हङकङ अब्जर्भेटरीले शनिबार दिउँसो जारी गरेको टी३ संकेत आइतबार बिहान टी१ मा झारेको छ। टाइफुन यिनक्सिङ कमजोर बनेको र हङकङबाट टाढिदै गएको भन्दै आज बिहान १०:२० मा कडा हावा संकेत नम्बर ३ लाई नम्बर १ मा प्रतिस्थापन गरिएको हो।
पछिल्लो समय हङकङबाट दक्षिणपश्चिम ट्र्याक गरिरहेको र आँधीले हङकङलाई खतरा नबनाउने निश्चित भएपछि टी१ संकेत रद्द गरिने अब्जर्भेटरीले जनाएको छ।
‘पछिल्ला केही घण्टामा यिनक्सिङले हङकङबाट दक्षिणपश्चिमतर्फ ट्र्याक गरिरहेको छ,’ बिहान ११:४५ मा अद्यावधिक बुलेटिनमा अब्जर्भेटरीले भनेको छ, ‘स्थानीय वायु विस्तारै कमजोर हुँदै गएको छ। जब आँधीले हङकङलाई खतरा बनाउँदैन, अब्जर्भेटरीले स्ट्यान्डबाइ संकेत नम्बर १ रद्द गर्नेछ।’
बुलेटिनका अनुसार हङकङमा अझै केही वर्षा भने हुनेछ। साथै, अपतटीय क्षेत्र र उच्च जमिनमा कहिलेकाहीँ बलियो हावा पनि चल्नेछ।
अब्जर्भेटरीलेले समुद्रमा छाल आउन सक्ने भन्दै जनतालाई तटीय क्षेत्रबाट टाढा रहन र पानीसम्बन्धी खेलमा संलग्न नहुन सल्लाह दिएको छ।
Shares

प्रतिक्रिया