दसैँको भोलिपल्ट हङकङमा काम गर्दागर्दै पाँचौँ तलाबाट खसेर अस्ताए धरानका खेम राई

औद्योगिक दुर्घटना भयावह बन्दै, २०२३ मात्र २२ जनाको गयो ज्यान
दसैँको भोलिपल्ट हङकङमा काम गर्दागर्दै पाँचौँ तलाबाट खसेर अस्ताए धरानका खेम राई

दुर्घटनास्थल, इन्सेटमा खेम राई


सन्तोष तामाङ
कात्तिक ५, २०८१ सोमबार १८:२५, हङकङ

हङकङमा दसैँ टीकाको भोलिपल्ट एक नेपाली कामदारको निर्माण क्षेत्रमा स्काफोल्डिङ निर्माण गर्ने क्रममा खसेर मृत्यु भयो। १३ अक्टोबर (दसैँको टीकाको भोलिपल्ट, २७ असोज) मा होमान तिनस्थित स्टामफोर्ड अमेरिकन स्कुलको पाँचौँ तलाबाट खसेर उनको मृत्यु भएको हो।

बाँसको स्काफोल्डिङ निर्माण गर्ने क्रममा नेपालको धरानका खेम राई पाँचौँ तलाबाट खसेका हुन्। काम गर्ने क्रममा खसेर राई तल सडकमा बजारिएका थिए। रगत लतपतिएको अवस्थामा भुईँमा लडिरहेको देखेपछि बाटो हिँड्नेहरूले देखेर प्रहरीलाई खबर गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई प्रहरीले तत्काल कोङवा अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

अस्पताल लगिँदै

बाँस जडान गर्दै बनाइने मचान अर्थात्‌ बेम्बो स्काफोल्डिङमा काम गर्ने राईसँग हङकङका अधिकांश अग्ला महल तथा भवनको निर्माण क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव थियो।

नेपालमा धरान-१९ किराँत चोक घर भएका राई सन् १९९६ मा हङकङ आएका थिए। उनी हङकङमा छेङसा वानस्थित सरकारी आवासमा एक छोरा, एक छोरी र श्रीमतीका साथ बस्थे। हाल हङकङमै बस्ने तथा धरानमा खेमका छिमेकी राजु लिम्बुका अनुसार नेपालमै रहेका उनका पिता बेलायती भूपू सैनिक हुन् भने जेठा दाजु मनी राई पनि बेलायती अवकाश प्राप्त सैनिक हुन्। ४८ वर्षीय राई परिवारका कान्छा छोरा हुन्। उनका दिदी-भिनाजुको पनि हङकङमै बसोबास छ।

राई यस्तो ठाउँबाट खसेका थिए, उनी खसेको सँगै काम गरिरहेका साथीहरूले पनि चाल पाएनन्। सँगै काम गरिरहेका साथीहरूलाई उनी झरेको ठाउँसम्म पुग्न भवनलाई एक फन्को लगाएर जानुपर्थ्यो। काम गरेको ठाउँबाट विपरीत दिशामा पर्ने उक्त स्थानमा पुग्न १५ मिनेट समय लाग्छ। साथी झरेको थाहा नपाउँदा बटुवाहरूले मान्छे खसेको सूचना प्रहरीलाई दिएपछि मात्र घटना थाहा भएको थियो।

चिनियाँ संस्कारअनुसार मानिसको मृत्यु भएको स्थानमा उसको स्वर्गबासको कामना गर्दै  धूपबत्ती जलाएर पूजा गर्ने प्रचलन छ। राई झरेको ठाउँमा पनि स्थानीय चिनियाँहरूले केही दिन पूजा गरेका थिए।

हङकङका निर्माण क्षेत्रमा मानिसको ज्यानै जाने गरी पटक पटक दुर्घटना हुने गरेका छन्। दुई वर्षअघि निर्माण क्षेत्रमा टावर क्रेन भत्किँदा तीन कामदारको मृत्यु भएको थियो। उक्त प्रकरणमा तत्कालीन परियोजना प्रबन्धकलाई पक्राउ गरी मुद्दा समेत चलाइएको थियो। एग्रेसिभ कन्स्ट्रक्सन कम्पनीको साउमाउ पिङस्थित एन्डरसन रोडमा रहेको हाउजिङ सोसाइटीको निर्माण स्थलमा ७ सेप्टेम्बर २०२२ मा दुर्घटना भएको थियो।

अस्थायी कार्यालयको रूपमा प्रयोग भइरहेको कन्टेनरमा ६५ टनको टावर क्रेन खस्दा तीन कामदारको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए।

त्यस्तै, गतवर्षको अन्त्य तथा यस वर्षको सुरुआतमा निर्माण क्षेत्रमा ९ दिनको अवधिमा तीन वटा दुर्घटना भएका थिए। तीन वटै दुर्घटनामा एक/एक जना गरी तीन जनाको मृत्यु भएको थियो।

२८ डिसेम्बर २०२३ मा हङकङ अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कार्गो लोडरले किचेर ३३ वर्षीय कर्मचारीको मृत्यु भएको थियो। त्यस्तै क्रिसमसका दिन अर्थात् २५ डिसेम्बर २०२३ मा ताकु लिङको उत्तरपूर्वी न्यु टेरिटोरिज ल्यान्डफिलमा गार्बेज ट्रकले ठक्कर दिँदा एक कामदारको मृत्यु भएको थियो।

यसै वर्षको २ जनवरीमा क्वाइचिङ कन्टेनर टर्मिनलमा जमिनबाट २० फिटको उचाइमा रहेको क्रेनको क्याबिनमा बेहोस बनेका कामदारको मृत्यु भएको थियो। त्यतिबेलाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकमा मुटु रोगको समस्या रहेको खुलेको थियो। घटनाको खबर बाहिर आएका बखत  प्रहरी र श्रम विभागले घटनालाई औद्योगिक घटना भनेका थिएनन्। यसरी ९ दिनको अन्तरालमा तीन वटा दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए।

यसैगरी, २४ सेप्टेम्बर २०२३ मा याउमा तेइस्थित अस्टिन रोडमा रहेको एक निर्माण क्षेत्रमा बायोग्यास लिक हुँदा दुई जना कामदारको मृत्यु भएको थियो। जमिनमुनिको पाइपलाइन मर्मत कार्यका लागि गएका उनीहरूलाई बेहोस अवस्थामा अस्पताल लगिएको थियो। उनीहरूलाई ६ मिटरको गहिराइबाट निकालिएको थियो। भूमिगत पाइपलाइनको लम्बाइ दुई सय मिटर रहेको छ।

यसकै तीन दिनअघि २१ सेप्टेम्बरमा युनलङस्थित हङकङ हाउजिङ सोसाइटीको प्रोजेक्ट अन्तर्गत रहेको डेडिकेटेड रिहाउजिङ स्टेटको निर्माण क्षेत्रमा कंक्रिटको स्ल्याब खस्दा त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको थियो।

यस्तै, १९ अगस्ट २०२३ मा छुट्टाछुट्टै औद्योगिक दुर्घटनामा तीन जना कामदारको मृत्यु भएको थियो। युनलङको तिनलिउ चुनमा पर्खाल भत्किँदा ४० वर्षीय पुरुषको मृत्यु भएको थियो। हङकङ अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको स्काइ सिटी रोड पूर्वमा अवस्थित निर्माण क्षेत्रमा कार्यरत ३४ वर्षीय पुरुषलाई बिजुलीको झट्का लाग्दा मृत्यु भएको थियो। चुनशा वानको युएन फ्याट वार्फ एन्ड गोडाउनस्थित एक रि-डेभलपमेन्ट साइटमा कार्यस्थलबाट बेहोस अवस्थामा उद्धार गरिएका ५४ वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएको थियो।

औद्योगिक दुर्घटना पीडितको पक्षमा वकालत गर्ने संस्था एसोसिएसन फर द राइट्स अफ इन्डस्ट्रियल एक्सिडेन्ट भिक्टिम्स (एआरआईएभी) लाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको एक तथ्यांकअनुसार सन् २०२३ मा औद्योगिक दुर्घटनामा ज्यान गुमाउने २२ जनामध्ये १९ जना निर्माण उद्योगमा कार्यरत छन्।

यी तथ्यांकलाई केलाउँदा हङकङमा निर्माण क्षेत्रको दुर्घटना डरलाग्दो रूपमा छ।

पछिल्लो समय होमातिनको निर्माण क्षेत्रमा स्काफोल्डिङबाट खसेर नेपालीले ज्यान गुमाएपछि हङकङको श्रम विभागले दुर्घटनाबारे गम्भीर चासो व्यक्त गरेको थियो।

घटना घटेकै दिन (१३ अक्टोबर) प्रेस विज्ञप्तिमार्फत विभागले कामदारको मृत्युमा विभाग शोकाकुल रहेको र परिवारमा गहिरो समवेदना अर्पण गरेको थियो।

‘कामदारको निधनमा विभाग शोकाकुल छ र उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले दुर्घटनाको जानकारी पाएलगत्तै तत्काल घटनास्थलमा अनुसन्धान सुरु गर्‍यौँ र भवनको बाहिरी पर्खालहरूमा बाँसको मचान भत्काउने, परिवर्तन गर्ने र प्रयोग गर्न निलम्बन गर्दै सम्बन्धित ठेकेदारलाई निलम्बन नोटिस जारी गर्‍यौँ। विभाग सन्तुष्ट नभएसम्म ठेकेदारले काम सुचारु गर्न पाउने छैनन्।’

कामका सम्बन्धमा कुनै नियम उल्लंघन भएको पाइएमा कानुनबमोजिम कारवाही गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘दुर्घटनाको कारण पत्ता लगाउन, कर्तव्य पालना गर्नेहरूको जिम्मेवारी पत्ता लगाउन र सुधारका उपायहरू सिफारिस गर्न हामी सकेसम्म चाँडो अनुसन्धान पूरा गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘काममा कुनै उल्लंघन भएको पाइएमा कानुन बमोजिम कारवाही गर्नेछौँ।’

विभागको विज्ञप्तिमा मोबाइल एपमार्फत सुरक्षा अलर्ट जारी गरिने पनि उल्लेख थियो। ‘यस्तै दुर्घटनाको पुनरावृत्ति रोक्नको लागि सुरक्षा सावधानीका उपाय पालना गर्ने महत्त्वबारे उद्योगहरूलाई सचेत गराउनका खातिर आजको दुर्घटनाको सन्दर्भमा विभागले आफ्नो मोबाइल एप ‘ओएसएच २.०’, वेबसाइट र इमेलमार्फत ड्युटी होल्डर, श्रमिक युनियन, सुरक्षाकर्मीहरूको व्यावसायिक निकाय र अन्यलाई दुर्घटनाको संक्षिप्त विवरण दिँदै कार्य सुरक्षा अलर्ट जारी गर्नेछ।’

औद्योगिक दुर्घटना बढ्न थालेपछि निर्माण क्षेत्रले पनि कामदारको कार्यसम्पादन अनुगमन गर्न एप बनाउने निर्णय गरेको थियो। निर्माण क्षेत्रमा सुरक्षा उपाय उल्लंघन गर्ने कामदारको पारदर्शी रेकर्ड राख्न सकिने गरी एप निर्माण गर्न लागिएको निर्माण क्षेत्रले बताएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .