले उत्कृष्टहरूलाई मात्र प्रायोजन गर्छन्,’ अध्यक्ष लिम्बुले भने, ‘तर, हामी सम्भावना बोकेका तर मौका नपाएकाहरूलाई मौका दिन्छौँ। अर्थात् हामी प्रतिभाको खोजी गर्छौँ।’ आगामी वर्ष सम्भावना बोकेका महिला/पुरुष दुवै प्रतिभालाई ल्याउने उनले बताए।
नर्थफेस प्रतियोगितामा १४ किमि, ५५ किमि र १०० किमि व्यक्तिगत तथा समूहगतमार्फत दर्जनौँ देशका करिब साढे सत्ताइस सय महिला तथा पुरुष प्रतियोगीको सहभागिता रहेको थियो।
१०० किमि व्यक्तिगत ‘मेन इभेन्ट’को रूपमा रहेको थियो। जसको कटअफ समय २७ घण्टा थियो।
Shares

प्रतिक्रिया