हङकङमा यतिखेर स्ट्यान्डबाइ संकेत नम्बर १ लागु छ। आँधी मान-यी हङकङबाट ८ सय किलोमिटरको दूरीभित्र प्रवेश गरेको अनुमानसहित अब्जर्भेटरीले बिहान टाइफुन चेतावनी संकेत नम्बर १ जारी गरेको हो।
बिहान ६:४० मा जारी गरिएको यो चेतावनी संकेत कम्तीमा आज बेलुका ६ बजेसम्म लागु रहने पछिल्लो बुलेटिनमा उल्लेख छ। दिउँसो १२:४५ मा अद्यावधिक यस बुलेटिनमा आँधी मान-यी १ बजेसम्म हङकङबाट ५५० किमी दक्षिणपूर्वमा आइपुग्ने अनुमान गरिएको थियो। बिहान ८ बजे यो ६२० किमी दक्षिणपूर्वमा थियो।
मान-यी दक्षिणी चीनको तट नजिक पुगेपछि र यो र उत्तरपूर्वी मनसुनको संयुक्त प्रभावमा मंगलबार ग्वान्दोङको तटमा कडा हावा चल्ने बताइएको छ। त्यस्तै, आज रातिदेखि भोलि बिहानसम्म भिक्टोरिया हार्बरमा ज्वारभाटा चल्ने र समुद्रमा पानीको सतह करिब ३ मिटर माथि रहनेछ।
मान-यीले आज हङकङबाट ४ सय किलोमिटरको दूरी कायम गर्ने बताइएको छ। यसर्थ, आँधी र पर्ल नदी मुहानबीचको दूरी, यसको तीव्रता तथा स्थानीय हावाको अवस्था परिवर्तनका आधारमा आज रातदेखि भोलि बिहानसम्ममा कडा हावा संकेत तम्बर ३ जारी गर्न सकिने अब्जर्भेटरीले जनाएको छ।
Shares

प्रतिक्रिया