हङकङको ट्रेल दौडमा चम्केका यी नेपाली धावक

हङकङको ट्रेल दौडमा चम्केका यी नेपाली धावक

यामनाथ लिम्बु (बायाँ) र दिनानाथ बगाले


सन्तोष तामाङ
असोज २३, २०८१ बुधबार १२:४४, हङकङ

हङकङलाई कर्मभूमि बनाएका यी नेपाली धावक जो दौडिएर कहिल्यै थाकेनन्। दौडकै राजदूत बने। ती हुन्- यामनाथ लिम्बु (नुगो) र दिनानाथ बगाले। जो अल्ट्रा ट्रेल दौडको चर्चाले यतिबेला संसारलाई एउटै कित्ताभित्र राख्ने स्पोर्ट्समा ट्रेल दौडभित्र छन्।

हङकङका सबैजसो दौड प्रतियोगितामा भाग लिएका नेपाली कुलीन धावक यमनाथले हङकङभित्रका ट्रेल दौड पछ्याउँदै र धेरै स्थानीय दौड जितेर मैदानको शीर्षमा उक्लेका छन्। उनले आफूलाई हङकङको शीर्ष १० धावकमा आफूलाई दर्‍याएका छन्। उनको सफलताले नयाँ पुस्तामा खेलकुदलाई करिअरको रूपमा लिन प्रेरित गरिरहेको छ।

धावक लिम्बुले तीन दर्जन बढी दौड प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन् भने सय किलोमिटरभन्दा लामो तथा छोटो दूरीका थुप्रै दौडमा सहभागी बनिसकेका छन्। अब उनको लक्ष्य लामो दूरीका विश्व प्रतिस्पर्धामा छ। यस प्रकारका दौडमा उमेरको कुनै हदबन्दी नहुने भएकाले आफू निकै उत्साहित रहेको लिम्बु बताउँछन्। यसका लागि उनी एक चिनियाँ कम्पनीमा अनुबन्धित भई तयारी गरिहेका छन्।

‘चिनियाँ कम्पनीको प्रायोजनमा दौडिन पाउनु गर्वको कुरा हो,’ लिम्बु भन्छन्, ‘कम्पनीले त्यसै लिँदैन, हाम्रो प्रतिभा देखेरै कम्पनीले लिएको हो।’

उनी थप्छन्, ‘मैले भविष्यमा अन्य ब्रान्डका युरोपियन कम्पनीसँग पनि सहकार्य गर्न सक्छु कि भन्ने लाग्छ।’

सुरुमा परिवारबाट त्यति सहयोग नपाएका उनी अहिले सफलताको श्रेय नै श्रीमतीलाई दिन्छन्। परिवारलाई दिने समयबाट बचेको समयलाई आफूले दौडमा उपयोग गरेको उनको कथन छ।

उसो त उनलाई सुरु-सुरुमा परिवारबाट खासै सहयोग थिएन। श्रीमती दौडको कुरा सुन्न पनि चाहन्नथिन्। तर, अहिले समय बदलिएको छ। उनको कर्ममा परिवारको पूर्ण साथ छ।

‘परिवारलाई दिएर बचेको समय दौडमा खर्च गरिरहेको हुन्छु। सुरुसुरुमा दौडमा जान मलाई बहाना चाहिन्थ्यो। श्रीमतीले यो दौडमा खर्चिएको समयलाई अस्वीकार गर्थिन्। राति नै जुत्ता लुकाइदिन्थिन्,’ लिम्बुले नेपालखबरसँग भने, ‘पछिल्लो समय भने मेरो मेहनत र उपाधिबाट उनी खुसी छन्। अहिले उनी नै मलाई हौसला दिने भइसकेकी छन्। यतिखेर मलाई परिवारको पूर्ण साथ छ।’

खासमा लिम्बु आफूलाई दौड क्षेत्रमा ल्याउने प्रेरणाको स्रोत मीरा राईलाई दिन्छन्। नेशनल जियोग्राफिकले राईलाई ‘एडभेञ्चर अफ द इयर’ बाट सम्मानित गरेपछि लिम्बुलाई पनि दौडले मोहित बनायो।

‘मेरो दौड जीवनको प्रेरणा मीरा राई बहिनी हुन्,’ लिम्बु भन्छन्, ‘मीरा बहिनीलाई नेशनल जियोग्राफिक पत्रिकाले सन् २०१७ मा ‘एडभेञ्चर अफ द इयर’ बाट सम्मानित गरेको थियो। विश्व अल्ट्रा दौड च्याम्पियनमा मीरा बहिनीको त्यो साहसिक काम देखेर मोहित भएँ।’

सुरुमा उनले आर्मी बन्ने सपना पालेका थिए। एसएलसीसम्म गाउँमै पढेका उनी त्यसपछि क्याम्पस पढ्न धरान झरे। यसपछि हङकङ आएका उनले यतै कर्म क्षेत्र बनाए र विस्तारै दौडतिर झुकाव बढाए।

यसैगरी नेपालका हङकङवासी अन्तर्राष्ट्रिय अल्ट्रा धावकको अर्को नाम हो दिनानाथ बगाले। उनले दौडिन थालेको दुई दशक बित्यो। अहिलेसम्म थकान महसुस नगरेका उनी अझै अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल चहार्दैछन्।

उनी एकै वर्षभित्र फ्रान्स, अस्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, चीन र मलेसिया पुगेका छन्। एसियाली मुलुकहरूमा दौडेर युरोपको यूटीएमबी दौडन पाउने गरी पोइन्ट संकलन गर्न सफल भए। एसियाली मुलुकले उनलाई दौडको राजदूतसम्म बनाएका छन्। अल्ट्रा ट्रेल राजदूतको उपाधि उनले हात पारिसकेका छन्।

उनी विभिन्न देशमा दौडने रुचि राख्छन्। उनी अक्टोबरमा विश्व प्रसिद्ध अल्ट्रा ट्रेल दौडमा सहभागी हुने तयारी गर्दैछन्। फ्रान्स, इटाली, स्विट्जरल्याण्ड, अस्ट्रेलिया, इन्डोनेसिया, मलेसिया, चीन र जापान जस्ता देशका कुलीन धावकहरूसँग प्रतिस्पर्धा गर्दै दिना अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सीप प्रदर्शन गर्न उत्साहित छिन्।

‘हङकङमा मेरो दौडयात्रा सन् २००५ बाट सुरु भएको हो,’ दिना भन्छन्, ‘फुर्सद मिल्नासाथ पैदल यात्रा र दौडलाई जोड दिन्छु।’

उनले सन् २०१४ बाट हङकङमा हाइकिङ तथा दौडहरू आयोजना गर्दै आएका छन्। यसले मानिसलाई स्वस्थ जीवनशैली यापन गर्न सहयोग पुर्‍याउने उनको तर्क छ।

हिमालयदेखि हङकङसम्म उनको ट्रेल यात्राले नेपालको प्रतिनिधित्व मात्र गराउँदैन स्वस्थ जीवनशैलीका लागि वकालत र प्राकृतिक सुन्दरताको प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .