आइतबार बिहान हङकङबाट जापानको फुकुओकाका लागि उडेको एक विमानलाई ताइपेई डाइभर्ट गरिएको छ। इन्धन चुहावटको आशंकामा हङकङ एयरलाइन्सको एचएक्स६४० लाई ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९:३० बजे प्रस्थान गरेको उक्त विमान दिउँसो फुकुओका विमानस्थलमा अवतरण गर्ने तालिका थियो। विमान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार उक्त उडान स्थानीय समयअनुसार दिउँसो १:५५ बजे फुकुओकामा अवतरण हुनुपर्ने थियो।
तर, चुहावटको समस्यापछि विमानलाई ताइपेईतर्फ डाइभर्ट गरिएको थियो। विमान त्यहाँ अवतरण हुनुभन्दा केही समयअघि यात्रुलाई इन्धन चुहावट भएको जानकारी दिइएको थियो।
फुकुओका जानुपर्ने विमान ताइपेईतर्फ यु-टर्न भएपछि सञ्चारमाध्यमको जिज्ञासामा हङकङ एयरलाइन्सले ‘प्राविधिक समस्या’का कारण उडान डाइभर्ट भएको प्रतिक्रिया दिएको छ।
साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘पोस्टको प्रश्नको जवाफमा हङकङ एयरलाइन्सले ‘प्राविधिक समस्या’ का कारण उडान डाइभर्ट गरिएको र असुविधाको लागि माफी मागेको बतायो।’
विमानमा चालक दलका १३ सदस्य र २८३ यात्रु थिए। ‘विमानले आफ्नो यात्रा जारी राख्नुअघि पूर्ण निरीक्षणको लागि सावधानीपूर्वक अवतरण गरियो,’ क्यारियरका प्रवक्तालाई उद्धृत गर्दै पोस्टमा उल्लेख छ।
प्रवक्ताका अनुसार विमान दिउँसो १२:०७ बजे ताइपेईमा सकुशल अवतरण भएको थियो। यात्रुका लागि स्थानीय यातायात र बस्नका लागि होटलको व्यवस्था मिलाइएको थियो।
Shares

प्रतिक्रिया