पानीको पाइप फुटेपछि अवरुद्ध बनेको हङकङको हार्बर रोड मर्मतपछि पूर्ण सञ्चालनमा आएको छ। आपत्कालीन मर्मतपछि सोमबार बिहानबाट सडक पूर्ण सञ्चालनमा आएको यातायात विभागले बताएको छ।
आइतबार बेलुका करिब ४ बजे हार्बर रोडमा रहेको कङवान फायर स्टेसन अगाडि भूमिगत पानीको पाइप फुट्दा सडक अवरुद्ध बनेको थियो। पाइप फुटेर सडक जलमग्न भएपछि फेनविक स्ट्रिट र फ्लेमिङ रोडको बीचमा पर्ने हार्बर रोडको एउटा लेनमा आवागमन बन्द गरी अर्को एक लेनमा दुईतर्फी नै सवारी साधन चल्न मिल्ने गरी व्यवस्थापन गरिएको थियो।
मर्मतपछि अल्पकालीन सो व्यवस्थालाई रद्द गरी सोमबार बिहान ६ बजेबाट पूर्ववत् अवस्थामा सडक सञ्चालन भएको विभागले जनाएको हो। आइतबार बेलुका पानीको पाइप फुटेपछि खानेपानी आपूर्ति विभागको इन्जिनियर टोलीले रातारात मर्मत गरेपछि सोमबार बिहानैबाट सडक सुचारु बनेको हो। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया