हङकङमा दुई दिने ‘बहुसांस्कृतिक कार्यस्थल निर्माण रोजगार मेला’ आजदेखि सुरु भएको छ। विशेषगरी जातीय अल्पसंख्यक समुदायलक्षित यो मेलामा ३१ सयभन्दा बढी रिक्त पद उपलब्ध हुनेछन्।
श्रम विभाग (लेबर डिपार्टमेन्ट-एलडी) को आयोजनामा डेमोक्रेटिक एलायन्स फर द बेटर एन्ड प्रोग्रेस अफ हङकङ (डीएबी) एथ्निक माइनोरिटिज कमिटी सह-आयोजक रहेको यस मेला मङककको म्याकफर्सन स्टेडियममा दुई दिनसम्म चल्नेछ।
मेलामा प्रमुख पाँच अनुशासन सेवाका संस्थासहित करिब ५० संस्थाले रोजगारीको प्रस्ताव गर्नेछन्। प्रमुख पाँच सेवामा सुधार सेवा विभाग, भन्सार, अग्नि सेवा विभाग, प्रहरी बल र अध्यागमन विभाग रहेका छन्।
इञ्जिनियर, लेखा अधिकृत, विमान मर्मत प्राविधिक प्रशिक्षार्थी, अनुशासित सेवा, अतिथि सेवा अधिकारी, गोल्फ अपरेसन परिचर, फिटनेस संयोजक लगायतका कामको लागि हरेक दिन २५ संस्थाले तत्काल भर्तीका लागि बुथ स्थापना गर्ने छन्।
मेलाबाट पूर्ति गरिने लगभग ८० प्रतिशत रिक्त पद पूर्णकालिक हुनेछन्। यी पदको मासिक तलब १३ हजारदेखि २१ हजार हङकङ डलर रहेको छ।
यी पदमध्ये धेरैजसोमा शैक्षिक योग्यता माध्यमिक सात शिक्षा तह वा यो भन्दा कम रहेको छ भने लगभग ५८ प्रतिशत पदमा कार्य अनुभव आवश्यक पर्ने छैन।
जागिर खोज्नेहरूले विभागको वेबसाइट www.jobs.gov.hk मार्फत वा श्रम विभागको बुथबाट आफ्नो आवेदन बुझाउन र सेवाको बारेमा सोधपुछ गर्न सक्नेछन्। वेबसाइटमा नेपाली, हिन्दी तथा उर्दू भाषामा व्याख्याको सेवा पनि उपलब्ध रहेको छ। डीएबी जातीय अल्पसंख्यक समितिले जातीय अल्पसंख्यकहरूका लागि सहयोग सेवा र प्रशिक्षण पाठ्यक्रम सेवा दिनेछ। आवेदनकर्ताले तत्काल अन्तर्वार्तामा सामेल हुन पाउने छन्।
मेला बिहान ११ बजेदेखि बेलुका ५:३० बजेसम्म चल्नेछ। बिहीबारसम्म चल्ने मेलामा प्रवेश नि:शुल्क गरिएको छ। मेलामा जान चाहनेले ५ बजेभित्र प्रवेश गरिसक्नु पर्नेछ।
Shares

प्रतिक्रिया