यस पटकको ‘मकाउ फुड फेस्टिवल’मा नेपालीको पनि हुनेछ सहभागिता, यी कलाकारले दिनेछन् सांगीतिक प्रस्तुति

यस पटकको ‘मकाउ फुड फेस्टिवल’मा नेपालीको पनि हुनेछ सहभागिता, यी कलाकारले दिनेछन् सांगीतिक प्रस्तुति

नैनाकला, विश्राम, संगीता, कुशल, सम्झना र इमबहादुर (बायाँबाट क्रमश:) ले २१ नोभेम्बरको साँझ नेपालीका तर्फबाट प्रस्तुति दिनेछन्


विपेन्द्र घिमिरे
कात्तिक २३, २०८१ शुक्रबार १२:९, काठमाडौँ

मकाउमा २४औँ मकाउ फुड फेस्टिवल १५ नोभेम्बरदेखि १ डिसेम्बर (३० कात्तिकदेखि १६ मंसिर)सम्म हुँदैछ। मकाउ टावरको नजिकै रहेको साइभ्यान लेक स्क्यारमा हुने यस महोत्सवमा नेपाली समुदायले ‘नेपाली भेषभूषा र कला संस्कृतिको प्रचार-प्रसार, पर्यटन प्रवर्द्धनमा हाम्रो योगदान र अभियान’ नाराका साथ भाग लिँदैछ। यो नेपाली समुदायबाट पहिलो औपचारिक सहभागिता हुनेछ। जसमा ग्लोबल गैरआवासीय नेपाली संघको पहल र समन्वय रहनेछ। ‘मकाउ फुड फेस्टिवल’ मकाउ सरकारद्वारा आयोजना हुने महोत्सव हो।

दुई हप्तासम्म चल्ने यस महोत्सव शुक्रबारदेखि आइतबारसम्म दिउँसो ३ बजेदेखि राति १२ बजेसम्म र सोमबारदेखि बिहीबारसम्म दिउँसो ४ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ। महोत्सवमा हरेक बेलुका ७ देखि राति १० बजेसम्म सांगीतिक प्रस्तुति रहनेछन्। जसमध्ये महोत्सवको सातौँ दिन अर्थात् २१ नोभेम्बरको राति ८:१५ देखि ८:४५ बजेसम्म नेपाली कलाकारको प्रस्तुति रहनेछ।

महोत्सवमा नेपाली समुदायबाट पहिलो पटक नृत्य एवं गायन प्रस्तुति हुन लागेको लामो समयदेखि मकाउमा रहेका पूर्ण गुरुङ बताउँछन्। गुरुङ यस सांगीतिक साँझको व्यवस्थापनमा खटिएका छन्। उनी गैरआवासीय नेपाली संघ, मकाउका पूर्वअध्यक्ष पनि हुन्।

अगस्टसम्मको तथ्यांकअनुसार मकाउमा नेपालीको संख्या ३ हजार ७ सय १३ रहेको छ। यीमध्ये धेरै नेपाली सुरक्षा गार्डको रूपमा कार्यरत छन्। यहाँ सन् १९९६ देखि नेपालीहरू रोजगारीका लागि आएको पाइन्छ।

मकाउमा नेपालीहरूका विभिन्न संघसंस्था गठन भएका छन्। यिनै संघसंस्थामार्फत नेपालीहरू आफ्नो चाडपर्वमा संगठित हुने परम्परा रही आएको छ।

‘स्थानीय एवं विदेशी समुदायमा नेपाली कला, संस्कृति एवं भेषभूषालाई प्रचारप्रसार गर्न महोत्सवले ठूलो अवसर प्रदान गर्दछ,’ गुरुङले नेपालखबरसँग भने, ‘यसले एकातिर नेपालीहरू श्रमिक मात्र होइनन् भन्ने सन्देश दिन्छ भने अर्कोतिर हाम्रो देशको पर्यटन प्रवद्र्धनमा पनि योगदान दिन्छ।’

२१ नोभेम्बरको सांगीतिक साँझमा गोरखा आरुघाटका विश्राम गुरुङले ‘कस्मिरे पछ्यौरी’ बोलको लोकदोहोरी गीतलाई बाँसुरीको धुनमा प्रस्तुत गर्ने छन्। गुरुङ सन् २००९ बाट ओसेन्स क्यासिनोमा कार्यरत छन्।

त्यस्तै, धनकुटा, हिलेकी संगीता खनालको पनि यस साँझमा सहभागिता रहनेछ। सन् २०१७ देखि मकाउमै रहेकी खनालले ‘आशा जिन्दगी’ नामको टेलिसिरियलमार्फत आफ्नो कला दर्शकसामु पस्किसकेकी छन्। उनको यो टेलिसिरियल युट्युबमा हेर्न सकिन्छ। उनले नेपालमा छँदा पनि रेडियो नाटकमा आवाज दिने गरेकी थिइन्। गायन र नृत्यमा पनि रुचि राख्ने खनालले यस साँझमा नृत्य प्रस्तुत गर्नेछिन्।

भक्तपुरकी सम्झना तमखु श्रेष्ठले पनि नृत्य प्रस्तुत गर्ने छन्। श्रेष्ठ सृजना मिडियाले सन् २०१६ मा आयोजना गरेको अल्टिमेट माेडल नेपाल पिजेन्टकी विजेता हुन्। उनी विइन क्यासिनो मकाउमा कार्यरत छन्।

यसैगरी, गार्ड फोर्स कम्पनीमा कार्यरत गोरखाको राम्चे थलाजुङका कुशल गुरुङले गायनमार्फत मनोरञ्जन दिलाउनेछन्। सन् २०१३ देखि मकाउमा रहेका गुरुङ ‘साधना जीवन नै संगीत’ नामक संस्थाका संस्थापक अध्यक्ष हुन्। ‘मैले भुल गरेछु’ गीति एल्वममा उनको स्वर तथा शब्द रहेको छ। उनले म्युजिक भिडिओमा अभिनय समेत गरेका छन्।

यसका साथै, धनुषाको गडेश्वरका इमबहादुर वाइबा लामा (बाबु लामा) र पाँचथरको रानीटारकी नैनाकला गुरुङको जोडीले नृत्य प्रस्तुत गर्नेछ। नैनाकलाले म्युजिक भिडिओमा पनि अभिनय गरिसकेकी छन्। मकाउमा छायांकन गरिएको ‘तिम्रो मायाको गीत कोर्न मन लाग्यो’को भिडिओमा उनको अभिनय रहेको छ। सन् २०१५ देखि मकाउमा रहेका वाइबा वीनरवे कम्पनीमा कार्यरत छन् भने २०१४ देखि यहाँ रहेकी नैनाकला विइन प्यालेस क्यासिनोमा कार्यरत छिन्।

हाम्रो रीतिरिवाज, भेषभूषा, कला संस्कृतिलाई विदेशमा प्रचार प्रसारका साथै लुकेका प्रतिभालाई बाहिर ल्याउने अवसरका रूपमा यस फुड फेस्टिवललाई भरपुर उपयोग गर्ने लक्ष्य लिइएको पूर्ण गुरुङ बताउँछन्।

‘हामी नेपाली संस्कृतिमा पनि धनी छौँ,’ गुरुङ भन्छन्, ‘यस प्रकारका मेला महोत्सवले नेपाली सहभागीलाई आगामी दिनमा थप हौसला प्रदान गरोस् भन्ने हाम्रो लक्ष्य हो।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .