यूकेको यो निर्णय, जसले बीएन(ओ)धारी हङकङेलीलाई पर्नसक्छ असर

आप्रवासी आगमनको संख्या वार्षिक तीन लाख कटौती गर्दै बेलायत
यूकेको यो निर्णय, जसले बीएन(ओ)धारी हङकङेलीलाई पर्नसक्छ असर

यूकेका गृहसचिव जेम्स क्लेभर्ली (एपी/एससीएमपी)


नेपालखबर
मंसिर २०, २०८० बुधबार १५:२५, हङकङ

बेलायतले आप्रवासी आगमनको संख्या वार्षिक तीन लाखले कटौती गर्ने योजना अघि सारेको छ।

यूकेको यो घोषणाले ब्रिटिस नेसनल (ओभरसिज)- बीएन(ओ) भिसा योजनामार्फत यूकेको नागरिकता चाहने हङकङवासीलाई अप्ठेरो पर्नसक्ने विज्ञहरूले बताएका छन्।

आप्रवासी कटौतीसम्बन्धी नयाँ योजना घोषणा गर्दै बेलायती गृहसचिव जेम्स क्लेभर्लीले यो कदमले न्यूनतम तलबमा वृद्धि हुनुका साथै देशकै ठूलो समस्याको रूपमा रहेको बसाइँसराइमा कमी ल्याउन सहयोग गर्ने बताएका छन्। तर, नयाँ योजनाले बीएन(ओ) योजनाका आवेदकलाई असर पर्ने/नपर्ने कुरामा भने उनले मुख खोलेनन्।

स्थानीय सञ्चारमाध्यम एससीएमपीले हङकङस्थित कन्सल्टेन्ट गोल्डम्याक्स एसोसिएट्सका अध्यागमन निर्देशक विलिस फु यिउ–वाइलाई उद्धृत गर्दै लेखेअनुसार यो योजनाले यूकेमा बीएन(ओ) भिसा भएका हङकङवासीलाई चुनौती आउन सक्नेछ। उनीहरूले आयको प्रमाण उपलब्ध गराउन चुनौती खेप्नुपर्ने अवस्था आउन सक्ने सचिव फुको धारणा छ।

‘धेरै हङकङवासीले यूकेमा ट्रक ड्राइभर जस्ता पार्टटाइम काम गर्छन्। यसो हुँदा उनीहरूसँग तलबको थ्रेसहोल्ड कटाउन नियमित आम्दानी देखाउने कागजात नहुन सक्छ,’ फुलाई उद्धृत गर्दै एससीएमपीले लेखेको छ।

अर्को वर्षदेखि आप्रवासीले दक्ष कामदार भिसा प्राप्त गर्नको लागि वार्षिक कम्तीमा ३८ हजार सात सय युरो कमाउनुपर्नेछ। हाल यो सीमितता २६ हजार दुई सय युरो छ।

जोडीको रूपमा जान चाहने आप्रवासीले पनि यति नै रकम कमाउनुपर्नेछ।

यसका साथै नयाँ योजनाले विदेशी विद्यार्थीलाई डिपेन्डेन्टको रूपमा आफन्त ल्याउन पनि रोक लगाउने भएको छ।

यसैगरी मिडल्यान्ड इमिग्रेसन कन्सल्टेन्सीकी वरिष्ठ निर्देशक टिना चेङले पनि यूकेको यस योजनाले बीएन(ओ) भिसाधारीका लागि प्रतिबन्धहरू थपिने र भविष्यका आवेदकका लागि थप कठिन हुने बताएकी छन्।

‘नयाँ योजनाले स्वास्थ्य सेवा क्षेत्रका आप्रवासीलाई डिपेन्डेन्टमा परिवार ल्याउन अनुमति छैन,’ चेङलाई उद्धृत गर्दै एससीएमपीले लेखेको छ, ‘भविष्यमा हङकङका नागरिकमा पनि यस्तै प्रतिबन्ध लाग्न सक्छ।’

चेङले थपेकी छन्, ‘हाल बीएनओ भिसा योजनामा यूके बसाइँ सरेका परिवारले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय भर्ना गर्न सक्छन्। तर, भविष्यमा यो सुविधा नपाई महँगा निजी विद्यालयमा पढाउनुपर्ने हुन सक्छ।’

यूकेका अधिकारीले आवेदन र राष्ट्रिय स्वास्थ्य सेवा शुल्क पनि बढाउन सक्ने चेङ आशंका व्यक्त गर्छिन्।

सन् २०२० मा हङकङमा राष्ट्रिय सुरक्षा कानुनको घोषणा भएपछि यूकेले बीएन(ओ) राहदानीधारी हङकङेलीलाई सहज तरिकाले यूकेको नागरिकता दिने व्यवस्था गरेको थियो।

सन् २०२१ को जनवरीदेखि सुरु भएको भिसा योजनाको लागि २०२३ को सेप्टेम्बरसम्म झण्डै एक लाख ९१ हजार हङकङका बासिन्दाले आवेदन दिएको तथ्यांक छ।

जसमा डिसेम्बरसम्म एक लाख ८४ हजार सात सय अर्थात् ९६.७ प्रतिशतको स्वीकृत भएको सरकारी तथ्यांक छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .