सडकमा अवैध तरिकाले कार दौड प्रतियोगिता गर्ने १४ जनालाई हङकङ प्रहरीले पक्राउ गरेको छ। उनीहरूका साथबाट दौडमा प्रयोग गरिएका १४ वटा सवारी साधन पनि जफत भएका छन्।
प्रहरीका अनुसार २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म शृङ्खलाबद्ध छापा मार्ने क्रममा पक्राउ परेका सवारी चालकहरूले रुट ट्विस्क, चुनमुन रोड र टोलो राजमार्गलगायत सहरका मुख्य सडकमा दौड प्रतियोगिता गरेका थिए।
पक्राउ परेकाहरू २० देखि ३३ वर्षसम्मका पुरुषा हुन्। उनीहरूको दावी अनुसार पक्राउ परेकाहरू पेसाले केही शिक्षक, कोही नर्स त कोही व्यावसायिक चालक हुन्।
प्रहरीले छापा मार्ने क्रममा रुट ट्विस्कको साँघुरो र घुमाउरो खण्डमा केही सवारी साधन १३५ किलोमिटर प्रतिघण्टाको गतिमा थिए। जबकि यो सडकको गति सीमितता ५० किलोमिटर प्रतिघण्टा हो।
त्यस्तै, चुनमुन राजमार्ग र तिङकाउ ब्रिजमा गुडेका सवारी साधन १५७ किलोमिटर प्रतिघण्टाको गतिमा थिए जबकि यहाँको गति सीमितता ८० किलोमिटर प्रतिघण्टा हो।
प्रहरी प्रवक्ताका अनुसार दौडमा सामेल सवारी साधन एकअर्कालाई उछिन्ने ध्याउन्नमा थिए। यस प्रकारको गतिविधिले अन्य सवारी तथा चालकलाई खतरामा पार्ने भन्दै प्रवक्ताले उनीहरूको आलोचना गरे।
पक्राउ परेका सबैलाई जमानत छाडिएको प्रहरीले जनाएको छ। उनीहरूका सवारीसाधन भने जाँचका लागि नियन्त्रणमा छन्। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया