शनिबार बिहान हङकङमा बस दुर्घटना हुँदा अन्तिम संस्कारका लागि गएका र अन्त्येष्टि गृहका कर्मचारी सहित दर्जन मानिस घाइते भएका छन्।
प्रहरीले स्थानीय अखबरलाई दिएको जानकारी अनुसार नर्थ पोइन्टस्थित जाभा रोडमा गुडिरहेको बस हङकङ फ्युनरल होमको प्रवेशद्वारमा ठोकिँदा उक्त दुर्घटना भएको हो।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार शनिबार बिहान करिब ११ बजे जाभा रोडमा गुडिरहेको बस दाहिने लेनतर्फ मोडिन खोज्दा ट्रकमा ठोकिएको थियो। ट्रकसँग ठोकिएको बस सडक किनाराका रेलिङलाई क्षति पुर्याउँदै पेटीमा उक्लिँदै अन्त्येष्टि गृहको प्रवेशद्वारमा ठोकिन पुगेको थियो।
दुर्घटनामा अन्तिम संस्कारका लागि गएका चार पुरुष र ६ महिला यात्रु तथा अन्त्येष्टि गृहका दुई जना सहित १२ जना घाइते भएका छन्।
दुर्घटनाका कारण एक वृद्धको टाउकोमा र अन्य धेरैको हात तथा खुट्टामा चोट लागेको छ।
उनीहरूलाई उपचारार्थ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
दुर्घटनाका कारण जाभा रोड र किङ्ग्स रोडको केही भाग शनिबार दिउँसोसम्म बन्द रहेको थियो।
प्रतिक्रिया