हङकङमा मुख्यभूमि पर्यटक बढाउने लक्ष्य : एकल भ्रमण योजनाका थप सहरमा सिधा उडान गर्न माग

हङकङमा मुख्यभूमि पर्यटक बढाउने लक्ष्य : एकल भ्रमण योजनाका थप सहरमा सिधा उडान गर्न माग

एकल भ्रमण योजनामा थपिएका सहरका बासिन्दालाई भ्रमण आवेदन खुलिसकेको छ (एससीएमपी)


नेपालखबर
जेठ २३, २०८१ बुधबार १४:३३, हङकङ

व्यक्तिगत भ्रमण योजनामा थपिएका चिनियाँ आठ सहरमा हङकङले थप सिधा उडान सुरु गर्नुपर्नेमा उद्योगी-व्यवसायी लगायत सरोकारवालाले जोड दिएका छन्।

व्यक्तिगत भ्रमण योजना सन् २००३ मा सुरु गरिएको हो। यस योजनाले तोकिएको मुख्य भूमि चीनको सहरका बासिन्दालाई भ्रमण समूहमा सामेल नभई एक रूपमा सहरमा यात्रा गर्न अनुमति दिन्छ। यस अन्तर्गत तीन महिना वा एक वर्षको लागि मान्य एकल-प्रविष्टि वा डबल-प्रविष्टि भिसाको लागि आवेदन दिन सक्छन्।

२७ मेमा चिनियाँ अधिकारीले ताइयुआन, होहो, हार्बिन, ल्हासा, लान्जाउ, सिनिङ, यिन्चुआन र उरुम्कीलाई एकल यात्री योजनामा समावेश गरेका थिए।

थपिएका यी आठ सहरका मुख्यभूमि बासिन्दालाई सोमबार (३ जुन)देखि आवेदन खुला भइसकेको छ।

तर, थपिएका सहरमध्ये चार वटामा मात्र सिधा उडान हुँदै आएको छन्। ताइयुआन, लान्जाउ, यिन्चुआन र उरुम्कीमा हप्ताका दुई उडान सञ्चालन हुन्छन्।

सिनिङ र होहो पुग्न एउटा ट्रान्जिट र दुई ट्रान्जिटमार्फत ल्हासा पुगिन्छ।

यसअघि हार्बिन पुग्न पनि दुई ट्रान्जिट लिनुपर्ने अवस्था रहेकोमा आइतबार (२ जुन)देखि चाइना साउदर्न एयरलाइन्सले सिधा उडान सुरु गरिसकेको छ।

हङकङका प्रमुख कार्यकारी जाने लीले यसअघि व्यक्तिगत भ्रमण योजनाको विस्तार गरी सहरमा तीन लाख थप पर्यटक भित्र्याउने र वर्षिक एक अर्ब ५० करोड हङकङ डलर राजस्व वृद्धि गर्ने अपेक्षा सुनाएका थिए।

मुख्यभूमिबाट भएको सद्भावनालाई उपयोग गरी हङकङको लक्ष्य भेट्याउन उद्योगीले सिधा उडानमा जोड दिएका हुन्।

यसका लागि आठ वटै सहरमा सिधा उडान हुनुपर्ने उनीहरूको माग छ।

कार्यकारी परिषद्का सदस्य एवं सांसद जेफ्री लाम पनि यो कुरामा सहमत छन्। उनी क्याथे प्यासिफिक एयरवेज लगायतका स्थानीय एयरलाइन्समार्फत यो काम गर्न सकिने मत राख्छन्।

‘सिधा उडानविना यी ‘दुर्गम सहर’का पर्यटकलाई हङकङ आउन प्रोत्साहन गर्न सकिँदैन,’ सांसद लाम भन्छन्, ‘उडान परिवर्तन गर्दै १० घण्टाभन्दा लामो यात्रामार्फत घुम्न मात्रै हङकङ आउने अपेक्षा गर्न सकिँदैन।’

चीनले एकल यात्रा योजनामा सहरहरू थपेर हङकङलाई विशेष माया गरेको लामको ठहर छ।

‘हाम्रो राष्ट्रले एकल यात्रा योजनामा सहरहरू थपेर विशेष रूपमा हङकङको हेरचाह गरेको छ,’ लाम भन्छन्, ‘यो हङकङमा लामो दूरीका मुख्यभूमि पर्यटक ल्याउन डिजाइन गरिएको हो। स्थानीय एयरलाइन्सले सक्रिय रूपमा बेइजिङको पक्षमा प्रतिक्रिया दिनु पर्दछ।’

हङकङको अर्थतन्त्र र पर्यटन प्रवद्र्धन गर्ने यो सुनौलो अवसरलाई गुमाउन नहुने लाम बताउँछन्।

यद्यपि, सिधा उडानका लागि क्याथे प्यासिफिकको मात्र भरोसा नगर्न लामले सरकारलाई सल्लाह दिएका छन्। अन्य स्थानीय एयरलाइन्सलाई पनि यसमा समावेश गर्दा राम्रो हुने उनको सुझाव छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .