भियतनामबाट हङकङको उडानमा एकै दिन २ चोरी, पछिल्लो घटनामा क्रेडिट कार्ड चोरेर कारोबार

भियतनामबाट हङकङको उडानमा एकै दिन २ चोरी, पछिल्लो घटनामा क्रेडिट कार्ड चोरेर कारोबार

भियतजेट एयर ९६६ मा यात्रारत एक यात्रुले आफ्नो क्रेडिट कार्डबाट हङकङ डलर ३६ हजार बढीको कारोबार भएको रिपोर्ट गरेका छन् (तस्बिर : भियतजेट एयर)


नेपालखबर
भदौ ११, २०८१ मंगलबार १२:१८, हङकङ

भियतनामबाट हङकङको उडानमा एकै दिन दुई चोरीका घटना सार्वजनिक भएका छन्।

पछिल्लो घटनामा एक चिनियाँ यात्रुले आफ्नो क्रेडिट कार्डबाट हङकङ डलर ३६ हजार बढीको कारोबार भएको जानकारी दिएको हङकङ प्रहरीले जनाएको छ।

पहिलो घटना पनि भियतनामबाटै आएको विमानमा घटेको थियो। दा नाङबाट उडान भरेको यू०५६१ को हङकङ एक्सप्रेसमा हङकङ डलर ३ लाख ३० हजार बराबरको रोलेक्स घडी, हङकङ डलर ५ हजार, अमेरिका डलर २ सय, २० युरो र १० लाख भियतनामी डङ चोरेको आरोपमा एक यात्रु पक्राउ परेका थिए। हङकङ एक्सप्रेस आइतबार मध्यान्ह हङकङ अवतरण गरेको थियो।

त्यस्तै, पछिल्लो घटनामा भियतजेट एयर ९६६ को उडानबाट हङकङ आएका मुख्यभूमिका ३७ वर्षीय आगन्तुकले आफ्नो क्रेडिट कार्डबाट हङकङ डलर ३६ हजार ३३० को कारोबार भएको जानकारी गराएका हुन्। दा नाङबाट उडान भरेको यो जेट आइतबार राति १० बजे हङकङ अवतरण गरेको थियो।

स्रोतका अनुसार सुत्नुअघि ब्याकप्याकमा कार्ड राखेका उनले अवतरणपछि आफ्नो कार्डबाट माथि उल्लेखित रकमको कारोबार भएको सूचना बैंकबाट प्राप्त भएको र लगत्तै जाँच गर्दा क्रेडिट कार्ड हराएको थाहा पाएका थिए।

यस घटनामा हालसम्म कोही पनि पक्राउ परेको छैन। घटनालाई विमानस्थल जिल्ला अनुसन्धान टोलीले हेरिरहेको प्रहरीले जानकारी दिएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .