हङकङबाट नेपाली माटोको सुगन्ध खोजिरहेकी जुनु र ‘रातो नदी’ विमोचनका यी दृश्य

वैरागी काइँला भन्छन् : नेपाली साहित्यले गहन कृति पायो
हङकङबाट नेपाली माटोको सुगन्ध खोजिरहेकी जुनु र ‘रातो नदी’ विमोचनका यी दृश्य

पुस्तक विमोचन समारोहमा बोल्दै जुनु राना (सबै तस्बिर : सरोज नेपाल)


विपेन्द्र घिमिरे
असार १५, २०८१ शनिबार २३:२६, काठमाडौँ

रातो नदीमा भएका कवितामा समालोचकको आँखा परेन भने मलाई लाग्छ उनीहरूको आँखामा फुलो परेको छ,’ वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको कथन हो यो।

कवयित्री जुनु रानाको कविताकृति ‘रातो नदी’ विमोचनमा प्रमुख अतिथिका रूपमा  निम्त्याइएका वरिष्ठ कवि काइँला यतिमा मात्र रोकिँदैनन्, उनी रानाको कृतिलाई मुक्त कण्ठले प्रशंसा गर्छन्, ‘नेपाली साहित्यले जुनु रानालाई नयाँ कविका रूपमा पायो, धेरै दिनपछि गहन कृति पायो।’

मन्तव्यका क्रममा वैरागी काइँला

जुनु राना त्यो पात्र हुन्, जसले जीवनको उर्वर समय हङकङमा बिताइन्। सन् २००३ मा हङकङ टेकेकी उनले २१ वर्ष यहीँको माटोमा कर्म गरिसकेकी छन्। यद्यपि, नेपाली माटोको सुगन्धले भने उनलाई छोडेन।

राना स्वयं भन्छिन्– बागलुङमा जन्मिएँ, हङकङमा नङ्ग्रा खियाइरहेकी छु। तर म त्यही नेपाली हुँ जो हङकङको नेपाली समाजमा घुलमिल छ। भूगोल फरक छ तर माटोको सुगन्ध नेपालकै छ।

रानाको ‘रातो नदी’ कृतिलाई सरसर्ती हेर्दा यो भन्न सकिन्छ– उनी भुइँमान्छेको कवि हुन्। जसले सरल भाषामा गहन अभिव्यक्ति दिएको छ। पाठकलाई गह्रुँगा शब्दको भारी बोकाउन उनको कलम तयार छैन।

वरिष्ठ कवि काइँला उनको यो क्षमतामा यसरी प्रफुल्ल हुन्छन्, ‘भाषा सरल छ। शब्दहरू अरूले जस्तो जथाभावी तन्काइएको छैन।’

रानाका कविता सरल भाषामा मात्र छैनन्, छोटा पनि छन्। छोटा कवितामा उनी गहन विषयवस्तु पस्कन सफल छन्।

यसैले त वैरागी काइला लोभी बन्न जुनु रानासँग सिक्नुपर्ने भन्दै प्रशंसा गर्न चाहिँ लोभी बन्दैनन्, ‘शब्द खर्च गर्न जुनु जस्तै लोभी कसरी बन्ने भनेर सोच्नुपर्ने बेला आयो।’

‘एक जमाना थियो– शब्द यताबाट तान्ने, उताबाट तन्काउने गरेर कविता लामो बनाउने। कविता त थोरै शब्द खर्च गरेर पनि त बन्दो रहेछ नि!’ वरिष्ठ कवि काइँला थप्छन्।

वैरागी काइँला

शनिबार (२९ जुन), मण्डला थिएटर, बानेश्वरमा रानाको पहिलो कृति ‘रातो नदी’को विमोचन कार्यक्रममा साहित्य क्षेत्रका मूर्धन्य व्यक्तिले कृतिबारे आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमको सुरुमा मन्तव्य राख्ने कवि तथा आख्यानकार विना थिङ, रानाको कृतिलाई देशप्रतिको ‘नोस्टाल्जिया’ भन्छिन्।

जब मान्छे मातृभूमिबाट टाढा हुन्छ अनि उसमा देश प्रेम अझ गाढा भएर झल्कन्छ भन्ने विचार राख्ने उनी ‘रातो नदी’ पढेपछि रानालाई प्रगतिशील नारीवादी कविको रूपमा देख्छिन्।

यद्यपि, कविता लेखेर सामाजिक सञ्जालबाट पाइने वाहवाहीमा मात्र रमाउने हो भने लेखन अघि बढ्न नसक्ने उनको तर्क छ। आम लेखक एउटै र उस्तै परिवेशभित्र घुमिरहेकोमा थिङको केही असन्तुष्टि पनि छ।

यसलाई उनी सबैले एउटै स्वादको खाना खाइरहेको भन्छिन्। लेखनलाई लामो समय टिकाउने हो भने राष्ट्रिय/अन्तर्राष्ट्रिय लेखक/ समालोचकलाई पछ्याउनुपर्ने उनको तर्क छ।

‘लेखनको यात्रा यहीँ टुंग्याउने हो भने जुनुजीका कवितालाई प्रशंसा र धन्यवाद दिएर मन्तव्य यहीँ टुग्याउँछु। लेखनलाई लम्ब्याउने हो भने अध्ययनको दायरा बृहत् पार्नै पर्छ,’ थिङ अगाडि भन्छिन्, ‘मैले आफ्नै अनुभवबाट महसुस गरेका कुरा हुन् यी।’

तर, कवि श्रवण मुकारुङ भने यस मानेमा फरक देखिए। यस्तो तर्कलाई उनी ‘राम्रो लेखक बन्ने बिमार’ भन्छन्।

‘अरूले यस्तो लेख्यो, उस्तो लेख्यो भनेर आफूलाई कमजोर ठानियो भने सिर्जनशीलता मर्छ,’ उनी भन्छन्, ‘मैले यस्तो सोच्दा ५/६ वर्ष कविता लेख्नै सकिनँ, यो सोच्नु राम्रो होइन।’ 

यस्ता कुरा वाहियात हुन् भन्ने मुकारुङलाई जब लाग्यो, बल्ल उनको कलमले लय समात्यो। कार्यक्रमको प्रमुख आतिथ्यता गरिरहेका वरिष्ठ कवि काइँलातिर हेर्दै मुकारुङ बोल्छन्, ‘मैले कमजोर लेखेँ हुँला तर वैरागी काइँलाले मैले लेखेको जस्तो लेख्नु भएको छैन भन्ने आत्मविश्वास म राख्छु।’

‘रातो नदी’ भित्र समेटिएका ६८ वटा कवितामा ५/६ वटालाई ‘माइलस्टोन’ देख्छन् मुकारुङ। कृतिभित्रको ‘स्वयुद्ध’ शीर्षक कवितालाई उनी रानाको साहित्य यात्रामा ‘कोशेढुंगा’ देख्छन्।

‘संसारकै लेखकको अनुभवलाई हेर्ने हो भने पहिलो कृति ठिकठिकै हुन्छ,’ मुकारुङ भन्छन्, ‘तर, जुनु रानाको पहिलो कृति नै उत्कृष्ट देखिन्छ।’

अर्की कवयित्री तथा समालोचक विन्दु शर्मा के लेख्ने भन्ने कुरामा रचनाकार स्पष्ट रहेको बताउँछिन्।

कविताकृति ‘रातो नदीमा’ कवयित्री रानाले  नेपाली समाज, नेपाली समाजका महिलाका पीडालाई प्रस्तुत गरेकी छन्। 

यसैतर्फ इंगित गर्दै समालोचक शर्मा, मानिस चाहे हङकङमा बसोस् वा नेपालमा हाम्रा विषयवस्तु एउटै रहेछन् भने लेखकका कृतिले देखाएको बताउँछिन्।

उनी रानाको कृतिलाई बिम्ब र विपर्यासको बीच बाटोमा बगेको देख्छिन्।

‘रातो नदीभित्रका कविता कहिले बिम्बको किनारातिर त कहिले विपर्यासको किनारातिर ठोकिएका छन्,’ शर्मा भन्छिन्, ‘यो ठोकाइ सघन बन्दै जाओस्।’

अर्की कवयित्री विमला तुम्खेवा रचनाकारका कविताले हाम्रो सामाजिक/सांस्कृतिक संरचनालाई वकालत गरेको बताउँछिन्। तर, उहिलेदेखि अहिलेसम्म नेपाली लेखकले त्यही महिला विभेदका कुरा लेखिरहनुपरेकोमा भने उनको चित्त दुखाइ छ।

‘नेपाली समाज एकातिर छ। लेखक अझ त्यसमा पनि महिला लेखक अर्कोतिर छ। मैले अढाई दशकदेखि कविता लेखनमा भोगेको समस्या हो यो,’ तुम्खेवा प्रश्न गर्छिन्, ‘हामीले कहिलेसम्म नारी विभेदका कविता लेख्ने? अबका पाँच दशक, दश दशक या सय वर्ष?’

जुनु रानाका कविताले नारी विभेदका विरुद्ध शानदार र हिम्मतका साथ वकालत गरेकोमा उनी धन्यवाद दिन्छिन्।

रानाको पहिलो पुस्तकाकार यस कृति प्रकाशनको जिम्मेवारी रत्न पुस्तक भण्डारले निभाएको छ भने मूल्य ३९० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .