हङकङ विमानस्थलमा थ्रि-रनवे प्रणाली २८ नोभेम्बरबाट सञ्चालन हुने हङकङ सरकारले घोषणा गरेको छ। मंगलबार सुपर टर्मिनल एक्सपोको उद्घाटनका क्रममा कार्यवाहक वित्तीय सचिव माइकल वोङले उक्त घोषणा गरेका हुन्।
‘थ्रि-रनवे प्रणाली यसै महिनाको अन्त्य (नोभेम्बर २८) मा सुरु हुनेछ, ’ उद्घाटन कार्यक्रममा बोल्दै वोङले भने, ‘यसले हङकङलाई अझ बलियो उड्डयन हब बनाउनेछ।’
वोङले विस्तारित परियोजनाबाट प्राप्त अवसरको सदुपयोग गर्न समेत उड्डयन सरोकारवालाहरूलाई आह्वान गरेका छन्। यसका लागि अधकारीहरूले आवश्यक सहयोग प्रदान गर्ने समेत उनले आश्वासन दिए।
‘यसको मतलब हङकङले तपाईँलाई धेरै व्यापार र कर्पोरेट अवसर प्रदान गर्नेछ। त्यसैले व्यवसाय गर्ने योजना छ भने यसलाई नछुटाउनुहोस्,’ वोङले भने।
यो प्रणाली सञ्चालनमा आएपछि यसले वार्षिक १२ करोड यात्रु र १० लाख टन कार्गो ओसारपसार गर्न सक्ने अधिकारीहरूले बताएका छन्।
सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्षमा हङकङ विमानस्थलले ४ करोड ५० लाख यात्रु र ४५ लाख टन कार्गोको व्यवस्थापन गरेको थियो।
थ्रि रनवे प्रणालीले हङकङको प्रमुख उड्डयन हबको रूपमा स्थितिलाई सुदृढ पार्ने र देशभित्रका अन्य क्षेत्रमा यसको सेवा क्षमता बढाउने आशा गरिएको छ। साथै, विश्वव्यापी उड्डयन र रसद उद्योगहरूको लागि व्यापारिक लगायतका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। (एजेन्सी)
Shares

प्रतिक्रिया