हङकङबाट न्युयोर्क उडेको ३ मिनेटमै क्याथेको जहाजमा शौचालयको ढोका फुक्ल्यो

हङकङबाट न्युयोर्क उडेको ३ मिनेटमै क्याथेको जहाजमा शौचालयको ढोका फुक्ल्यो

सञ्जालमा राखिएको तस्बिरमा उडान परिचारिका फुक्लेको ढोकामा हातले टेको दिँदै (तस्बिर : थ्रेड्स)


नेपालखबर
साउन २, २०८१ बुधबार १२:२९, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजको एक उडानको क्रममा शौचालयको ढोका फुक्लिएको घटना सार्वजनिक भएको छ।

उडानका एक यात्रुले उक्त घटनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेपछि घटना बाहिर आएको हो।

सञ्जालमा राखिएको तस्बिरमा चालक दलको सिटमा बसेर एक उडान परिचारिका छुट्टिएको ढोकालाई हातले टेको दिइरहेकी छन्।

त्यस्तै, अर्को तस्बिरमा दुई व्यक्ति (यात्रु) ढोकालाई ठिक ठाउँमा राख्न सहयोग गरिरहेका देखिन्छन्।

सञ्जालमा राखिएका तस्बिरको क्याप्सनमा ‘जहाज टेक अफ गरेको तीन मिनेटपछि ढोका बाहिर आयो’ भनेर लेखिएको छ।

उडान ट्र्याकिङ वेबसाइटहरूले देखाएअनुसार सोमबार बेलुका ५ बजे हङकङबाट उडेको उक्त विमान १६ घण्टापछि न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

उडानको क्रममा शौचालयको ढोका बाहिर आएपछि क्याथे प्यासिफिक एयरवेजले अनुसन्धान सुरु गरेको जनाएको छ।

साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘मंगलबार पोस्टको प्रश्नको जवाफमा क्याथेको जवाफ छ- एयरलाइनले उडान सीएक्स८४० को त्रुटिपूर्ण ढोकाको बारेमा थाहा पाएको छ।’

‘त्रुटि सच्याइयो र हाम्रो इन्जिनियरिङ टोलीले अनुगमनका साथै थप अनुगमन गरिरहेको छ,’ एयरवेजले विज्ञप्तिमा समेत भनेको छ, ‘हाम्रा ग्राहक र चालक दलको हरेक निर्णयले सुरक्षित मार्गदर्शन गर्छ। हामी हाम्रा ग्राहकलाई पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौँ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .