चीनमै निर्मित पहिलो जेट सी९१९ ले मुख्यभूमि बाहिर हङकङबाट सुरु गर्‍यो व्यावसायिक उडान

चीनमै निर्मित पहिलो जेट सी९१९ ले मुख्यभूमि बाहिर हङकङबाट सुरु गर्‍यो व्यावसायिक उडान

हङकङबाट पहिलो व्यावसायिक उडान भर्ने तयारीमा सी९१९ न्यारोबडी (एससीएमपी)


नेपालखबर
जेठ १९, २०८१ शनिबार २२:३९, हङकङ

चीनमा पहिलो पटक स्वदेशमै निर्माण भएको न्यारोबडी सी९१९ ले मुख्यभूमिभन्दा बाहिर हङकङबाट आफ्नो व्यावसायिक उडान सुरु गरेको छ।

इन्टर्नसिपको लागि सांघाई गएका हङकङ विश्वविद्यालयका सयभन्दा बढी विद्यार्थी बोकेर न्यारोबडीले हङकङ–सांघाई व्यावसायिक उडानको सुरुआत गरेको हो। मुख्यभूमिभन्दा बाहिर यो नै न्यारोबडीको पहिलो व्यावसायिक उडान हो।

सी९१९ को पहिलो विश्वव्यापी ग्राहक चाइना इस्टर्न एयरलाइन्सले शनिबार बिहान सांघाई होङकियाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ अन्तर्राष्ट्रिय विमानस्थलसम्मको पहिलो व्यावसायिक चार्टर्ड उडान सञ्चालन गरेको थियो। यसपछि हङकङ विश्वविद्यालयका  विद्यार्थी बोकेर जेट सांघाई फर्केको हो।

शनिबार (१ जुन) पहिलो व्यावसायिक उडानको टेक–अफ समारोहमा हङकङका मुख्य सचिव एरिक चानले स्वदेशमै बनेको पहिलो न्यारोबडीको पहिलो हङकङ–सांघाई उडानमार्फत विश्वविद्यालयका विद्यार्थी मुख्य भूमिमा जानु अविस्मरणीय हुने बताए।

यसले हङकङका विद्यार्थीलाई देशको उड्डयन विकासका बारेमा शिक्षा दिनुका साथै आफ्नो देशको पहिचान र गौरव बढाउने चानको धारणा छ।

सरकारी अनुदानमा सञ्चालित कार्यक्रममा सहभागी हुन जान लागेको विद्यार्थीले पनि आफूहरू स्वदेशमै विकास गरिएको जेटमा उड्न पाउँदा निकै खुसी लागेको बताएका थिए।

गतवर्ष सेवामा गएको विमान र अन्य प्रकारका स्वदेश निर्मित विमानमा धेरैभन्दा धेरै सहरवासीले उडान गर्ने अवसर पाउन् भन्ने चानले आशा व्यक्त गरे।

कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) द्वारा निर्मित तथा चीनको पहिलो स्वेदशमै विकसित न्यारोबडी सी९१९  को गतवर्ष जनवरीमा परीक्षण उडान गरिएको थियो। यसले १५८ र १९२ यात्रु बोक्ने क्षमता राख्दछ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको राष्ट्रकै पहिलो यस ट्रंक जेटलाइनरले मंगलबार आफ्नो व्यावसायिक सञ्चालनको पहिलो वार्षिकोत्सव मनायो।

यो अमेरिकी बोइङ ७३७ र युरोपको एयरबस ए३२० परिवारको सिंगल आइसल विमानसँग प्रतिस्पर्धा गर्नका लागि सिर्जना गरिएको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .