हङकङमा एकै दिन निर्माण क्षेत्रका तीन मजदुरको मुत्यु

हङकङमा एकै दिन निर्माण क्षेत्रका तीन मजदुरको मुत्यु

नर्थ लान्ताउ अस्पताल। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ ३, २०८० आइतबार १४:४५, हङकङ

हङकङमा शनिबार छुट्टाछुट्टै औद्योगिक दुर्घटनामा तीन जना कामदारको मृत्यु भएको छ।

पहिलो घटना युनलङको हो। युनलङको तिन लिउ चुनमा पर्खाल भत्किँदा एक ४० वर्षीय पुरुषको मृत्यु भयो। घटना शनिबार दिउँसो ४ बजेको हो।

घटनालगत्तै उनलाई उद्धार गरी पोक ओइ अस्पताल पुर्‍याइएको थियो। तर, उनको साँझ ५ बजे निधन भयो। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

अर्को घटना हङकङ अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको स्काइ सिटी रोड इस्टमा अवस्थित निर्माण क्षेत्रमा भएको हो।

उक्त क्षेत्रमा काम गर्ने ३४ वर्षीय पुरुषलाई बिजुलीको झट्का लाग्दा मृत्यु भएको हो। दुर्घटनालगत्तै उनलाई नर्थ लान्ताउ अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले मृत घोषित गरे।

तेस्रो घटना चुन शा वानको हो। यहाँको युएन फ्याट वार्फ एण्ड गोडाउनस्थित एक रि–डेभलपमेन्ट साइटमा काम गर्ने ५४ वर्षीय पुरुष कार्यस्थलमै बेहोस भएका हुन्।

उनी बेहोस भएपछि काउलुनको शाम शुई पोस्थित कारितास मेडिकल सेन्टरमा लगिएको थियो। उनको त्यहीँ मृत्यु भयो।

दुवै घटनाको श्रम विभागले अनुसन्धान गरिरहेको जनाएको छ।

एकै दिन घटेका यी तीन घटनाले हङकङका निर्माण क्षेत्र कत्तिको सुरक्षित छन् भन्ने गम्भीर चासो बाहिर ल्याएको छ।

औद्योगिक दुर्घटना पीडितहरूको अधिकार रक्षाका लागि काम गर्ने संस्था ‘एसोसिएसन फर द राइट्स अफ इण्डस्ट्रियल एक्सिडेन्ट भिक्टिम्स लिमिटेड’ले यी तीन घटनालाई ‘निर्माण क्षेत्रका लागि कालो दिन’को संज्ञा दिएको छ। सामाजिक सञ्जालमार्फत उसले यसो भनेको हो।

उक्त अवसरमा संस्थाले दुर्घटनामा ज्यान गुमाएका परिवारसम्म पुग्ने प्रयास पनि गरिरहेको बताएको छ।

संस्थाका कार्यकारी प्रमुख सिउ सान–मानले शनिबारको घटना सामान्य नभएको र विगतका दुर्घटनाहरूबाट कामदारको सुरक्षाबारे निर्माण क्षेत्र सम्वेदनशील नभएकोप्रति चिन्ता व्यक्त गरे।

हङकङ फेडेरसन अफ ट्रेड युनियका ल मेकर बिल ताङ का–पिउले रोजगारदाताहरू यस वर्षको सुरुमा भएका स्वास्थ्य र सुरक्षा कानुनसम्बन्धी परिवर्तनहरूप्रति सचेत रहन जरुरी रहेको बताए।

हालसालै पनि केही रोजगारदाताहरूलाई अदालतले घातक दुर्घटनाका लागि दशौं हजार डलर तिराएको दृष्टान्त दिँदै उनले भने, ‘जबकि दुर्घटना हुँदा नयाँ मापदण्ड लागू भएको थिएन।’

उनले कुन मुद्दाका सन्दर्भमा हो भन्ने जानकारी भने दिएनन्। यद्यपि गतहप्ता पूर्वी मजिस्ट्रेटको अदालतले दुई निर्माण कम्पनीलाई क्रमशः ५० हजार र ५९ हजार हङकङ डलर जरिवाना तिर्न आदेश दिएको थियो।

सन् २०२१ मा नर्थ प्वाइन्टस्थित एक डेभलपमेन्ट साइटमा कंक्रिट स्ल्याब खसेर कामदारको मृत्यु भएको सन्दर्भमा अदालतले उक्त आदेश दिएको हो।

त्यस्तै, वेस्ट काउलुन मजिस्ट्रेटको अदालतले गतहप्ता नै एक मिठाइ कारखानालाई ३८ हजार हङकङ डलर जरिवाना तिर्न आदेश दिएको थियो।

मिक्सिङ मेसिनमा खसेर मृत्यु भएकी ६४ वर्षीया महिलाको क्षतिपूर्तिस्वरुप अदालतले उक्त आदेश दिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .