हङकङमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु

हङकङमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु

कारको ठक्करबाट १९ वर्षीया नेपाली विद्यार्थीको निधन भएको हो (द स्ट्यान्डर्ड)


नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार २२:२, हङकङ

हङकङको युनलङमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको छ। बिहीबार बिहान कलेज जाने क्रममा कारले ठक्कर दिँदा १९ वर्षीया छात्राको मृत्यु भएको हो।

बिहान ८ बजेतिर अनलक रोडमा बाटो पार गर्ने क्रममा किशोरीलाई कारले ठक्कर दिएको थियो। कार ३० वर्षीय चालकले हाँकेका थिए। कार क्यासल पिक रोडतर्फ जाँदै थियो।

कारले किशोरीलाई ठक्कर दिएपछि घटनास्थल पुगेका स्वास्थ्यकर्मी तथा प्रहरीले उनलाई बेहोस अवस्थामा अस्पताल पुर्‍याएका थिए।

सुरुमा उनलाई पोकओइ अस्पताल लगिएको थियो। पछि चुनमुन अस्पताल सारियो। जहाँ उनको शल्यक्रिया गरिएको थियो। तर, उनलाई बचाउने प्रयास सफल हुन सकेन। अस्पताल स्रोतका अनुसार उनको दिउँसो २:०६ बजे मृत्यु भयो।

स्थानीय सञ्चारमाध्यम डिमसम डेलीका अनुसार कारको ठक्करबाट मृत्यु हुनेमा लिसा नामकी नेपाली विद्यार्थी हुन्। 

पीडित किशोरीकी दिदी जिसालाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार उनीहरू दुवै जना हङकङमै जन्मेका हुन्। ताइवाइस्थित ओलङ्गन विश्वविद्यालयमा डिप्लोमा तहमा अध्ययनरत लिसा कलेज जाने क्रममा दुर्घटनामा परेकी थिइन्।

दुई छोरी र आमाबाबु गरी ४ जनाको यो नेपाली परिवारको युनलङमा बसोबास छ। पीडित युवतीकी बुवा म्यानुअल कामदार हुन् भने आमा रेस्टुरेन्टमा काम गर्छिन्।

युयुङ उपनाम गरेका कार चालक भने सकुशल छन्। चिनियाँ मूलका उनलाई खतरनाक तरिकाले सवारी साधन चलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। चालकले ट्राफिक बत्तीको अवज्ञा गरेको आशंकमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलका प्रत्यक्षदर्शीलाई सम्पर्कमा आउन समेत आह्वान गरेको छ। जसका लागि प्रहरीको हटलाइन ३६६१ ३८०० मा सम्पर्क गर्न सकिने बताइएको छ।

हङकङको कानुनअनुसार गम्भीर शारीरिक हानि वा मृत्यु हुनेगरी सवारी साधन चलाएको अपराधमा दोषी ठहरिएमा ७ देखि १० वर्षसम्म कैद र २ देखि ५ वर्षसम्म सवारी साधन चलाउन अयोग्य ठहरिन सक्छ। साथै, अपराधीलाई अधिकतम ५० हजार हङकङ डलरसम्म जरिवाना हुन सक्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .