विश्व वरीयतामा हङकङका ६ विश्वविद्यालयको फड्को

एचकेयू विश्वमा १६औँ र एसियामा चौथो स्थानमा
विश्व वरीयतामा हङकङका ६ विश्वविद्यालयको फड्को

हङकङ विश्वविद्यालय विश्व वरीयतामा १६औँ र एसियामा चौथो नम्बरमा परेको छ (एससीएमपी)


नेपालखबर
जेठ २३, २०८१ बुधबार १२:३९, हङकङ

हङकङका सात सार्वजनिक विश्वविद्यालयमध्ये ६ वटा विश्वव्यापी वरीयता (ग्लोबल र्‍याङ्किङ)मा माथि उक्लेका छन्। जसमध्ये सहरको सबैभन्दा पुरानो विश्वविद्यालय हङकङ विश्वविद्यालय (एचकेयू) १७औँ स्थानमा आएको छ।

बेलायतस्थित शिक्षा सूचना फर्म क्वाक्वेरेली सिमन्ड्स (क्यूएस) ले सन् २००४ देखि सुरु गरेको वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङमा यो नै हङकङको सर्वाधिक स्थान हो। गत वर्ष एचकेयू २६औँ स्थानमा थियो।

यस्तै, एचकेयूले एसियामा चौथो नम्बरमा परेको छ। सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुर, चीनको पेकिङ युनिभर्सिटी र सिंगापुरकै नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीपछि एचकेयूले आफ्नो स्थान सुरक्षित गरेको हो।

गतवर्षको तुलनामा हङकङका अन्य पाँच विश्वविद्यालय पनि वरीयतामा माथि उक्लेका छन्।

चाइनिज युनिभर्सिटी अफ हङकङ (सीयूएचके) ११ स्थान माथि उक्लेर ३६औँ स्थानमा पुगेको छ। यो सीयूएचकेको सन् २०१० यताकै उत्कृष्ट प्रदर्शन हो।

हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी गतवर्ष ६०औँ स्थानमा रहेकोमा यस वर्ष ४७औँ स्थानमा उक्लेको छ।

पोलिटेक्निक युनिभर्सिटी र सिटी युनिभर्सिटी दुवै आठ स्थान बढेर ५७औँ र ६२औँमा आइपुगेका छन्।

त्यस्तै, गतवर्ष २९५औँ स्थानमा रहेको ब्याप्टिस्ट युनिभर्सिटी ४३ अंक सुधार गरेर यस वर्ष २५२औँ स्थानमा उक्लेको छ।

हङकङका सात विश्वविद्यालयमध्ये एक लिंगनान विश्वविद्यालय भने यस वर्ष अघिल्लो वर्षभन्दा पनि तल झर्‍यो। अघिल्लो वर्ष ६४१-६५० को बीचमा रहेको लिंगनान यस पटक अझै तल झरेर ७११-७२० को बीचमा पुगेको हो।

क्यूएसले १०६ देश/क्षेत्रका १,५०३ संस्थाको मूल्यांकन गरेको छ। मूल्यांकनमा विभिन्न ९ शीर्षक समावेश गरिएका छन्। जसमा शैक्षिक प्रतिष्ठा, रोजगारदाताबीचको प्रतिष्ठा, शैक्षिक कर्मचारी र विद्यार्थी अनुपात, प्रतिसंकाय उद्धरण (साइटेसन पर फ्याकल्टी), अन्तर्राष्ट्रिय संकाय अनुपात, अन्तर्राष्ट्रिय विद्यार्थी अनुपात, स्थिरता, रोजगारी तथ्यांक र अन्तर्राष्ट्रिय अनुसन्धान नेटवर्क रहेका छन्।

क्यूएस प्रतिदेनअनुसार हङकङ शैक्षिक प्रतिष्ठाको लागि विश्वको उत्कृष्ट प्रदर्शन गर्नेमध्ये एक रहेको छ, जसले आफ्नो वरीयतामा ३० प्रतिशत ओगटेको छ।

त्यस्तै, हङकङ विश्वका सफल अनुसन्धान केन्द्रमध्ये एक रहेको पनि प्रतिवेदनमा औँल्याइएको छ। सिटी युनिभर्सिटी र हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी प्रतिसंकाय उद्धरणमा छैटौँ र १६औँ स्थानमा छन्।

विश्व वरीयताको पहिलो नम्बर यस पटक पनि अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले नै सुरक्षित गरेको छ। यो एमआईटीको लागातार १२औँ पटक हो।

त्यस्तै, लन्डनको इम्पेरियल कलेज लन्डन दोस्रो, अक्सफोर्ड विश्वविद्यालय (इङ्गल्यान्ड) तेस्रो र हार्वर्ड विश्वविद्यालय (अमेरिका) चौथोमा रहे। क्याम्ब्रिज विश्वविद्यालय (इङ्गल्यान्ड) शीर्ष पाँचमा परेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .