‘जब इन हङकङ’ नामक फेसबुक पेजमा आएको जागिरको अफरलाई पछ्याउँदै उक्त पेजमा आबद्ध भएका दुई नेपाली र एक भारतीय ठगीमा परेका छन्।
घरमै बसेर काम गर्न सकिने भनेर गरिएको प्रस्तावमा विभिन्न प्रलोभन देखाई तीन जनाबाट १ लाख ४५ हजार हङकङ डलर ठगिएको हो।
ठगिनेहरू काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेल, झापाको दमकस्थित फाल्गुनन्द चोक र भारतको दार्जिलिङका हुन्। पीडितहरूको अनुरोधमा उनीहरूको नाम र हङकङको ठेगाना गोप्य राखिएको छ।
ठगिनेहरू २५ देखि ३० वर्ष उमेर समूहका छन्। तिनै जना महिला हुन् भने एउटै रेस्टुरेन्ट तथा बारमा काम गर्छन्- दुई जना फुल टाइम र एक जना पार्ट टाइमर। अनलाइनमा देखिएको विज्ञापनमा राम्रो जागिरको अफर आएको लागेपछि धेरै कमाउने आसमा लोभिएका उनीहरू अन्तत: ठगिए।
३० हजार हङकङ डलर गुमाएकी बुढानीलकण्ठकी पीडितले नेपालखबरसँग यसरी पीडा पोखिन्-
हामी दुवै जना एउटै बारमा काम गर्छौँ। हाम्रो दिनको खाना खाने समय प्राय: मिल्छ। साथीले यस्तो एउटा अन्लाइन मार्केट छ कोसिस गर्ने कि भनेर सुनाइन्। कुन हो भनेर मैले पनि जिज्ञासा देखाएँ। उही अघिल्लो दिन मैले पनि फेसबुकमा देखेको विज्ञापनवाला रहेछ। ल प्रक्रिया बुझौँ न त भनेर दुवै जनाले वेबसाइट हेर्न थाल्यौँ। पूरै हेर्न अलि समय लाग्ने जस्तो देखेपछि साँझ छुट्टीपछि बुझ्ने भनेर थाती राखियो।
छुट्टीपछि बसको यात्रामा सम्बन्धित नम्बरमा च्याट गर्यौँ। हाम्रो कामबारे अध्ययन गरेको छौ? भनेर सोध्यो। मैले आफूले बुझेको जति बताएँ।
पैसा ट्रान्सफर गरेर संसारभरिका महँगा होटलको विज्ञापन बिटिङ गर्ने अनि तिनै होटलले हामीलाई बुस्ट दिन्छन्। २/३ साइकल पूरा हुँदा १ हजारदेखि ३ हजार हङकङ डलरसम्म कमाइ हुने र त्यो आफ्नो वालेटमा जम्मा हुने बताइयो।
मैले उसैगरी अगाडि बढेँ। सुरुका २ दिन १५ सय को दरले वालेटमा पैसा जम्मा भयो।
तेस्रो दिन आइतबार थियो। अलि समय दिने निधो गरेर अनलाइनमा बसेँ। दिउँसो १ बजेबाट काम सुरु गरेँ। पहिलो साइकल पूरा गर्दा ७ हजार कमाइ भयो। एक दिनमा जम्मा ५ साइकल पूरा गर्न सकिने नियम बताइएको थियो।
अब बाँकी ४ साइकल थियो। दोस्रो साइकल सकिन लाग्दा १५ हजारको विशेष सम्झौता (एक्सक्लुसिभ डिल) को घण्टी बज्यो। काम रोकियो। त्यो रकम तिरेपछि ठूलो रकम वालेटमा जम्मा हुने भनियो। होला नि त भन्दै १५ हजार ट्रान्सफर गरेँ।
त्यसपछि लक खुल्यो र बिटिङ गर्दै गएँ। फेरि ९ हजार वाला आयो। अनि कन्ट्रोल लाइन भनिएकोले म्यासेज गर्यो, ‘सायद यो डिल तपाईँको अन्तिम हुन सक्छ अगाडि बढ्नुहोस्।’ समय ३० मिनेट मात्रै छ छिटो गर्नुहोस् भन्दै निर्देश गर्दैथियो।
ट्रान्सफर गरेर अगाडि बढेँ। रकम ट्रान्सफर गर्ने खाता नम्बर फरक फरक बैँकको आउँथ्यो। कुनै बेला बैँक अफ चाइनाको त कुनै बेला हाङसेङ बैँकको।
जब यो साइकल पनि सकिन लागेर ३०औँ अवस्थामा बिटिङ रन हुँदैथियो १३ हजारको अर्को बन्धन आयो। जे होला, यो अन्तिम पटक भनेर आँट गरेँ। रकम ट्रान्सफर गरेर अगाडि बढेको केहीछिनमै फेरि ५० हजारको अर्को सम्झौता आयो। यसपछि भनेँ ठगको फेला परेछु भन्ने महसुस भयो र काम रोकेँ।
प्रहरीमा रिपोर्ट गर्न जाँदा पो थाहा भयो, यस्ता ठगहरूको त बिगबिगी नै रहेछ। अनलाइनबाट यसरी ठग्नेहरू धेरैलाई पक्राउ गरिसकेको र तपाईँले थाहा पाउनुभएका अरू पनि कोही यसरी ठगिएका छन् भने कुनै संकोच नमानी रिपोर्ट गर्न भन्नू भनेर प्रहरीले भन्यो।
पहिलो साइकलमा ७ हजार कमाएर दोस्रोमा ३७ हजार बुझाएकी बुढानीलकण्ठकी यी महिलाले समग्रमा ३० हजार हङकङ डलर गुमाएको बताउँछिन्।
७० हजार हङकङ डलर गुमाएको दाबी गर्ने दमक निवासी महिलाको भनाइ यस्तो छ-
‘हामीसँग यस्तो काम छ, कोही इच्छुक सहकार्य गर्न चाहनुहुन्छ? कृपया वेबसाइट हेर्नुस्!’ ‘जब इन हङकङ’ नामको फेसबुक पेजमा एउटा पोस्ट देखेँ। पोस्टमा ह्वाट्सएप नम्बर पनि थियो।
त्यसपछि त्यो ह्वाट्सएप नम्बरमा म्यासेजमार्फत कुरा गर्न थालेँ। उनले आफू केटी भएको बताइन्। नाम पनि केटीकै थियो। तस्बिर पनि उच्च व्यावसायिक झल्काउने आकर्षक खालको थियो।
उनले परिचय, पेसा-व्यवसाय, शिक्षा आदि सोधिन्। जे हो त्यही बताएँ। ‘हामीले गर्ने काम भनेको संसारका महंगा होटललाई वेबसाइटद्वारा विज्ञापन पोस्ट गर्ने हो, त्यसो गरेबापत हामीलाई ती होटलले केही कमिसन दिन्छन्। काम गर्न केही दिन अप्ठ्यारो हुन सक्छ तर म गाइड गर्छु, चिन्ता गर्नु पर्दैन’ भनिन्।
काम खुला हुने समय बिहान ११ बजेबाट रातको ११ बजेसम्म भनिएको थियो। एक दिनमा तीन साइकल काम गर्न सकिने, काम गर्ने अवधि ५ घण्टा भनिए पनि ३ घण्टामा बुकिङ सक्न सकिने, संसारभरिका १५० देशका महँगा होटल स्क्रिनमा देखिने र त्यसमा हामीले क्लिक गर्दै जानुपर्ने बताइएको थियो।
३० वटा बुक (क्लिक) भइसकेपछि एक साइकल पूरा भएको मानिने र पैसा वालेटमा आउने, यसलाई आफ्नो खातामा तान्न अनुरोध गर्ने र अर्को साइकल सुरु गर्न सुझाव दिइने।
सुरुको साइकल पूरा गर्दा २/३ हजार हङकङ डलरसम्म वालेटमा जम्मा भयो। त्यसपछि ९ देखि १८ वटा होटललाई क्लिक गर्दाको बीचमा १५ सय, २ हजार वा सोभन्दा माथि ‘एक्सक्लुसिभ डिल’ भनेर आए। यति रकम ट्रान्सफर गरे दोब्बर तेब्बर कमाइ हुने नत्र काम अगाडि नबढ्ने भनेर म्यासेज देखियो।
जसोतसो दोस्रो साइकल पनि पार गरेर अघि बढेपछि झन् ठूलो ‘एक्सक्लुसिभ डिल’ आयो। यस पटक भने २, ५ हजारको होइन २५ हजार, ५० हजार, ७० हजारसम्मको आयो।
कन्ट्रोल लाइनसँग मलाई यति ठूलो रकम किन आयो? भनेर सोधपुछ गर्दा त्यो हाम्रो नियन्त्रणमा हुँदैन साइक्लिङ चल्दा २ पटकसम्म पर्छ, लगानी गर्नुहोस्, दोब्बर पैसा थपिएर वालेटमा आउँछ भनियो। के गरौँ गरौँ भन्ने दोमनसहित जब ट्रान्सफर गरियो वालेटमा जम्मा हुन त परको कुरा उल्टो एक लाखमाथिको देखा पर्छ!
तर, भाग्यवश म पछिल्लो ७० हजार ठगिनबाट भने बचेँ। ठूल-ठूलो रकम ट्रान्सफर भइरहेको देखेपछि बैँकबाट यति ठूलो रकम कहाँ केको लागि ट्रान्सफर हुँदैछ? भनेर म्यासेज आयो।
पैसा ट्रान्सफर हुन नसकेको कुरा कन्ट्रोल रुमलाई जानकारी गराउँदा ‘कोठा मर्मत गर्ने कम्पनीलाई ट्रान्सफर गर्दैछु भनेर भन्नू’ भनेर समेत सिकाइएको थियो। तर, बैँकले ट्रान्सफर रोक्का गरिँदिँदा अर्को ७० हजार डुब्नबाट जोगिएँ।
४५ हजार हङकङ डलर गुमाएकी दार्जिलिङकी महिलाले पनि प्रलोभनमा पारेर ठगेको दु:खेसो यसरी पोखिन्-
‘जब इन हङकङ’ नामको फेसबुक पेजमा एउटा जबको अफर गरिएको पोस्ट आयो। हामी सबैको चाहाना राम्रो जागिर पाए राम्रोलाई नै प्राथमिकता दिऊँ भन्ने हुन्छ नै।
राम्रो पाएपछि पुरानो काम छोड्न पनि कुनै आपत्ति रहेन। फेरि यो जागिर अफर गर्नेसँगको वार्तालापमा घरमै बसेर काम गर्न सकिने भन्ने कुरा आयो। हामीले गरिरहेको भन्दा नौलो प्रकृतिको काम देखेर कोसिस गरौँ न त भन्ने लाग्यो। अनि के हो कसो हो भनेर बुझ्न सुरु गरियो।
पहिले खाता खोल्न जरुरी हुन्छ भनियो। नाम र नम्बर दिएपछि हाम्रो नाम उनीहरूको ह्वाट्सएप ग्रुपमा देखियो। १४ जना रहेको एउटा ग्रुप थियो। त्यहाँ हामी बाहेक अरू चाइनिज नाम भएका थिए। सबैले कामको अपडेट अङ्ग्रेजीमा गरेको देखिन्थ्यो। साथै, हामीसँग सुरुमा बोल्ने व्यक्ति पनि यही ग्रुप कुराकानीमा देखियो।
ग्रुपमा उसले अन्यलाई गाइड गरिरहेको देखिन्थ्यो। कसैलाई आजको काम सकियो तिमी अब भोलिको लागि तयारी रहनु भन्दै त कसैलाई तिमी अब वालेटबाट आफ्नो खातामा पैसा ट्रान्सफर गर भनेको पाइन्थ्यो। यत्तिकैमा मलाई काम दिइयो। मैले उसको गाइडलाइन पछ्याउँदै काम सुरु गरेँ। सुरुको दिन ४ घण्टा काम गर्न लगाइयो। १५ सय हङकङ डलर कमाइ भएको थियो।
दोस्रो दिन उसैगरी काम सुरु भयो। त्यो दिन २ हजार जम्मा भयो तर समय घट्यो। अघिल्लो दिन ४ घण्टा बढी समय खर्चिएको भोलिपल्ट २ घण्टा पनि नपुग्दै २ हजार डलर कमाइ भयो।
संसारका महंगा होटल वेबसाइटमा देखिन्छ विज्ञापनका लागि त्यसलाई क्लिक गर्दै जाने र १५० वटा क्लिक भइसकेपछि ३ साइकल पूरा हुन्छ, यो नै एक दिनको प्रोग्राम हो भनिएको थियो। त्यो प्रोग्राम वा कामका लागि खर्चिने समय २ देखि ५ घण्टा हो भनिएको थियो।
यसपछि तेस्रो दिनमा प्रवेश गरियो। वेबसाइटमा बिटिङ गर्न लगाइयो तर त्यो दिन अलि फरक प्रकारको सिस्टम, अभ्यास गर्ने बन्न थाले। हामीलाई त्यसै कौतुहल थियो, जसो जसो भन्छ उसैगरी हुन्छ हुन्छ भनियो।
पैसा उसैगरी जम्मा हुने तर ठूलो रकम आउने भन्न थाल्यो। १ हजार डलरको फाइल खरिद गर्न लगाइयो। मैले किनिहालेँ। त्यसपछि सिस्टम सुरु भयो। ३० वटा होटल क्लिक गर्दा ६ हजार डलर खातामा आयो।
आफ्नो १ हजार लगानीले ५ हजार ४५ मिनेटमै आम्दानी भयो। अनि, गाइडलाइनमा बस्नेले ‘अघिल्ला दिनहरूको सरल कि आजको?’ भनेर सोध्यो।
समूहका प्राय: सबैले आजको सजिलो भन्ने जवाफ दिए। एक जनाले म १० हजारको खेल्न सक्छु? भनेर सोध्यो। अर्कोले म २५ हजारको खरिद गरेर काम गर्न चहान्छु, मसँग २ साइकल बाँकी छ भनेर भन्यो।
त्यसपछि लगानी गरिरहेको र आम्दानी पनि हुँदै गएको देखियो। यत्तिकैमा गाइड गर्नेले मलाई पनि तिमी कतिको प्रोग्राम किन्छौ? भनेर सोध्यो। अब काम नभनेर प्रोग्राम, सिस्टम भन्न थालिएको थियो।
म पनि जोसमा थिएँ। अघिल्ला २ दिनको काम गरेको कमाइ खातामा १० हजार माथि नै जम्मा भइसकेको थियो। गएछ भने त्यही जान्छ भन्ने सोचले १० हजारको किन्छु भनेँ।
१० हजार ट्रान्सफर गरेर काम सुरु गरेँ। ५/६ वटा होटल क्लिक के गरेको थिएँ २५ हजारको विशेष सम्झौता (एक्सक्लुसिभ डिल) भन्ने आयो। त्यो रकम ट्रान्सफर गरेर खेले दोब्बर कमाइ हुने कुरा गरियो।
म के गरौँ के गरौँ भइरहेको थिएँ, ३० मिनेटभित्र ट्रान्सफर नभए अगाडिको लगानी पनि डुब्ने भनियो। यतिमै चित्त बुझाउने हो भने खाता बन्द गराइने तर अगाडि बढ्ने हो भने एक्सक्लुसिभ डिलमा प्रवेश गर्नैपर्ने कुरा आयो।
लौ त नि भनेर अगाडि बढेँ झनै ठूलो रकमसहितको ‘एक्सक्लुसिभ डिल’ भनेर आउँछ! ३० हजारदेखि ७० हजारसम्मका डिल आए। यसपछि बल्ल ठगहरूको फन्दामा रहेछु भन्ने बोध भयो।
अनि, प्रहरी सम्पर्क केन्द्रको आपत्कालीन नम्बर ९९९ मा फोन गरेँ। पैसा ट्रान्सफर गर्ने काम तत्काल रोकी आफू बस्ने क्षेत्रको प्रहरी कार्यलयमा गएर रिपोर्ट दिनु भन्ने सल्लाह दिइयो। यसबारे जनचेतना दिने काम पनि गर भनियो।
प्रहरी कार्यलय गएर निवेदन दिएको छु। बीच-बीचमा बुझ्ने क्रममा अनुसन्धान अगाडि बढिरहेको तर गिरोह पक्राउ गर्न नसकिएको कुरा आउँछ। १ महिना भयो निवेदन दिएको। म यसरी ठगहरूबाट पीडित भएको छु!
उनले प्रहरीलाई बुझाएको निवेदनमा ४४ हजार ९ सय हङकङ डलर गुमाएको उल्लेख छ।
Shares

प्रतिक्रिया